सहकर्मी हिमाल आरोही टासी लाक्पा शेर्पा भन्छन्ः सञ्जय भाइको अन्तिम इच्छा पूरा गर्न सकेनौँ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 20, 2017 | 08:51:34 AM मा प्रकाशित

laxmi  sunrise bank

लामो संगतपछि सञ्जय भाइले मलाई एक दिन आफ्नो योजना सुनायो– विश्वका सातै महादेशका सर्वोच्च शिखर चढ्ने । नेपाल, युरोप र अन्टार्टिकाका हिमाल त ऊ पहिल्यै चढिसकेको थियो । उसले मलाई भन्यो, ‘दाइ अब उत्तर अमेरिकाको डेनाली पिक पनि चढ्नुपर्छ ।’ यसअघिका सबैजसो आरोहणमा सञ्जयले मलाई अभिभावक नै मानेको थियो । म पनि हिमाल आरोही भएकाले सधैँ मसँग सल्लाह–सुझाब लिन्थ्यो । उसको सरलता र उत्सुकताले जो पनि सहयोगी बन्थ्यो, म पनि त्यसरी नै ऊसँग जोडिएको हुँ । 

सातै महादेशका उच्च शिखर चढ्ने योजनाअन्तर्गत यो सिजनमा उसले अमेरिकी शिखर डेनाली चढ्ने योजना बनायो । अमेरिका र नेपालको सम्बन्ध गाँसिएको ७० वर्ष पुगेको अवसरमा सञ्जयले सो सपना पनि पूरा गर्ने अठोट लियो । तर, अमेरिका ऊ एक्लै जान चाहेन । सफलतामा साथ दिनुपर्छ भन्दै उसले कर नै गरेर मलाई पनि अमेरिका जान बाध्य बनायो । अमेरिकामै रहेका मेरो मित्र टासी शेर्पालाई पनि हामीले अभियानमा सहभागी बनायौँ ।

२ जुन (१९ जेठ) मा हामी काठमाडौंबाट साउथ कोरिया उड्यौँ, ३ जुनमा युएस पुग्यौँ । ७ जुनमा टल्किट्नाबाट आरोहणका लागि डेनाली आधार शिविर पुग्यौँ । १४ जुनमा क्याम्प ५ सम्म पुग्यौँ । १५ जुनको बिहान ९ः४५ मा समिटका लागि अघि बढ्यौँ ।

डेनाली हिमाल उत्तर अमेरिकाको सर्वोच्च शिखर हो । विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्न सजिलो होला, तर अमेरिकाको डेनाली चढ्न गाह्रो छ । अझ त्यो दिन त्यहाँ हावा धेरै चलेको थियो । तापक्रम माइनस ४०–५० डिग्री थियो । उकालो लाग्दै गर्दा सञ्जयको स्वास्थ्य बिग्रिसकेको थियो, ऊ धेरै कमजोर भइसकेको थियो । हामीले बीचबाटै फर्कौँ पनि भनेका थियौँ । तर, उसले मानेन । डेनालीको शिखर २० हजार एक सय ५६ फिटको उचाइमा छ । तर, ऊ १७ हजार दुई सय फिटसम्म मात्र पुग्न सक्यो । नसक्ने पक्का भएपछि उसले आफूले बोकेको ब्यानर हामीलाई दियो, फोटो खिचेर ल्याउनुहोला दाइ भनेर अनुरोध गर्यो । उसको अनुरोध स्विकार्दै हामी डेनालीको चुचुरोमा पुग्यौँ र ब्यानर फहरायौँ जसमा लेखिएको थियो– सेभेन समिट, एभरेष्ट टु डेनाली २०१७ ।

हिमाल चढ्नभन्दा तल झर्न गाह्रो हुन्छ । हामी फर्कँदा साझको ७ः१५ भएको थियो । फर्कँदा सञ्जयले निकै गाह्रो भयो, के गर्ने दाइ भन्यो । हामीले तिमीलाई जसरी पनि बचाउँछौँ भनेर भरोसा दियौँ । मैले उसलाई मेरो ज्याकेट खोलेर लगाइदिएँ । हामी रातभर तलतिर ओर्लिरह्यौँ । तर, सञ्जयको हालत झन्पछि झन् बिगँ्रदै थियो । बिहान ८ः३० देखि ऊ हिँड्नै नसक्ने भयो । रेस्क्युका लागि मेरो साथी टासी रेन्जर टिम लिन जानुभयो । टिम आयो । त्यसवेलासम्म ऊ सकी–नसकी बोलिरहेको थियो । तर, कहिले राइट, कहिले रङ कुरा गरिरहेको थियो ।

उता मेरो हालत पनि खराब भइसकेको थियो । ३० मिनेटसम्म रेस्क्यु टोली नआएको भए म पनि बाँच्ने थिइनँ होला । मेरो साथी टासीको खुट्टामा पनि क्लोज बाइट भएको थियो । तर, त्यति प्रतिकूल अवस्थामा पनि हामीले सञ्जयलाई माइनस ४० डिग्रीबाट पनि बचाएर ल्याएका थियौँ । तर, क्याम्प ५ मा आउँदासम्म हामीसँग उसको शरीर मात्र थियो, प्राण उडिसकेको थियो ।

रेन्जर टोली उसको शव लिएर क्याम्प ५ मा आयो । त्यही टोलीको सहयोगले मात्र हामी पनि त्यहाँसम्म आउन सक्यौँ । उनीहरूले सञ्जय भाइलाई पनि बचाउन निकै प्रयास गरे । हेलिकोप्टर पनि मगाए, तर बचाउन सकेनन् ।

अहिले हामी टल्किट्ना भन्ने सानो–सानो गाउँमा छौँ । यो बेस क्याम्पबाट फस्र्ट एयरपोर्ट भएको स्थान हो । यहाँबाट साउथ कोरिया हुँदै काठमाडौं जान सकिन्छ । सञ्जय भाइको शव पनि यही गाउँमा छ । तर, हामीले हेर्न पाएका छैनौँ । सायद उनीहरूले नेपाली अधिकारीलाई जिम्मा लगाउने तयारी गरिरहेका होलान् । आजको नयाँ पत्रिकामा खबर छ ।

अन्तिम अवस्थामा उसले घर–परिवारलाई निकै याद गरिरहेको थियो । मलाई मेरी श्रीमतीसम्म पुर्याइदेऊ दाइ भनिरहेको थियो । तर, दुर्भाग्य ! उसको अन्तिम इच्छा पूरा गर्न हामी असफल भयौँ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved