चार घन्टामै केरुङ !

रासस

रासस

Jun 21, 2017 | 06:50:01 AM मा प्रकाशित

laxmi  sunrise bank

रसुवा :  काठमाडौंलाई चीनसँग जोड्ने दुई देशको उच्च रणनीतिक महत्ववको सबैभन्दा छोटो सडक असारभित्रै खुल्ने भएको छ । मैलुङदेखि स्याफ्रुबेसीसम्मको १६ किलोमिटर ट्र्याक खोल्ने जिम्मेवारी पाएको नेपाली सेनाले ७ किलोमिटर डबल लेन, ८ किलोमिटर सिंगल लेन खोलिसकेको छ भने १ किलोमिटर खोल्न बाँकी छ । यसपछि गल्छी-बेत्रावती-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी जोड्ने उक्त सडक हुँदै राजधानी काठमाडौंबाट चीनको केरुङ करिब ४ घन्टामै पुगिनेछ । चीन सरकारले सन् २०२० सम्ममा सिगात्सेबाट केरुङसम्म रेल ल्याउने गरी तयारी गरेको छ ।

उक्त सडकखण्ड ट्र्याक खोल्ने जिम्मेवारी पाएका मेजर सञ्जय केसीले मैलुङबाट स्याफ्रुबेसीसम्मको सडकखण्ड जोड्न अब एक किलोमिटर मात्र बाँकी रहेको र उक्त काम असारभित्रै सम्पन्न गर्ने जानकारी दिनुभयो । निर्माणाधीन सडक पासाङल्यामु राजमार्ग वेत्रावती-धुन्चे-स्याफ्रुबेसीको वैकल्पिक मार्ग हो । नयाँ सडक बनेपछि उत्तर (चीनको केरुङ)-दक्षिण (भारतको ठोरी) जोडिनेछ जुन त्रिदेशीय सडक जोड्ने सबैभन्दा छोटो सडक हुनेछ । उक्त खण्ड एउटा पनि घुम्ती सडक नहुनेगरी बनाइएको छ ।

उहाँले अन्नपूर्णसँग भन्नुभयो, ‘निर्माणाधीन सडक डेडिकेटेड डबल लेनको अर्थात् ९ मिटर चौडाइको हुनेछ । विगतजस्तो विस्फोटक पदार्थ र इन्धनको अभाव नभएकाले अब काम समयमै सकिनेछ ।' नेपाली सेनाको विकास निर्माण निर्देशनालयका प्रमुख उद्धव बिष्टले सबै सडक डबल लेन निर्माणको काम सकेर कात्तिकभित्रै सडक विभागलाई हस्तान्तरण गर्ने जानकारी दिनुभयो ।

सडक हस्तान्तरण गरेपछि विभागले कालोपत्रेको काम अघि बढाउनेछ । विभागबाट उक्त खण्डका प्रमुख प्रकाश भण्डारीले मुआब्जाको काम भइरहेको र सेनाबाट हस्तान्तरण हुनासाथ कालोपत्रेका लागि प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो । वैकल्पिक उक्त मार्ग निर्माण सम्पन्न भएपछि गल्छीदेखि नाका रहेको स्थान रसुवागढीको लम्बाई ८४ किलोमिटर हुनेछ । स्थलगत निरीक्षणका लागि पुगेको संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले मैलुङ स्याफ्रुबेसी सडकले उत्तर-दक्षिण जोडेपछि उक्त सडक ‘लाइफ लाइन' हुने भन्दै सडकले त्रिदेशीय भूमिका खेल्ने बताउनुभयो ।


-असारभित्रै मैलुङ-स्याफ्रुबेसी सडकको ट्र्याक
-सबैभन्दा छोटो त्रिदेशीय सडक
-उत्तरमा केरुङ-दक्षिणमा ठोरी जोड्निे
-सडकखण्ड घुम्तीरहित
-१ किलोमिटर ट्र्याक खोल्न बाँकी

उहाँले भन्नुभयो, ‘नाकामा रसुवागढी उताको विकास (भन्सार र अध्ययगमनको भवन र सडक आदि) हेर्दा नेपालतर्फ केही काम भएकै छैन । चीन सरकारले केरुङसम्म तीन वर्षभित्र रेल ल्याउँदा सोअनुसारको सम्पूर्ण पूर्वाधार हामीले पनि नेपालतर्फ निर्माण गरिसक्नुपर्ने चुनौती बढेको पायौं ।' उहाँले नेपालले गढीमा अन्तर्राष्ट्रियस्तरको भन्सार र त्यसका लागि झन्डै तीन वर्षअघि नै रसुवागढी भन्सार एकीकृत कार्यालय बनाउन लागे पनि सर्वोच्च अदालतमा मुद्दा परेकाले अझै काम हुन नसक्नु लज्जास्पद भएको प्रतिक्रिया दिनुभयो ।

रसुवाका सांसद जनार्दन ढकालले गल्छीदेखि मैलुङ-स्याफ्रुबेसी हुँदै रसुवागढीसम्मको सडकलाई उच्च रणनीतिक सडकका रूपमा लिइएकाले गढीलाई दोस्रो अन्तर्राष्ट्रिय ठूलो नाका बनाउन नेपाल सरकारले कत्ति पनि ढिलो गर्नु नहुनेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘केरुङसम्मको स्थलगत निरीक्षणले नेपालले नाका र नाकासम्मका भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक ऐनकानुन सच्याएर फटाफट काम अघि बढाउनुपर्ने चुनौती थपेको छ ।' नेपाल र चीन सरकारबीच रसुवागढीदेखि स्याफ्रुबेसीसम्मको १६ किलोमिटर सडकलाई ९ मिटर चौडाइको डबल लेन सडक कालोपत्रे गर्नेसम्मको हालैको सम्झौताबमोजिम काम अघि बढाएको आजको अन्नपूर्णमा खबर छ । 

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नोर्पु तामाङले सुख्खा क्वारेन्टाइन, भन्सार, अध्यागमन र बन्दरगाह निर्माणका लागि सरकारले तत्काल विनारोकावट कामलाई अघि बढाएर दुई वर्षभित्रै सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved