दलहरू तालमेलका लागि दौडधुप गर्दै

रासस

रासस

Jun 18, 2017 | 06:44:02 AM मा प्रकाशित

laxmi  sunrise bank

विराटनगर : स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा विजयी हुन राजनीतिक दलले तालमेल र गठबन्धनको रणनीति अपनाउन थालेका छन् । प्रदेश नं १ का महत्वपूर्ण मानिएका जिल्लामा प्रमुख र साना दल पनि चुनावमा विजयी बन्न गठबन्धनको जोडघटाउमा लागेका हुन् ।एमालेले विराटनगर महानगरपालिकामा विनोद ढकाललाई मेयरमा उम्मेदवार घोषणा गर्दा उपमेयर भने खाली राखेको थियो । त्यो रिक्तस्थान पूरा गर्न एमाले र फोरम लोकतान्त्रिकबीच तालमेल गरेर चुनाव लड्ने सहमति भएको छ । आजको अन्नपूर्णमा खबर छ । 


संविधानसभाको दोस्रो निर्वाचनमा विराटनगरमा दोस्रो स्थानमा रहेको विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र चौथो स्थानमा रहेको एमालेबीच चुनावी तालमेल भएको छ । फोरमले उपमेयरमा सूची चौधरीलाई उठाउने भएको छ । एमालेसँग तालमेल भएको फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष भक्ति माझीले बताउनुभयो । 'हामीले मेयरमा सघाउने र उपमेयर हामीले लिने भन्ने सहमति भएको हो', उहाँले भन्नुभयो।

विराटनगरमा फोरमसँग तालमेल भएपछि कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ । फोरम लोकतान्त्रिकबाट उपमेयर बनेकी चौधरी राजनीतिक पृष्ठभूमि बोकेकी नेत्री हुनुहुन्छ । चौधरी नेपाली कांग्रेसका स्वातन्त्र सेनानी उमालाल चौधरीकी नातिनी हुनुहुन्छ । एमाले प्रदेश नं १ का संयोजक भीम आचार्यले दुवै पार्टीबीच सहकार्य गरेर चुनावमा जाने सहमति भएको बताउनुभयो ।

प्रदेश नं १ का महत्वपूर्ण मानिएका जिल्लामा प्रमुख र साना दल पनि चुनावमा विजयी बन्न गठबन्धनको जोडघटाउमा लागेका हुन्।

विराटनगरमा फोरम लोकतान्त्रिकको सात हजारदेखि १० हजारको हाराहारीमा मत रहेको पार्टीको दाबी छ । एमाले १८ हजारदेखि २५ हजारको हाराहारीमा आफ्ना मतदाता भएको दाबी गरेको छ ।विराटनगर महानगरपालिकामा कुल एक लाख १२ हजार ८ सय ३२ मतदाता छन्, जसमा ६० हजार एक सय १९ पुरुष र ५२ हजार ७ सय १३ महिला छन् । १९ वटा रहेको विराटनगरभित्र मोरङको ५, ६ र ७ नं निर्वाचन क्षेत्र पनि पर्छन् । तीनवटै क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । तीमध्ये एउटा क्षेत्रमा फोरम लोकतान्त्रिक दोस्रो स्थानमा थियो । मोरङको बेलबारी र पथरीमा संघीय समाजवादी र नयाँ शक्तिबीच तालमेल भएको छ ।

माओवादीले नयाँ शक्तिलाई सघाउने

सुनसरीको धरानमा उपमहानगरपालिकामा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच चुनावी तालमेल भएको छ । वडामा भने माओवादी केन्द्रले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाललाई पनि सघाउने भएको छ ।

धरानको मेयरमा समाजवादी केन्द्र र उपमेयरमा समाजवादीका उम्मेदवारलाई सघाउने सहमति भएको छ । धरानका २० वटै वडामा दुवै पार्टीबीच तालमेल गरी चुनाव लड्ने सहमति भएको संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य ध्यानबहादुर राईले बताउनुभयो । वडा नं १६ मा भने नयाँ शक्तिका वडाध्यक्षलाई माओवादी केन्द्र र संघीय समाजवादीले समर्थन गरी सहयोग गर्ने भएका छन् ।

तालमेलको सहमतिअनुसार माओवादीका केन्द्रीय सदस्य अइन्द्रविक्रम बेघालाई मेयरमा र समाजवादीका धरान अध्यक्ष पारस काङ्माङ राईलाई उपमेयरमा एकअर्काबीच सहयोग आदानप्रदान गर्ने सहमति भएको हो । माओवादी पोलिटब्युरो सदस्य मुक्साहाङ मेन्याङ्बोले भन्नुभयो, 'पहिचानवादी दुई पार्टीबीच तालमेल गरेर मेयर र उपमेयरमा दुवै पार्टीका उम्मेदवार विजयी हुने विश्वास लिएका छौं ।'

धरानका २० वटै वडामा दुवै पार्टीबीच तालमेल गरी चुनाव लड्ने सहमति भएको संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य ध्यानबहादुर राईले बताउनुभयो । 'यो तालमेलले चुनाव जित्न दुवै पार्टीलाई सहज हुन्छ', उहाँले भन्नुभयो । माओवादी र समाजवादीका मेयर÷उपमेयरका उम्मेदवारलाई नयाँ शक्ति नेपालले समेत समर्थन गर्ने भएको छ ।

एमाले र माओवादीबाहेक सबै तालमेलमा

धनकुटामा एमाले र माओवादी केन्द्रबाहेक सबै दलले चुनावी तालमेल गरेका छन् । तीन नगरपालिका र चार गाउँपालिका गरी सात स्थानीय तहमा एमाले र माओवादी केन्द्रले कुनै दलसँग तालमेल गरेका छैनन् । कांग्रेस, राप्रपा, संघीय समाजवादी फोरम नेपालले तालमेल गरेका छन् ।

धनकुटामा कांग्रेस र संघीय समाजवादी फोरम नेपालबीच तालमेल भएको छ । फोरमले एकजना वडा सदस्य लिएर कांग्रेससँग चुनावी तालमेल गरेको हो । मेयर र उपमेयरमा सघाउने गरी फोरम नेपालले वडा नं ७ को एकजना सदस्यमा उम्मेदवारी दिन लागेको छ ।

कांग्रेसका तर्फबाट मेयरमा दिनेश राई र उपमेयरमा रेणु श्रेष्ठलाई उम्मेदवार बनाएको छ । एमालेले मेयरमा चिन्तन तामाङ र उपमेयरमा शकुन्तला बस्नेतलाई बनाएको छ । माओवादीले मेयरमा गणेश विष्ट र उपमेयरमा विष्णुमाया कन्दङ्वालाई अघि सारेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीने बालनन्द भूर्तेललाई मेयर र उपमेयरमा ताराकुमारी तामाङलाई उम्मेदवार बनाएको छ ।

साँगुरीगढी गाउँपालिकामा प्रमुख र उपप्रमुखमा कांग्रेस र संघीयबीच तालमेल भएको छ । त्यहाँ प्रमुखमा कांग्रेसबाट जितेन्द्र राई र उपप्रमुखमा संघीयका बलबहादुर राई उम्मेदवार हुनुभएको छ । साँगुरीगढी गाउँपालिकाको केही वडामा तालमेल भएको कांग्रेस क्षेत्र नं १ क्षेत्रीय सभापति जितेन्द्र राईले बताउनुभयो ।

कांग्रेस र संघीयबीच चौबीसे गाउँपालिकामा पनि चुनावी तालमेल भएको छ । महालक्ष्मी नगरपालिकामा भने कांग्रेस र राप्रपाबीच तालमेल छ । महालक्ष्मी नगरपालिकाको मेयरमा कांग्रेस धनकुटाका सभापति अग्नि पौडेल राप्रपाका महेन्द्र निरौलालाई उपमेयरको उम्मेदवार बनाइएको छ । यता एमालेले महालक्ष्मीमा नगरपालिकाको मेयरमा परशुराम नेपाल र उपमेयरमा मञ्जु अधिकारीलाई उम्मेदवार बनाएको छ । माओवादीले मेयरमा रामबहादुर नेपाल उम्मेदवार बनाएको छ ।

एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईले सबै दल एक भएर चुनावी तालमेल गरे पनि सातवटै स्थानीय तहमा एमालेको जित सुनिश्चित भएको दाबी गर्नुभयो । कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले स्थानीय तहमा अन्य दलसँगको तालमेलले जित्ने दाबी गर्नुभयो । 'कांग्रेसको केही कमजोरी रहेको ठाउँमा अन्य दलसँगको तालमेलले बलियो भएको छ', उहाँले भन्नुभयो । माओवादी केन्द्र धनकुटाका सहइन्चार्ज उज्ज्वल किराँतीले पनि स्थानीय तहमा जित्ने दाबी गर्नुभयो ।

अरुणपूर्व लिम्बुवान र जनमुक्ति मिले

लामो समयदेखि अरुण नदीपूर्वका जिल्लामा क्रियाशील कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च र राष्ट्रिय जनमुक्ति पार्टीबीच स्थानीय तहको निर्वाचनमा सहकार्य गर्ने भएका छन् । लिम्बुवानले अरुणपूर्वका ९ जिल्लामा राष्ट्रिय जनमुक्ति पार्टीसँग सहकार्य गरेर चुनाव लड्ने भएको हो । दुवै पार्टीले राष्ट्रिय जनमुक्ति पार्टीको चुनाव चिह्न 'घर' लिएर चुनाव लड्ने भएका हुन् ।

चुनाव बहिष्कार गर्नुभन्दा चुनावलाई नै प्रयोग गर्दै आन्दोलनका रूपमा जनताको माझबाट विश्वासको मत लिन दुई पार्टीबीच चुनावी कार्यगत एकता भएको लिम्बुवान मञ्चका केन्द्रीय उपमहासचिव दिलकुमार लावतीले जानकारी दिनुभयो ।दुई पार्टीले आफूहरूको सहकार्य स्थानीय तहको निर्वाचनमा मात्र नभई अरू निर्वाचनसम्म रहने राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष मोहन धिमालले बताउनुभयो । उनीहरूले अरुणपूर्वका ९ वटै जिल्लाको स्थानीय तहमा उम्मेदवार तयसमेत गरेका छन् ।

दुई पार्टीले दमक नगरपालिकाका विभिन्न वडामा उम्मेदवारसमेत चयन गरेका छन् । उनीहरूले प्रमुख र उपप्रमुखसहित ६ र १० नं बाहेक सबै वडामा आफ्नो उम्मेदवार चयन गरिसकेको छ । यी दुई पार्टीले दमक नगरपालिकाको प्रमुखमा देउकुमार निङ्लेखु र उपप्रमुखमा सावित्रा गुरुङलाई उम्मेदवार बनाएका छन् ।

यस्तै वडा नं १ को अध्यक्षमा उदिमान तुम्रोक, २ नं वडाध्यक्षमा रमिला धिमाल, ३ को अध्यक्षमा शेखर चपागाई, ४ मा जयप्रकाश धिमाल, वडा नं ५ को वडाध्यक्षमा विजयसिं थापा मगर, वडा नं ७ को अध्यक्षमा गुमानसिंह सम्बाहाम्फे, वडा नं ८ को अध्यक्षमा चन्द्रबहादुर कन्दङ्वा र ९ नं मा रामसिंह तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको लावतीले जानकारी दिनुभयो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved