जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना हुँदा ४५ को घटनास्थलमै मृत्यु भयो !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 24, 2017 | 08:48:32 AM मा प्रकाशित

laxmi  sunrise bank

तस्विर: नयाँ पत्रिका 

शुक्रबार श्यामापुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आउँदै गरेको जहाजको दुवै इन्जिनमा आगलागी भयो । जहाज आकाशमै थियो । पहिलो इन्जिनमा आगो लागेको जानकारी चालक दलले करिब १० मिनेटअगाडि नै त्रिभुवन विमानस्थलस्थित एटिसी टावरमा गराइसकेको थियो । विमानस्थल व्यवस्थापनले उपत्यकास्थित सबै निकायका दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खबर गर्यो । विभिन्न अस्पतालमा आकस्मिक उपचारको व्यवस्था तयारी अवस्थामा राख्न आग्रह गरियो । ती अस्पतालबाट एम्बुलेन्सहरू विमानस्थलतर्फ हुइँकिए ।

एबिसी एयरलाइन्सको एयरबस ३३० जहाज विमानस्थलको पूर्वतिर रहेको फायर स्टेसननजिकै फोर्स ल्यान्ड हुँदा दमकल र एम्बुलेन्स तयारी अवस्थामा थिए । ल्यान्ड हुनेबित्तिकै जहाजबाट आगोको मुस्लो निस्कियो, त्यसपछि सुरु भयो बचाउ र उद्धार । १ सय ८० यात्रु सवार यो जहाज दुर्घटनामा ४५ को घटनास्थलमै मृत्यु भयो । २७ गम्भीर घाइते भए । गम्भीर घाइतेमध्ये एकलाई अल्टिच्युड एयरको हेलिकोप्टरले ग्रान्डी अस्पताल पुर्यायो भने अन्य घाइते नजिकका अस्पताल लगिए ।

झट्ट हेर्दा वास्तविक दुर्घटनाकै झल्को दिने यो घटना वास्तविक भने होइन । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटनासँगै हुने आगलागी नियन्त्रण र उद्धारसम्बन्धी तयारी, संयन्त्र, प्रविधि र जनशक्तिको प्रदर्शन गरिएको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)का सदस्य राष्ट्रले हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय विमानस्थलमा एभिएसन सेफ्टीसम्बन्धी तयारी प्रदर्शन गर्नुपर्ने प्रावधान छ । ‘हामीले दुर्घटना कहिले हुन्छ र उद्धार गरौँला भनेर कुर्ने भन्ने नै हुँदैन,’ विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्याय भन्छन्, ‘आकस्मिक अवस्थामा अन्तरनिकाय समन्वय, जनशक्तिको व्यवस्था र तयारीबारे हरेक दुई वर्षमा यस्तो अभ्यास गर्नुपर्छ ।’

सोही प्रदर्शनका लागि शुक्रबार साढे ४ बजेदेखि ५ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । त्यस अवधिभर विमानस्थलबाट उडान तथा अवतरण भएनन् । वास्तविक दुर्घटनामा पनि ‘फुल इमर्जेन्सी’ अवस्थामा विमानस्थल बन्द गरेरै उद्धार र बचाउको काम गरिन्छ । उपाध्यायका अनुसार हरेक दुई वर्षमा हुने यस्तो प्रदर्शनका वेला विमानस्थलमा हुन सक्ने विभिन्न आपतकालीन अवस्थाको अभ्यास गरिन्छ । यसअघि एउटा इन्जिनमा मात्र आगलागी हुँदा गर्ने तयारी, जहाज अपहरणमा परेका वेला गर्ने तयारीजस्ता अभ्यासको प्रदर्शनी भइसकेको छ । यस वर्ष भने पूर्ण अभ्यास गरिएको हो । यसमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, काठमाडौं, ललितपुर र भक्तपुरका दमकल, उपत्यकाका विभिन्न अस्पतालका डाक्टर र नर्स, एम्बुलेन्स तथा पहिलोपटक एयरएम्बुलेन्ससमेत प्रयोग गरिएको थियो ।


आफ्नो तयारीका लागि अभ्यास
सञ्जीव गौतम, महानिर्देशक
नेपाल नागरिक उड्डयन प्राधिकरण 

आइकाओबाट मान्यताप्राप्त सबै अन्तर्राष्ट्रिय विमानस्थलहरू आगलागी नियन्त्रण, उद्धार, बचाउ र अन्य आकस्मिक अवस्थाका लागि तयारी अवस्थामा रहनुपर्छ । यसको अभ्यास हरेक दुई–दुई वर्षमा हुन्छ । सबै विमानस्थलले आफ्नो अनुकूल मिलाएर यसप्रकारको अभ्यास गर्छन् । वास्तवमा यो अभ्यास हाम्रो आन्तरिक तयारीका लागि हो । तर, हाम्रो यो तयारीलाई हवाई सेवास“ग सरोकार राख्ने सबै निकायले सूक्ष्म रूपमा हेरिरहेका हुन्छन् । नयाँ पत्रिका दैनिकमा खबर छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved