साउनदेखि बैंकमा नगई घरैबाट आईपीओ भर्न सकिने, यस्तो छ आन्तरिक तयारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 26, 2017 | 09:08:04 AM मा प्रकाशित

laxmi  sunrise bank

 पूँजीबजारका लगानीकर्ताका लागि खुशीको खबर ! साउनदेखि आस्बा प्रणाली अनिवार्य भएलगत्तै अब लगानीकर्ताले प्रत्येक आईपीओमा १० कित्ता शेयर अनिवार्य पाउनुका साथै एकपटक आईपीओ भरेपछि एउटै कोड (नम्बर)को भरमा घरैबाट निवेदन दिन पाउने भएका छन् ।

पछिल्लो समय पूँजीबजारलाई स्वचालित बनाउन सबै शेयर अभौतिकीकरण गरी अनिवार्य रूपमा हितग्राही खातामा ल्याउनुपर्ने व्यवस्थाले यस्तो सुविधा सम्भव हुने भएको हो । केन्द्रीय निक्षेप प्रणाली (सीडीएस एण्ड क्लियरिङ) लिमिटेडले सी–आस्बा (सेण्ट्रलाइज आस्बा) नामक सफ्टवेयर निर्माण गरी लगानीकर्तालाई यस्तो सुविधा दिन लागेको हो ।

उक्त सफ्टवेयर प्रयोगको शुल्क निर्धारण गर्न यतिबेला नेपाल धितोपत्र बोर्डले छलफल शुरू गर्न लागेको बोर्डका प्रवक्ता नीरज गिरिले जानकारी दिए । उनका अनुसार सीडीएस एण्ड क्लियरिङ लिमिटेडले सेण्ट्रलाइज आस्बा सञ्चालन गर्ने निर्देशिकालाई बोर्डमा पेश गरेको छ । ‘यो सफ्टवेयरलाई साउनदेखि प्रयोग गर्न मिल्ने गरी छिट्टै निर्णय गर्नेछौं र अहिले यसबारे अध्ययन भइरहेको छ । यसबारे छलफल गरेर असारभित्रै टुङ्गो लगाउनेछौं,’ उनले थपे ।

बोर्डले शुल्कबारे स्वीकृति दिएपछि अब खुल्ने आईपीओमा यो सफ्टवेयर लागू गर्ने योजना भएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले जानकारी दिए । सीडीएसले उक्त सफ्टवेयरको परीक्षण गरिसकेको छ । प्राथमिक शेयर निष्कासन र बाँडफाँट सरलीकृत गर्न यसअघि ल्याएको ‘बीओआईडी भेरिफिकेशन’ सफ्टवेयर सफल भएकाले यसभन्दा सहज हुने विकसित सेण्ट्रलाइज आस्बा सफ्टवेयर ल्याइएको उनले स्पष्ट पारे । लिमिटेडले अघिल्लोपटक छ्याङ्दी जलविद्युत् आयोजनाको आईपीओ जारी गरेकोमा सी आस्बा सफ्टवेयरको परीक्षण गरिएको थियो ।

लगानीकर्तालाई आफ्नो डिम्याट खातामा भएको शेयरबारे सम्पूर्ण विवरण हेर्ने वेबसाइट ‘मेरो शेयर डट कम डट एनपी’ तथा ‘सीडीएससी डट कम डट एनपी’मार्फत नै आईपीओको आवेदन दिन सकिन्छ ।

यसरी भर्न सकिन्छ
डिम्याट खातामा आफ्नो कारोबारको विवरण हेर्न प्रयोग हुने सफ्टवेयरमार्फत नै हितग्राहीले अब घरैमा बसेर आईपीओमा आवेदन दिन सक्नेछन् । यसका लागि खाता रहेको बैङ्कले सीडीएससीसँग सम्झौता गरेर उक्त सफ्टवेयरको सुविधा लिनु पर्नेछ । यसपछि शुरूमा बैङ्कमा निश्चित शुल्क वा निःशुल्कमा पहिलोपटक ग्राहकले आईपीओको आवेदन भरेपछि बैङ्कले भेरिफिकेशन गर्छ । बैङ्कले उक्त ग्राहकको भेरिफिकेशन गरेपछि पटकपटक उक्त ग्राहक बैङ्क जानु पर्दैन । बैङ्कले एउटा कोड नम्बर दिन्छ । उक्त कोड नम्बरको आधारमा ग्राहकले ‘मेरो शेयर डट कम’मा लगइन गर्नुपर्छ । यसमा कुन कुन आईपीओ खोलेको छ भन्नेबारे लिङ्क हुन्छ । यसमा आफूले कुनमा, कति कित्ता आईपीओ भर्ने हो, त्यो खुलाउनुपर्छ । यसरी लगानीकर्ताको आवेदन पूरा हुन्छ । यो सफ्टवेयरले यसरी सहज, छिटोछरितो तरीकाले आईपीओ भर्न सक्नेछन् । एकजना आवेदकले एउटा निष्कासनमा एक पटकमात्र आवेदन दिन सक्ने छन् । उक्त सफ्टवेयरमा पहिले नै आवेदकको तीनपुस्ते, डिम्याट खाता नम्बर, बैङ्क खाता नम्बर र नागरिकता नम्बर हुने भएकाले एकै जनाले दोहोर्‍याएर आवेदन दिन खोजे सफ्टवेयरले रद्द गर्छ । आर्थिक   अभियान दैनिकमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved