एमालेनिकट देखिनेलाई पाखा लगाउँदै प्रचण्ड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 21, 2017 | 11:17:31 AM मा प्रकाशित

laxmi  sunrise bank

देशमा नेकपा एमालेविरुद्धको मोर्चाबन्दी कसिलो तुल्याउँदै लैजाने क्रममा माओवादी पार्टीभित्र पनि एमालेसँगको गठबन्धनलाई प्राथमिकता दिनुपर्छ भन्ने नेताहरूलाई पाखा लगाउने ‘नियोजित अभियान’ सुरु भएको छ । प्रचण्डनिकट सूत्रका अनुसार विचार र व्यवहारमा जो एमालेसँग निकट छन् र, जसले काङ्ग्रेसभन्दा एमालेसँग गठबन्धन गर्नु उपयुक्त हुन्छ भन्ने धारणा राखेका छन् तिनलाई सकेसम्म मन्त्री बनाइने छैन, कदाचित मन्त्री बनाउनुपरे पनि ‘राम्रो’ मन्त्रालय दिइने छैन ।

पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको सिफारिसमा गिरिराजमणि पोखरेललाई भौतिक योजना मन्त्रालयको जिम्मेवारी दिइनुपर्छ भन्ने माग भइरहेको भए पनि प्रचण्ड पोखरेललाई उक्त मन्त्रालय दिनुपर्छ भन्नेमा अहिलेसम्म छैनन् । भौतिक योजना मन्त्रालय नदिने अवस्थामा सहरी विकास मन्त्रालय भए पनि पोखरेललाई दिइनु उपयुक्त हुने कुरा उठ्यो । यसरी पोखरेललाई सहरी विकासमन्त्री बनाउने दबाब पर्न थालेपछि प्रचण्डले प्रभु साहलाई सो मन्त्रालय सुम्पिदिएका छन् ।

नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेलले एमालेसँगको गठबन्धनलाई प्राथमिकतामा राख्दै आएको र संविधान संशोधनको एजेण्डामा पनि फरक धारणा (संशोधनविपरीत) भएकोले नारायणकाजी श्रेष्ठको इच्छाअनुसार पोखरेललाई ‘राम्रो’ मन्त्रालय दिन प्रचण्डले इन्कार गरेकोे बताइन्छ । नेताहरू टोपबहादुर रायमाझी, शक्ति बस्नेत, हरिबोल गजुरेल र अग्नि सापकोटालगायतले पनि एमालेसँगको गठबन्धनमा जोड दिँदै संविधान संशोधनको विषयमा एमालेको अडान ठीक रहेको भन्न थालेपछि उनीहरूलाई पनि पाखा लगाइने भएको छ । काङ्ग्रेससँगको गठबन्धन र संविधान संशोधनको पक्षमा रहेका कृष्णबहादुर महरा र जनार्दन शर्मालाई दोहोर्‍याएर मन्त्री बनाइएको छ ।

त्यस्तै, वर्षमान पुनको सिफारिसलाई पनि प्रचण्डले उच्च महत्व दिने गरेका छन् । तर, रायमाझी, बस्नेत र सापकोटालगायतका नेताहरूलाई प्रचण्ड नेतृत्वको सरकारमा सामेल गराइएन र अहिले पनि पाखा लगाउने प्रयास भइरहेको छ । पूर्वउपप्रधानमन्त्री रायमाझी र गृहमन्त्री बस्नेतलाई त प्रचण्डले शङ्काको घेरामा राखेको बताइन्छ । पाँच नम्बर प्रदेश विभाजनको प्रयासविरुद्ध एमालेसँग मिलेर सडक–सङ्घर्षमा उत्रिएपछि रायमाझीलाई सन्देहको घेरामा राखिएको थियो । यसपटक उनी उपप्रधानमन्त्रीको हैसियतसहित सरकारमा सामेल हुन इच्छुक भए पनि कसैले उनको नाम लिइदिएनन् । माओवादीको बलियो मानिने जाजरकोटमा हालै सम्पन्न स्थानीय निर्वाचनमा एमालेले ठूलो उपलब्धि हासिल गरेपछि शक्ति बस्नेत पनि शङ्काको घेरामा परेका छन् । एमालेसँग निकट हुनुपर्ने धारणा राख्ने बस्नेतको जिल्लामा अनपेक्षित ढङ्गले एमालेलाई सफलता मिलेपछि बस्नेतप्रति प्रचण्डले शङ्का गर्न थालेका छन् ।

रायमाझीजस्तै बस्नेतलाई पनि मन्त्री नबनाइने सम्भावना प्रबल छ । उता चीनसँग निकटको सम्बन्ध बनाइनुपर्छ भन्ने अग्नि सापकोटालाई पनि मन्त्रिमण्डलमा सामेल नगराउने सङ्केत प्रचण्डले दिएका छन् । प्रचण्डको प्राथमिकतामा आफूसँग राय नबझाउने, आँखा जुधाएर बोल्न नसक्ने र आफूप्रति पूर्ण इमानदार रहेर काम गर्न सक्ने व्यक्तिहरू परेका छन् । नचाहेर पनि नारायणकाजी श्रेष्ठको सिफारिसमा गिरिराजमणि पोखरेललाई मन्त्री बनाइनसक्ने र पोखरेललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने सोच बनेको बुझिन्छ । त्यस्तै शिवकुमार मण्डल, आशा खनाल, शान्त चौधरी र महेन्द्रबहादुर शाहीजस्ता आफूप्रति पूर्ण ‘लोयल’ व्यक्तिहरूलाई मन्त्री बनाउने योजनामा प्रचण्ड रहेका छन् । सम्भावित राज्यमन्त्रीमा पहिले वर्षमान पुनको सवारीचालकको अनुभव हासिल गरी हाल स्वकीय सचिवको भूमिकामा रहेका श्यामकुमार श्रेष्ठको नाम चर्चामा आएको छ । त्यस्तै रेशम चौलागाईंलाई पनि यसपालि राज्यमन्त्री बनाएर ‘न्याय’ दिन खोजिएको बताइन्छ । अचेल प्रचण्डमाथि वर्षमान हावी भएका छन् । मन्त्रिमण्डलमा दोहोरिएर जाने इच्छा प्रकट गरेर पनि सुरेन्द्र (राम) कार्कीको इच्छा पूरा नहुने भएको छ । माओवादीलाई सामान्य प्रशासन, ऊर्जा, पशुपन्छी र स्वास्थ्यलगायतका मन्त्रालय पर्ने बुझिएको छ । प्रचण्डले भौतिक योजना मन्त्रालय पनि आफ्नो भागमा पार्ने प्रयास गरिरहेका छन् । घटना र विचार साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved