चुनावी खर्च बैंकिङ च्यानलमा, सहज बन्दै बैंकिङ कर्जा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 18, 2017 | 09:28:53 AM मा प्रकाशित

laxmi  sunrise bank

पहिलो चरणको स्थानीय चुनाव सकिएर दोस्रो चरण चुनाव नजिकिँदै जाँदा वाणिज्य बैंकमा निक्षेप बढ्दै गएको छ । अत्यधिक पुँजीगत खर्च हुने जेठ महिनाको १२ गतेदेखि २६ गतेसम्म १५ दिनको यो अवधिमा बैंकमा १० अर्ब रुपैयाँ निक्षेप बढेको छ । पहिलो चरणको निर्वाचन सकिएको एक महिना अवधिमा निक्षेप बढे पनि लगानी भने खासै बढ्न सकेको छैन ।

यस अघिको तथ्यांक हेर्ने हो भने दुई साताको अवधिमा करिब तीन चार अर्बलेमात्र निक्षेप बढेको पाइन्छ । १५ दिनको यस अवधिमा बैंकहरूले जम्मा दुई अर्ब रुपैयाँमात्र लगानी गरेका छन् । अघिल्ला महिनाको १५ दिनमा दुई-तीन अर्बमात्र डिपोजिट हुने गरेको छ।

केही समय अघिसम्म लगानीयोग्य पुँजी अभावका कारण ठूला परियोजनासँग सम्झौता गर्न नसकेका तथा सम्झौता गरिसकेका परियोजनालाई समेत आवश्यक लगानी दिन नसकेका वाणिज्य बैंकहरू निक्षेप बढ्न थालेपछि लगानी गर्न सक्ने अवस्थामा फर्कंन थालेका छन् । अत्यधिक सरकारी खर्च र रकम हिनामिना हुने महिनाका रूपमा स्थापित जेठ महिनाको पनि अन्तिममा बैंकमा बढी रकम जम्मा भएको देखिन्छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ। 

विगतको प्रचलनलाई हेर्ने हो भने कुल पुँजीगत खर्चमध्ये ४० प्रतिशत रकम यसै महिनामा खर्च हुने गरेको छ । स्थानीय तहको चुनावले बैंकमा निक्षेप बढ्ने यस अघिनै बैंकर्सहरूले बताएको थिए । चुनावमा सरकारीलगायत निजी क्षेत्र, राजनीतिक दल र कार्यकर्ताले गरेको खर्चमध्ये केही रकम बैंकिङ च्यानलमा आउने चुनाव अघिनै नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकेसरी शाहले बताएका थिए ।

चुनावमा भएको खर्च बैंकिङ च्यानलमा आएकाले निक्षेप बढ्न गएको उनको भनाइ छ । साथै, उनले सरकारी पुँजीगत खर्चले पनि बैंकको निक्षेप बढ्न सहयोग पुर्‍याएको उनको भनाइ छ । उनले भने, ‘यसले केही हदसम्म हालको ‘क्रेडिट क्रन्चु को अवस्थालाई सम्बोधन गर्नेछ ।’ बैंकमा लगानीयोग्य पुँजी आएपछि लगानी पनि वृद्धि हुने उनले बताए । चुनावमा गरिएको खर्च बैंकमा आएपछि हाल ऋण दिन नपाइरहेका तथा ऋणको पखाइमा रहेका ऋणीलाई लगानी प्रवाह गर्न सकिनेछ । चुनावपछि कर्जा प्रवाहसमेत सहज हुने बैंकरको अनुमान छ ।

एसोसिएसनका उपाध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना दोस्रो चरणको चुनावपछि च्यानलमा पैसा आउने र हालको ‘क्रेडिट क्रन्चु केही हदसम्म टर्ने बताउँछन् । ‘चुनावपछि बैंकमा निक्षेप बढ्छ,’ ढुंगानाले भने, ‘बढेको निक्षेपले कर्जा प्रवाह सहज बनाउँछ ।’ चुनावपछि बैंकिङ क्षेत्रको हालको क्रेडिट क्रन्च केही हल भए पनि सामान्य अवस्थामा फर्कंन समय लाग्ने उनको भनाइ छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved