धरानमा माओवादीको ‘पपुलिस्ट’ नारा - खानेपानी र बिजुली निस्शुल्क दिने वाचा

कांग्रेस कम्युनिस्ट किल्ला भत्काउने र एमाले जोगाउने कसरतमा
रासस

रासस

Jun 21, 2017 | 07:14:05 AM मा प्रकाशित

laxmi  sunrise bank

धरान मुलुककै पहिलो उपमहानगर हुन सक्छ जहाँ माओवादी केन्द्र खानेपानी र बिजुली निस्शुल्क दिने ‘पपुलिस्ट’ नारा अघि सारेर चुनावमा उत्रेको छ । केन्द्रले आफ्नो पार्टीले मेयर जिते प्रतिपरिवार दैनिक १० हजार लिटर खानेपानी र प्रतिमहिना १० युनिट बिजुली निस्शुल्क उपलब्ध गराउने भन्दै भोट मागिरहेको छ । माओवादी केन्द्रले धरानबासीको मन जित्न अर्को पनि ‘पपुलिस्ट’ नारा दिएको छ, त्यो हो धरानलाई प्रदेश नं। १ को राजधानी बनाउने । विराटनगरपछिको पूर्वकै पुरानो नगरमा मेयर जित्न उसले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र जनमुक्ति, खम्बुआन र लिम्बुआनका नाममा खुलेका विभिन्न जातीय पार्टीसँग गठबन्धनसमेत गरेको छ । माओवादी केन्द्र, संघीय समाजवादी फोरमसहितको गठबन्धनले मेयरमा अइन्द्रविक्रम बेघा र उपमेयरमा पारस काङवाङ राईलाई उम्मेदवार उठाएको छ । बेघा माओवादी केन्द्रका हुन् भने राई संघीय समाजवादी फोरमका ।

कांग्रेस र एमालेले भने मेयर र उपमेयरसहित सबै पदमा आ–आफ्नै पार्टीको बलमा प्रतिस्पर्धा गरिरहेका छन् । कांग्रेसले मेयरमा तिलक राई र उपमेयरमा श्यामा रेग्मी तथा एमालेले मेयरमा तारा सुब्बा र उपमेयरमा मञ्जु भण्डारीलाई उठाएका छन् । यहाँ मेयर र उपमेयरमा १२र१२ जना उम्मेदवार छन् । यहाँ राप्रपाले मेयरमा तारा शाक्यलाई उम्मेदवार बनाएको छ । धरानमा सांगठनिक हिसाबले राप्रपा कमजोर भएकाले उनको खासै चर्चा भने छैन । २० वटा वडा भएको धरानमा ७९ हजार २ सय ८२ मतदाता छन् । धरान ०१५ सालदेखिकै कम्युनिस्टको किल्ला हो । पञ्चायतकाललाई अपवाद मान्दा यहाँ कम्युनिस्ट उम्मेदवारले कहिल्यै हारेका छैनन् । यो ०४९ र ०५४ मा भएको स्थानीय चुनावमा एमाले, ०४८, ०५१, ०५६ को संसदीय निर्वाचनमा एमाले, ०६४ को संविधानसभा चुनावमा माओवादी र ०७० को संविधानसभा चुनावमा एमालेले जितेको ‘कम्युनिस्ट किल्ला’ हो । 

यहाँका वामपन्थी विश्लेषक एवं महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक राजेन्द्र शर्माले २००६ सालमा भारतमा मनमोहन अधिकारीलगायत नेताले कम्युनिस्ट पार्टी गठन गरेकै बेला धरानमा निर्मल गिरीलगायतले बैठक गरी अघि बढाएको विद्रोही चेतना अद्यापि रहेको उल्लेख गरे । शर्माको विश्लेषणअनुसार गणितीय हिसाबले अझै धरानमा कम्युनिस्ट मतदाता बढी छन् । तर, दुई कम्युनिस्ट पार्टीबीचको तानातानले यसपटकको चुनावमा परिणाम के आउँछ भन्न सकिन्न । एमाले र माओवादी केन्द्र यो कम्युनिस्ट किल्ला आफ्नो पक्षमा पार्न कसरत गरिरहेका छन् । कांग्रेस भने दुइटा कम्युनिस्ट पार्टीबीचको चर्को प्रतिस्पर्धाले मत बाँडिने र आफूले बाजी मार्ने विश्लेषणसाथ चुनावी अभियानमा लागिरहेको छ । आजको कान्तिपुरमा खबर छ । 

एमालेले ०६४ सालबाहेक यहाँ सबै निर्वाचन जिते पनि विकासमा खासै काम गर्न नसकेकाले उपमहानगर पछाडि परेको भन्दै कांग्रेस र माओवादी केन्द्र यसैलाई चुनावी मुद्दा बनाएर मतदातासामु गइरहेका छन् । कांग्रेसले गिरिजाप्रसाद कोइरालाको पहिलो प्रधानमन्त्रीत्वकालमा धरानमा ‘बीपी कोइराला चिकित्सा विज्ञान प्रतिष्ठान’ खुलेको र यसैका कारण आर्थिक गतिविधि बढेको र उपमहागर पूर्वको आकर्षण केन्द्र बनेको भन्दै मतदाताबीच यसको श्रेय लिने प्रयास गरिरहेको छ ।एमालेले भने धरानमा जति पनि विकासका गतिविधि भएका छन् ती सबै ०४९ र ०५४ मा निर्वाचित आफ्नो पार्टीका मेयररउपमेयरले सुरु गरेको भन्दै त्यसैका आधारमा मत मागिरहेको छ ।

धरानमा जातीय भावनाका आधारमा समेत मत तलमाथि पर्ने गरेको छ । खम्बुवान र लिम्बुवानबीचको जातीय राजनीतिले यहाँ राई र लिम्बूबीच तिक्तता बढेको छ । धरानमा सबभन्दा बढी मतदाता राई समुदायका छन् । त्यसपछि लिम्बु, नेवार, बाहुन र क्षत्री छन् । ०६४ सालको चुनावमा जातीय आधारमा मत परेकै कारण माओवादीका किरण राईले एमालेका मनोजकुमार मेन्याङ्वो ९लिम्बु० लाई हराएका थिए । ०७० मा एमालेका कृष्णकुमार राईले कांग्रेसकी उमा बाँस्तोला, माओवादीका मुङसाङ मेन्याङ्वो ९लिम्बु० लाई हराएका थिए । राई मतदाता बढी भएको धरानमा यसपटक एमाले र माओवादी दुवैबाट लिम्बु उम्मेदवार भएको फाइदा कांग्रेसलाई पुग्ने विश्लेषण यहाँ गरिंदैछ । किनकि कांग्रेसबाट राई मेयरका उम्मेदवार छन् । तर, कांग्रेसको उम्मेदवार चयन सर्वसम्मत हुन सकेको थिएन । यहाँ कांग्रेसबाट किशोर राईसमेत मेयरको दाबेदार थिए । तिलक राईले मेयरमा उम्मेदवार पाएपछि किशोर असन्तुष्ट बनेका थिए । किशोर आफ्नो उम्मेदवारीमा प्रस्तावक बसेको र अहिले उनी कांग्रेसको प्रचारमा हिडिरहेको कांग्रेसका उम्मवार तिलक राईको दाबी छ । उनले कांग्रेस एकढिक्का भएर आफ्नो पक्षमा प्रचारमा लागेको बताए । जातीय कारणले समेत आफूलाई फाइदा पुग्ने दाबी राईको छ । एमालेका तारा सुब्बासमेत जातीय भावनाका आधारमा केही मत पर्न सक्ने बताउँछन् । ‘जातीय सेन्टिमेन्टका आधारमा केही मत जान्छ, तर सबै जातजातिमा आफ्नो पार्टीको बलियो सांगठनिक आधार भएकाले यहाँ एमाले नै विजयी हुन्छ’ सुब्बाले भने । 

कांग्रेस, एमाले र माओवादी केन्द्रका मेयरका उम्मेदवार तीनै जनाले आ–आफूले जित्ने दाबी गर्छन् । कांग्रेसका मेयरका उम्मेदवार राईले २६ वर्षदेखि जित्दै आएका कम्युनिस्ट पार्टीका जनप्रतिनिधिले धरानको विकास र समृद्धिका लागि सम्झनालायक केही पनि काम गर्न नसक्नु नै यसपटक आफ्नो जितको आधार बनेको दाबी गरे ।एमालेका मेयरका उम्मेदवार सुब्बाले आफ्नो पार्टीको बलियो सांगठनिक आधार र ०४९ तथा ०५४ को स्थानीय चुनावमा विजयी मेयरलगायतका जनप्रतिनिधिले राम्रो काम गरेर धरानमा विकासको जग बसालेकाले यसपटक पनि एमाले नै विजयी हुने दाबी गरे ।

माओवादी केन्द्रका मेयरका उम्मेदवार बेघाले भने चुनावी प्रक्रिया सुरु भएपछि आफ्नो पार्टीको संगठनात्मक गतिविधि चार गुना बढेको, संघीय समाजवादी फोरमसँग गठबन्धन भएको र नयाँ शक्तिले समेत निस्शर्त सहयोग गर्ने घोषणा गरेकाले यसपटक आफ्नो पार्टीले जित्ने दाबी गरे ।यहाँ कांग्रेस र एमालेले एक–अर्काबीचमात्र प्रतिस्पर्धा हुने र माओवादी केन्द्र तेस्रो पोजिसनमा रहने दाबी गरेका छन् । माओवादी केन्द्रका बेघाले भने आफ्नो प्रतिस्पर्धा कांग्रेस र एमालेसित हुने उल्लेख गर्दै दोस्रो पोजिसनमा कांग्रेस र एमाले को आउँछ भन्न चाहेनन् ।

लागू औषध र गुण्डागर्दी नियन्त्रण पहिलो मुद्दा 

धरानमा लागू औषधिको खरिदबिक्री र सेवन तथा गुण्डागर्दी नियन्त्रणलाई तीनवटै प्रमुख पार्टीले मुख्य मुद्दा बनाएका छन् । धरान लागू औषधको खपत र गुण्डागर्दीको कारण बदनाम बनेको पीडा तीनवटै पार्टीले महसुस गरेका छन् । तीनवटै पार्टीले निर्माणाधीन खानेपानी आयोजना र बसपार्कलाई पूरा गर्ने, धरानलाई सांस्कृतिक सहरका रूपमा विकास गर्ने, सर्दु र सेउती खोलाको कटान रोक्न रिटेनिङ वाल लगाई दुवै किनारामा सडक कोरिडोरको विकास गर्ने, भएका सडकलाई स्तरोन्नति गर्ने, उपमहानगरमा यसपटक जोडिएका दुर्गम गाउँलाई सडक सञ्जालमा जोड्ने, पर्यटकीय सहरका रूपमा विकास गर्ने मुद्दा अघि सारिरहेका छन् । आममतदातासमेत यी मुद्दामा आकर्षित भइरहेका छन् ।

निर्णायक सुकुम्बासी मत

धरानमा लामो समयदेखि सुकुम्बासी समस्या छ । यहाँ झन्डै १३ हजार सुकुम्बासी मत छ । सुकुम्बासी मत तान्न तीनवटै पार्टीले ठूलो कसरत गरिरहेका छन् । तीनवटै पार्टीले सुकुम्बासीलाई उनीहरू बस्दै आएको ठाउँको धनीपूर्जा दिने र अरू विकासका गतिवधिसमेत पुर्‍याउने वाचा गरिरहेका छन् । सुकुम्बासी मत चलायमान मानिन्छ, जुन पार्टीले विभिन्न प्रलोभन दिएर यो मत आफ्नो पार्टीमा पार्न सक्छ, त्यसैले जित्न सक्ने आँकलन यहाँ गरिएको छ ।





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved