१२० भन्दा बढी तह जित्ने माओवादी दाबी, राप्रपा भन्छ ५ मेयर र २५ अध्यक्ष हाम्रो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 22, 2017 | 07:31:48 AM मा प्रकाशित

laxmi  sunrise bank

माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचनमा झन्डै १ सय २० स्थानमा जित्ने दाबी गरेको छ । प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ तहमध्ये एकतिहाइमा जित्ने आँकलन माओवादीको छ ।

तीनवटै प्रदेशका इन्चार्जले गरेको दाबीअनुसार प्रदेश नं। १ का १३७ मध्ये ५० देखि ५५ तहमा, ५ का १०९ मध्ये ४६ तहमा र ७ का ८८ मध्ये २५ देखि ३० तहमा पार्टीले जित्नेछ । पहिलो चरणको निर्वाचनको समीक्षासहित विशेष अभियानमा चलाइएकाले पार्टीका पक्षमा राम्रो परिणाम आउने उसको विश्वास छ । माओवादी प्रदेश नम्बर १ का इन्चार्ज गोपाल किरातीले बताए ।

‘पहिलो चरणमा चुनावको अनुभव त्यति थिएन, अहिले केन्द्रीय कार्यालयबाटै गम्भीर समीक्षा गर्दै चुनावमा होमिएका छौँ,’ किरातीले भने, ‘खर्च बढे पनि चुनावी अभियानमा लाग्ने लामो समय मिल्यो, जनताको बीचमा राम्रैसँग पुग्न पाइएको छ । सुखद नतिजा नै आउँछ ।’

प्रदेश नं। ५ मा खटिएका माओवादी नेता चक्रपाणि खनालले पार्टीको प्रचार अभियान गाउँ तहसम्मै पुगेको, कमजोर रहेका स्थानमा तालमेल गरी निर्वाचन लडेका कारण अपेक्षित नतिजा ल्याउने बताए । ‘कमजोर रहेका स्थानमा तालमेल गरेर निर्वाचन लड्दै छौँ, पार्टी संगठन पनि योबीचमा गाउँ, वडा तहसम्मै पुर्याउन सफल भयौँं,’ खनालले भने, ‘यस हिसाबले पनि नतिजा पहिलो चरणको भन्दा राम्रै आउनेमा हामी विश्वस्त छौँ ।’

माओवादीले प्रदेश नं। ७ मा पार्टी एजेन्डा, उम्मेदवार छनोट र नेता–कार्यकर्ताको परिचालन व्यवस्थित बनाउन सकिएकाले परिणाम अपेक्षित आउने जिकिर गरेको छ । इन्चार्ज लेखराज भट्टले निर्वाचनले पार्टीको संगठनलाई पुनर्ताजगी गरेकाले पहिले गुमेको जनमत फर्किन थालेको बताए ।

‘परिणाम राम्रै आउँछ, प्रदेश नं। ७ मा हामी एक्लै चुनावी प्रतिस्पर्धामा छौंँ,’ भट्टले भने, ‘संगठन पुनर्ताजगी हुँदै गएकाले पनि नतिजा राम्रै आउँछ ।’

माओवादी आँकलन

प्रदेश नम्बर १

स्थानीय तह स् १३७, दाबी ५०–५५

प्रदेश नम्बर ५

स्थानीय तह १०९, दाबी ४६

प्रदेश नम्बर ७

स्थानीय तह  ८८, दाबी २५–३०

जहाँ जुन पद लिएर जितिन्छ, त्यस्तै गर्ने नीति छ, त्यसले प्रदेश र केन्द्रको चुनावमा बल पुग्छ ।

पम्फा भुसाल, प्रवक्ता,

माओवादी केन्द्र

एक उपमहानगरसहित ५ मेयर र २५ अध्यक्ष जित्ने राप्रपाको दाबी

राप्रपाले दोस्रो चरणको निर्वाचनमा एक उपमहानगरसहित ५ मेयर र २५ गाउँपालिका अध्यक्ष जित्ने दाबी गरेको छ । नेताहरूलाई जिल्ला–जिल्लामा खटाइएकाले दोस्रो चरणको निर्वाचनमा सुधार आउने राप्रपाको विश्वास छ । प्रवक्ता रोशन कार्कीले अहिलेसम्म एक उपमहानगरसहित ५ नगरपालिका र २५ गाउँपालिकामा जित्ने रिपोर्ट केन्द्रमा आएको बताइन् ।

राप्रपाले नेपालगन्ज उपमहानगरपालिकामा महामन्त्री डा। धवलशमशेर राणालाई मेयरको उम्मेदवार बनाएको छ । राणाले जित्ने आँकलन राप्रपाको छ ।

संघीय फोरम आन्तरिक अध्ययनमै

संघीय समाजवादी फोरमले दोस्रो चरणको निर्वाचनमा कति स्थानमा पार्टीले जित्न सक्छ भन्ने विषयमा जिल्लाको रिपोर्ट अध्ययन गरिरहेको जनाएको छ । अध्ययनपछि मात्रै कति सिट जित्न सकिन्छ भन्ने आँकलन गर्न सकिने नेता शिवजी यादवले बताए ।

एकल र तालमेलसमेत गरेर उम्मेदवारी दिइएको उनले जनाए । ‘उम्मेदवारी आधिकांश स्थानमा दिएका छौँ, तर कति स्थानमा जित्छौँ भन्ने विषयमा आन्तरिक अध्ययन भइरहेको छ,’ यादवले भने, ‘केही दिनमा हामी आँकलन गर्छौँ ।’ नयाँ पत्रिकामा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved