गाउँजस्ता नगरपालिका, चार पांग्रे गुड्ने सडक नै छैन, ४० बर्षमा पनि फेरिएन मुहार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 26, 2017 | 08:27:04 AM मा प्रकाशित

laxmi  sunrise bank

चनरमती रैदास नगरपालिकावासी भएको ४० वर्षभन्दा बढी भयो । कपिलवस्तु नगरपालिका–४, लौसाकी उनले जान्दैदेखि बर्खामा घरअगाडि घुँडाघुँडा साडी सारेर हिँड्नुपथ्र्यो, त्यो दिन अझै गएन । सानो झुपडीमा उनी र उनका पति भारत रैदासको जिन्दगी ढल्किँदै गयो । सन्तान नभएकाले बहिनीकी छोरी सुन्दरीलाई आफ्नै बनाएका छन्, उनका लागि पढ्न जान नजिकमा स्कुल छैन । ९ वर्षकी भइन्, अक्षरै चिनेकी छैनन् । कपिलवस्तु सदरमुकामकै यो नगरमा यस्ता धेरै बस्ती छन्, जहाँ भौतिक पूर्वाधार अति पिछडिएका ठाउँकै सरह छन् । ‘नगरवासीको अनुभूति भएकै छैन, कहिले हुने हो, त्यो पनि थाहा छैन,’ लौसाकै गोविन्दलाल पालले भने, ‘२० वर्षअघि जस्तो थियो, अझै त्यस्तै छ । अबचाहिँ बनिहाल्छ भन्ने के ग्यारेन्टी ?’

नेपाली बृहत् शब्दकोशले सरसफाइ, स्वास्थ्य, सडक, भवन, ढल, पानी आदिका व्यवस्था भएको भौगोलिक क्षेत्रलाई नगरपालिकाका रूपमा अथ्र्याएको छ । अन्यत्र नगरपालिका भन्नेबित्तिकै सहरी सभ्यताका न्यूनतम मापदण्ड पूरा गरिएका हुन्छन् । नेपालमा भने हचुवामा नगरपालिका घोषणा गर्ने, घोषणाको वर्षौंसम्म पनि सुधारतर्फ नलाग्ने प्रचलन छ । त्यसकै उदाहरण हो कपिलवस्तु । यस जिल्लाका १० स्थानीय तहमध्ये ६ वटा नगरपालिका छन् । मधेसका पिछडिएका जिल्लामध्ये पर्ने यहाँ कुनै पनि नगरपालिकामा नगर विकासको सुरसारै छैन ।

सदरमुकामको मूल बजार अत्यन्त सानो र अव्यवस्थित छ । सडक मोटरसाइकल मात्र छिर्ने खालका छन् । जताततै फोहोरै फोहोर छ । मानव विकास सूचकांकमा यो जिल्ला ७५ जिल्लामध्ये ५२ औं नम्बरमा पर्छ । हरेक हिसाबले केलाउँदा औसत नेपालीको अवस्थाभन्दा यो तल पर्छ । नेपालीको औसत प्रतिव्यक्ति आय १ हजार १ सय ६० अमेरिकी डलर छ । कपिलवस्तुलाई मात्र हेर्दा यो ९ सय ९० मात्र छ । औसत मानव विकास सूचकांक ०.४९० भएकामा यस जिल्लाको ०.४३२ छ । देशैभरिको औसत आयु ६८.८० वर्ष भएकामा यहाँको ६७.५६ वर्ष मात्र छ । अर्थात् पिछडिएका जिल्लाको पनि पिँधतिरै पर्छ यो ।

‘अशिक्षा र गरिबी चरम छ,’ स्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले भने, ‘केन्द्रीयस्तरमा नेतृत्वको पहुँच अभावका कारण यो जिल्ला विकासमा पछि परेको हो । विशेषगरी २०६२/६३ को जनआन्दोलनपछि यहाँ विकासका पूर्वाधार बन्न थालेका छन् । तीव्रता र पर्याप्तता भने छैन ।’ नगरपालिकाका अधिकांश नाम बुद्धसँग सम्बन्धित छन् । यो बुद्धधर्मको पवित्रस्थलसमेत हो । त्यसलाई उपयोग गरेर पर्यटन प्रबद्र्धन गर्ने हो भने सिंगै जिल्लाको कायापलट हुन सक्छ । ‘पर्यटनका कार्यक्रम ल्याउने हो भने हरेक नगरपालिका समृद्ध हुनुका साथै जिल्लाकै कायापलट हुन्छ,’ उनले भने । सर्वसाधारणलाई थामथुम पार्न नगरपालिका घोषणा गरिदिने तर विकास नदिने केन्द्रीय नीतिको यो जिल्ला सिकार बनेको यहाँका बुद्धिजीवीहरूको मत छ ।

‘दक्षिण क्षेत्रका कोर मधेसमा सरकारको ध्यान कम जाने हुँदा विकासले गति लिन सकेन, पहुँच पनि जिल्लासम्म पुग्न नसक्दा समस्या भयो,’ कपिलवस्तु बहुमुखी क्याम्पसका प्रमुख विष्णुदेव यादवले भने, ‘दक्षिणमा अशिक्षा र गरिबी चुलाचौकाकै समस्या छ । त्यसैले पिछडिएको मधेसमा विकासका छुट्टै नीति ल्याउनुपर्छ । तब मात्र समृद्ध मधेस हुन सक्छ ।’ कान्तिपूर दैनिकमा खबर छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved