‘टापुनगर’ मा चुनावी आशा

मतदाता भन्छन्– रोपाइँ त अर्काे दिन गरे पनि हुन्छ, अर्काे दिन भोट हाल्न पाइन्न, त्यसैले एक दिन काम रोकेर भोट हाल्न गइन्छ
रासस

रासस

Jun 21, 2017 | 07:46:41 AM मा प्रकाशित

laxmi  sunrise bank

टापुको रूपमा रहेको महाकाली नगरपालिकामा अचेल रोपाइँसँगै निर्वाचनको चटारो छ । पुरानो दोधारा र चाँदनी गाविसलाई मिलाइएको यस नगरपालिकाका स्थानीय न रोपाइँ पन्छाउन सक्छन्, न चुनावी रौनक नै गुमाउन चाहन्छन् । रोपाइँले वर्षभरि खान उत्पादन हुने, निर्वाचनले नयाँ जनप्रतिनिधि चयन हुने भएकाले उनीहरूका लागि दुवै उत्तिकै महत्त्वपूर्ण छन् । त्यसैले उनीहरू अचेल दोहोरो व्यस्ततामा छन् ।रोपाइँको चटारोसँगै मतदाताहरू टोलटोल पुग्ने उम्मेदवारका कुरा मसिनो गरी सुनिरहेका छन् । कुनै बेला महाकाली नदीमा पुल नहुँदा आफूलाई बिरानो ठानेका मतदाताहरू यतिबेला भने स्फूर्तिका साथ जनप्रतिनिधि चुन्न कस्सिएर लागेका छन् । भन्छन्, ‘यतिका वर्षपछि जनप्रतिनिधि छान्ने मौका आएको छ, यो मौकालाई सदुपयोग गर्नुपर्छ ।’ कान्तिपूरमा समाचार छ । 

महाकालीमा झोलुंगे पुल बनेपछि दोधाराचाँदनीवासीको आधा दुस्ख हटेको छ । हरेक निर्वाचनको मुख्य माग त्यही झोलुंगे पुल हुन्थ्यो । त्यसपछि महाकाली नदीमा तटबन्ध । पछिल्ला निर्वाचनमा भने उनीहरूका माग फेरिएका छन् । ‘पुल नबन्दा हामी बिरानो थियौं,’ महाकाली १० का मानबहादुर बुढाले कान्तिपुरसँग भने, ‘झोलुंगे पुलले हामीलाई आफ्नो देशसँग जोडेको छ, दोधाराचाँदनीको काँचुली फेरेको छ । हाम्रा आधा दुस्ख हटेका छन् ।’सीमा नाकामा भारतीय प्रहरीले लगाएको वचनको जवाफ महाकाली झोलुंगे पुलले दिएको उनीहरूले सुनाए । ‘यो पुल बन्नुअघि खटिमाबाट डिजेल ल्याउँदै गर्दा भारतीय प्रहरीले आफ्नो देशबाट जाऊ भनेर तितो वचन लगायो,’ अर्का स्थानीय बलबहादुर ओलीले भने, ‘झोलुंगे पुलले त्यसको जवाफ दिएको छ ।’ पुल बन्नुअघि स्थानीय भारतको बाटो हुँदै महेन्द्रनगर आवतजावत गर्थे । दक्षिण सीमामा भारतीय सीमा सुरक्षा बलको दादागिरी अहिले पनि जारी रहेको उनीहरूको गुनासो छ । २०६१ सालमा दोधाराचाँदनीलाई मुलुकको सबभन्दा लामो ९एक हजार ४५२ मिटर० झोलुंगे पुलले जोडेको हो । यहाँ सुक्खा मौसममा महाकाली नदी छिचोलेर गाडी पुग्छन् । यहाँका बासिन्दाले अरूबेला झोलुंगे पुलबाट मोटरसाइकलबाटै आवश्यक सामान ढुवानी गर्छन् । जरुरी काममा भारतको वनबासा र खटिमामा हुँदै गाडी लिनुपर्ने हुन्छ ।

दोधाराचाँदनीलाई पश्चिममा जोगबुढा नदी र पूर्व महाकाली नदीले घेरेको छ । वर्षात्मा उर्लने दुवै नदीले उनीहरूलाई बेलाबेला डुबानमा पार्छन् । यो स्थानीय निर्वाचनमा उनीहरूका मुख्य मागमध्ये तटबन्ध पनि एक हो । ‘तटबन्ध जीर्ण भइसकेको छ, बेलाबेला डुबानमा पर्दै आएका छौं,’ महाकाली ९ का कृपाराम कोइरालाले भने, ‘हामीले बलियो तटबन्ध मागेका छौं ।’ हालै उक्त क्षेत्रमा पुगेका सांसद रमेश लेखकसँग पनि उनले त्यो माग उठाएका थिए । महाकालीमा पक्की पुलसँगै दोधाराचाँदनीलाई सुक्खा बन्दरगाह बनाउने सरकारको घोषणाले उनीहरू खुसी छन् । ‘हामीले उम्मेदवारसँग पक्की पुल माग गरेका छौं,’ सात नम्बर बजारका पान्डु सुनारले सुनाए । महाकालीमा झोलुंगे पुल बन्नुअघि दोधाराचाँदनीमा सम्पूर्ण कारोबार भारतीय रुपैयाँबाट हुन्थ्यो । सबै कामका लागि भारत जानुपर्ने भएकाले उनीहरू भारु प्रयोग गर्थे । ‘हाल ९० प्रतिशत नेपाली रुपैयाँमा कारोबार गर्छौं,’ स्थानीय पूर्णबहादुर ओलीले भने, ‘धेरैजसो सामान महेन्द्रनगर र धनगढीबाट ल्याउँछौं ।’

कृषि उत्पादनमा राम्रो मानिएको दोधाराचाँदनीका बासिन्दाले उम्मेदवारसँग मलखाद र बीउबिजन उपलब्ध व्यवस्था गर्न माग गरेका छन् । सुन्दा सामान्य लाग्ने यी माग उनीहरूका लागि भने ठूला हुन् । सीमापारि भारतीय बजारबाट रासायनिक मल किनेर ल्याउँदा सीमा सुरक्षा बलले पानीमा बगाइदिएको अनुभव उनीहरूसँग छ । ‘मलखाद, बीउबिजन पाउन समस्या छ,’ ७३ वर्षीय श्यामलाल सुनारले भने । धान, मकै र गहुँले उचित बजार नपाएको गुनासो किसानको छ । ‘केही वर्षपहिले हामी भारतीय व्यापारीलाई धान बेच्थ्यौं, राम्रो भाउ पाउँथ्यौं, अहिले सस्तोमा बेच्नुपरेको छ,’ स्थानीय गणेश थापाले भने, ‘उत्पादन गरेको वस्तुको बजारको अभाव छ ।’

अरू क्षेत्रजस्तै निर्वाचन जितेपछि जनप्रतिनिधि गाउँ नफर्कने हुन् कि भन्ने चिन्ता त्यहाँका मतदातालाई छ । ‘हामीले भोट दिने हो, जितेपछि नेताले काम गर्ने हो,’ सात नम्बर बजारमा पसल गर्दै आएकी ममता बस्नेतले भनिन् । अर्का मतदाता आइतबहादुर आलेले रोपाइँ एकदिन रोकेर भए पनि मतदान गर्नुपर्ने बताए । ‘रोपाइँ अर्को दिन गरे पनि हुन्छ, अर्को दिन भोट हाल्न पाइँदैन,’ उनले भने ।

महाकाली नगरपालिका कांग्रेसका मेयर उम्मेदवार वीरबहादुर सुनारले मतदाताका माग जायज भएको बताए । ‘जनताले उठाएका माग जायज छन्, ती कामका लागि प्रयास गर्ने जनप्रतिनिधिको कर्तव्य हो,’ घरदैलो अभियानमा रहेका उनले कान्तिपुरसँग भने, ‘अब सिंहदबारको अधिकार गाउँमा आएको छ ।’ एमाले उम्मेदवार किशोरकुमार लिम्बूले टापुमा रहेको नगरपालिकामा पूर्वाधार बने समृद्ध हुने बताए । ‘हामी राज्यका निकायलाई पूर्ण रूपमा प्रयोग गरी महाकाली नगरपालिकाको विकासमा लाग्छौं,’ उनले भने । 

माओवादीका मेयर उम्मेदवार इन्द्र रावतले मुख्य समस्या महाकाली र जोगबुढा बाढी नियन्त्रण भएको उल्लेख गर्दै यसलाई गुरुयोजना बनाएर तटबन्ध बनाउने बताए । ‘यहाँका जनताका माग र हाम्रा चुनावी एजेन्डा मिलेका छन्,’ उनले भने । १९ हजार ८ सय ३१ मतदाता रहेको यस नगरपालिकामा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा छ ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved