मर्निङवाक गर्नेले बढी निल्छन् प्रदूषण, यी हुन् प्रदूषणका मुख्य स्रोत र घटाउने तरिका

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 20, 2017 | 09:05:55 AM मा प्रकाशित

laxmi  sunrise bank

अरनिको पाँडेले अमेरिकाको म्यास्याच्युटस इस्च्टियुट अफ टेक्नोलोजी (एमआइटी)बाट सन् २००६ मा काठमाडौं उपत्यकाको प्रदूषणबारे विद्यावारिधि गरे । उनले पाँच वर्ष अमेरिकाकै प्रिन्टन युनिभर्सिटी र युनिभर्सिटी अफ भर्जिनियामा वातावरण विज्ञान अध्यापन गरे । विगत पाँच वर्षदेखि एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड)मा वातावरण र प्रदूषणका विषयमा काम गर्दै आइरहेका उनीसँग काठमाडौं उपत्यकाको प्रदूषणको प्रकृति, वातावरण र प्रदूषण नियन्त्रणका उपायबारे नयाँ पत्रिकाका वीरेन्द्र ओलीले कुराकानी गरेका छन् :

राजधानीको प्रदूषणको प्रकृति

काठमाडौं उपत्यका पहाडैपहाडले घेरिएको छ । उपत्यकामा सबै नाकाबाट हावा प्रवेश गर्दैन । नागढुंगा–थानकोट हुँदै पश्चिमी क्षेत्रबाट मात्र हावा पस्छ । बागमती नदीको किनारको दक्षिण भेगबाट केही मात्रामा हावा प्रवेश गर्छ । त्यहाँबाट हावा एकदमै न्यून मात्रामा आउँछ । आए पनि बागमती नदी आफैँमा फोहर भएकाले केही मात्रामा प्रदूषित हावा प्रवेश गर्छ । उपत्यकामा भएको प्रदूषित हावा साँगा भञ्ज्याङ हुँदै पूर्व–उत्तर हुँदै बाहिरिन्छ ।

उपत्यकामा बिहानै र बेलुका खासै हावा चल्दैन । बिहान ९-१० बजेदेखि भने बिस्तारै चल्न थाल्छ । बेलुका चार–पाँच बज्न थालेपछि हावा चल्न कम हुन्छ ।साँझतिर चिसो हुने भएकाले शिवपुरीबाट प्रदूषण झरिरहेको हुन्छ । त्यो धुवाँ धेरै माथिसम्म पनि जान सक्दैन । रातिमा हावा पनि नचल्ने तातो पनि नहुँदा माथि जान सक्दैन । राति प्रदूषण कम हुने चिसो पनि हुने भएपछि प्रदूषण त कम हुन्छ । तर, बाँकी रहेको प्रदूषण राति माथिबाट झरेर बिस्तारै बिहान पृथ्वीको सतहमा आइपुगेको हुन्छ । बिहान पृथ्वीको सतहमा हुने भएकाले मर्निङ वाक गर्दा प्रदूषित हावा लिनुपर्ने बाध्यता छ । सबैभन्दा प्रदूषित हावा मानवस्तीको माथि बसेको देखिन्छ ।

उपत्यकामा अन्य मौसमको तुलनामा मनसुनमा कम प्रदूषण हुन्छ । यो मौसममा धेरै पानी पर्ने भएकाले कम प्रदूषण भएको हो । प्रदूषित धुलो धुवाँलाई आकाशको पानीले तल झार्ने भएकाले कम प्रदूषण हुन्छ । यो मौसममा पानीले गर्दा भएको धुलो पनि हिलोमा परिणत हुन्छ । मनसुनमा हावा पनि उत्तिकै चल्ने भएकाले पनि भएको धुलो धुवाँलाई उँडाएर लैजान्छ, तर जाडोमा कम तापक्रम हुने र हावा पनि कम चल्ने भएकाले भएको प्रदूषण उपत्यकामै रहन्छ । जसले गर्दा जाडोमा उपत्यका धेरै प्रदूषण हुन्छ ।

यी हुन्, प्रदूषणका मुख्य स्रोत

उपत्यका हुने सबै प्रदूषणको स्रोतलाई एउटै डालोमा हाल्नुहुँदैन । यहाँ धेरै किसिमका स्रोतले प्रदूषण बढाएका छन् । सबैभन्दा बढी धुलो धुवाँ र ग्यासले प्रदूषण बढाएका छन् । उपत्यकामा धुलो धेरैजसो सडकबाट निस्किने गरेको छ ।

अहिलेको चक्रपथ विस्तार, कलंकी–नागढुंगाको सडक विस्तार, अन्य सडक मर्मतसम्भार नगर्दा धेरै धुलो निस्किने गरेको छ । त्यसैगरी, मेलम्ची खानेपानीको पाइप बिछ्याउँदा सडक खनेर यत्रतत्र छोड्दा पनि धुलो धेरै निस्किने गरेको छ ।

उपत्यकामा भइरहेका भवन तथा घरलगायत निर्माणका कामले पनि धुलो निस्किने गरेको छ । धुलोको कण गह्रौँ हुने भएकाले धेरै माथिसम्म जाँदैन । गाडीले उँडाए पनि तत्कालै तल बसिहाल्छ । धुलोको कण मोटो हुने भएकाले शरीरको भित्री भागलाई खासै ठूलो असर पनि गर्दैन । यद्यपि, धुलोले लुगा मात्र फोहर हुने होइन, मानव स्वास्थ्यलाई दीर्घकालीन असर पनि पारिरहेको हुन्छ ।

अर्को, सवारीसाधनबाट धेरै धुवाँ निस्किने गरेको पाइन्छ । पुराना सवारीसाधनले धेरै धुवाँ फाल्छन् ।  काठमाडांैवासीमा अझै पनि प्लास्टिकका कागज जलाउने बानी छ । यसले थोरै भए पनि प्रदूषण बढाउन सहयोग पुर्याइरहेको छ ।

अर्को भक्तपुर क्षेत्रमा इट्टा भट्टा धेरै छन् । यस्ता खालका भट्टाले धेरै धुवाँ फाल्छन् । ती भट्टा पनि परम्परागत किसिमका छन् । त्यस्तो धुवाँ शरीरभित्र प्रवेश ग¥यो भने सीधै फोक्सोमा पुग्छ । फोक्सोबाट रगत हुँदै पूरै शरीरमा पुग्छ । जसले ठुल्ठूला प्राणघातक रोग निम्त्याउँछ ।

उपत्यकाको प्रदूषणमा कार्बनडाइअक्साइड, सलफरडाइअक्साइड, नाइट्रोजन अक्साइडजस्ता ग्यास छन् । ती ग्यासहरू गाडीको इन्जिन र कलकारखानाबाट निस्किने गर्छन् ।

विदेशमा प्रदूषण नियन्त्रण गर्ने अभ्यास 

अमेरिकाको लसएन्जलसमा प्रदूषण धेरै भएपछि बाहिर आगो बाल्न प्रतिबन्ध लगाइयो ।म्याक्सिको सिटी र चिलीको राजधानीको वनावट पनि काठमाडौ उपत्यकाको जस्तै छ । ती सहरमा प्रदूषण मापन गर्ने केन्द्र धेरै राखिएको छ । प्रदूषण बढ्नेबित्तिकै गाडी चलाउन, कालकारखाना चलाउन नै बन्द गर्ने गरिएको छ । 

प्रदूषण घटाउन जोर–बिजोर नम्बरका आधारमा गाडी चलाउने समेत गरिएको छ । त्यसैगरी, कुनै दिन सरकारी गाडी, कुनै दिन विद्यालयका गाडी बन्द गरेर पनि प्रदूषण घटाएको देखिन्छ । प्रयोग गर्ने पेट्रोलिम पदार्थ युरो–६ छ । सडकहरू पनि सफा र स्वच्छ छन् । त्यहाँका प्रयासबाट हामीले सिक्न सक्छाैँ ।

उपत्यकाको प्रदूषण घटाउने तरिका 

काठमाडौं उपत्यकाको प्रदूषण तत्काल घटाउन सकिने खालको नै छ । काठमाडाैँमा सबैभन्दा प्रदुषण गराउने सडकको धुलो, कलकारखाना तथा गाडीको धुवाँ र इट्टा भट्टाको धुवाँले हो । जुन प्रदूषणलाई थोरै मात्र बजेट खर्च गरेर सजगता अपनाएमा कम गर्न सकिन्छ ।

चक्रपथ विस्तार र कलंकी नागढुंगा सडक विस्तार एकैपटक विस्तार गर्नुहुँदैन । बिस्तारै पार्ट पार्टमा पिच गर्दै जान सकिन्छ । खानेपानीको पाइप बिच्छ्याउने नाममा एकैपटक धेरै सडक खनिएको छ । आवश्यक ठाउँमा मात्र सडक खनेर पिच गर्न सकिन्छ ।

निजी गाडी र मोटरसाइकल विस्थापित गरी सार्वजनिक साधनलाई प्रवद्र्धन गर्नुपर्छ । सावर्जनिक गाडी ठूला खालका हुनुपर्छ । त्यसैगरी, पैदल हिँड्ने र साइकल चढ्नेलाई प्रोत्साहन गर्नुपर्छ ।

गाडीमा हरियो स्टिकर लगाउने कार्यलाई प्रभावकारी बनाउनुपर्छ । जसरी अहिले मापसे जाँचमा कडाइ गरिएको छ । सोहीअनुसार गाडीको धुवाँ जाँच गर्न ट्राफिक प्रहरीलाई दिनुपर्छ । हामीले प्रयोग गर्ने पेट्रोलियम पदार्थ युरो ६ हुनुपर्छ ।

प्रदूषणले स्वास्थ्यमा पार्ने असर 

प्रदूषित हावाले सबैभन्दा धेरै फोक्सोमा असर हुन्छ । त्यसले निमोनिया हुने, खोकी लाग्ने हुन्छ । सबैभन्दा धेरै असर पार्टिकुर म्याटर २ दशमलव ५ माइक्रोग्राम प्रतिमिटरले नाप्ने धुलो र धुवाले असर गर्छ । त्यो धुवाँको कण फोक्सोबाट रगतसम्म पुग्छ । रगतसम्म पुगेको कणले क्यान्सर, हृदयाघातसमेत हुने गरेको पाइन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरका ७० लाख जति मान्छेको वायुप्रदूषणका कारण मृत्यु हुने गरेको छ । त्यसमध्ये ४० प्रतिशत घरभित्रको धुवाँले र अरू घरबाहिरको धुलोको असर हो । त्यसको आधाजति त एसियामै मृत्यु हुन्छ । नेपालमा प्रदूषणबाट मृत्यु हुनेको संख्या धेरै छ । धुलो मात्रैले खासै ठूलो असर गर्दैन । यसले शरिरका बाहिरी अंग आँखा, नाक, घाँटीमा समस्या हुन सक्छ ।

प्रदूषणबाट यसरी बचौँ

हिउँदमा बिहान बेलुका धेरै प्रदूषण हुन्छ । त्यसमा पनि उपत्यकाको पूर्वी उत्तरी क्षेत्रमा धेरै प्रदूषण हुन्छ । यदि दम खोकीको बिरामी छ भने बाहिर निस्किँदा सजगता अपनाउनुपर्छ ।

स्वास्थ मान्छे छ भने खासै डराउनुपर्दैन । कपडाको मास्कले बाहिरको धुलो रोक्छ । तर, धुवाँचाहिँ रोक्न सक्दैन । आफूले चलाउने सवारीसाधनको पनि ख्याल गर्नुपर्छ । आफैँले चलाएको साधनले पनि धुवाँ धुलो निम्त्याइरहेको हुन्छ । त्यसका लागि समयसमयमा सर्भिसिङ गराएर कन्डिसनमा राख्नुपर्छ । धेरै गाडीको आवत–जावत हुने ठाउँमा हिँडेर जाने, गल्ली प्रयोग गर्ने बानी बसाल्नुपर्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved