युवती प्रयोग गरी व्यापारीको अपहरण, हिँड्न नसकेपछि हत्या

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 01, 2017 | 07:28:54 AM मा प्रकाशित

laxmi  sunrise bank

दाङ तुलसीपुरका प्रतिष्ठित व्यवसायी राजकुमार श्रेष्ठको फिरौती (पैसा) का लागि अपहरण गरी हत्या भएको पाइएको छ । जेठ २६ गते बेलुका युवती प्रयोग भई पैसा असुल्न अपहरणकारीले अपहरण गरेको र अपहरणमा आपराधिक गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ ।

अपहरण तथा हत्यामा १० जना प्रत्यक्ष र ८ जना अप्रत्यक्ष रूपमा संलग्न रहेको प्रहरीले बताएको छ । संलग्न सबै आपराधिक गतिविधिका रहेका र घटनाका योजनाकार भारतमा रहेको प्रहरी अनुसन्धानमा खुलेको राप्ती अञ्चल प्रहरी प्रमुख ज्ञानविक्रम शाहले जानकारी दिनुभयो । उहाँले मुख्य योजनाकार चार जना भारतमा रहेको बताउनुभयो ।

प्रहरीको क्रियाशीलता र अनुसन्धानले घटना विवरण पत्ता लगाएको र संलग्न कास्की, धादिङमा समेत रहेको प्रहरीले बताएको छ । अनुसन्धानमा सबै कुरा पत्ता लागे पनि २९ गते नै श्रेष्ठको हत्या गरेकाले बचाउन नसकिएको उहाँले बताउनुभयो । ‘तीन दिन जंगलमा केही खाना नदिएर हिँडाएको र हिँड्न नसकेपछि श्रेष्ठको हत्या गरी खोल्सामा लुकाएको पायौं’, शाहले भन्नुभयो, ‘विभत्स तरिकाले हत्या गरी भारत गई योजनाकारले फिरौती मागेका छन् ।’

‘श्रेष्ठको परिवारसँग भारतीय नम्बरबाट फोन गरी तीन करोड रुपैयाँ फिरौती मागिएको रहेछ’, प्रमुख शाहले भन्नुभयो, ‘घरबाट श्रेष्ठसँग दोहोरो कुरा गर्ने भने पनि अपहरणकारी पछि सम्पर्कमा आएनन् ।’

अपहरणकारीले श्रेष्ठलाई अपहरण गरेको तीन दिनमै मारिसकेका रहेछन् अनुसन्धानमा खटिएका सिआइबीका एसपी दिवस लोहनीले भन्नुभयो, ‘घटनामा संलग्न एक जनाको सहयोगमा हत्या भएको ठाउँसम्म पुगेर शव भेटेका हौं ।’ प्रहरीलाई अविराल महतराले घटनास्थल पुर्‍याएका थिए । श्रेष्ठ हत्याकाण्डमा संलग्नको दाङ प्रहरीले पहिचान गरेको र केहीलाई पक्राउ गरी सार्वजनिक गरको छ । प्रहरीले अपहरण र हत्यामा संलग्न भएको भन्दै चार जनालाई सार्वजनिक गरेको हो । मुख्य योजनाकार नजिक पुगेको प्रहरीले बताएको छ ।

प्रहरीले रोल्पा जमकोटका मनबहादुर पुन (रमेश), दाङ पवननगरका रुगत थापामगर, तुलसीपुर १२ का अभिरल महतरा र घोराहीकी जुमा पुनलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले घटनाको मुख्य योजनाकार तुलसीपुर ६ की १७ वर्षकी पूजा घर्ती, तुलसीपुर १२ का मानबहादुर भण्डारी, निर्मल भनिने टीकाराम घर्ती रहेको दाबी गरेको छ । छुट्टै गिरोह पनि हुन सक्ने भन्दै अनुसन्धानलाई निरन्तर राखिएको प्रहरीले बताएको छ । श्रेष्ठलाई अपहरणमा योजनाकारमध्येकै पूजा घर्ती प्रयोग भएको एसपी लोहनीले बताउनुभयो ।

पक्राउ परेका अपहरणमा संलग्न व्यक्तिको बयानका आधारमा शुक्रबार प्रहरीले सल्यान भिम्पेको झिम्पेरेन्ज जंगलको ओडारमा लुकाएर राखेको अवस्थामा शव फेला पारेको थियो । उनीसँगै अपहरणमा परेका भनिएका रणबहादुर घर्ती २८ गते नै अपहरणमुक्त भए पनि अहिलेसम्म सार्वजनिक नभएकाले उनीबारे पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

व्यवसायी अपहरणको सिलसिला

जेठ २६ मा तुलसीपुरका प्रतिष्ठित व्यवसायी राजकुमार श्रेष्ठ अपहरणमा पर्नुभयो । घरबाट रोटरी क्लबको बैठकमा जान हिँडेका श्रेष्ठलाई बाटोबाटै अपहरण गरियो । उहाँको शव अपहरण भएको २२ दिनपछि सल्यानको छत्रेश्वरी गाउँपालिका ४ को झिम्पेरेन्जको जंगलको ओडारमा सडेको अवस्थामा शुक्रबार भेटिएको छ ।

अपहरणपछि हत्या गरेर अपहरणकारीले उनको हत्या गरी जंगलमा लुकाएर राखेको अवस्थामा फेला परेको छ । श्रेष्ठ अपहरण भएको एक महिनाअघि तुलसीपुरकै अर्का व्यवसायी रत्नबहादुर ओली पनि त्यही प्रक्रियाले बेपत्ता भएका थिए । उनी बेपत्ता भएको २८ औं दिनमा घोराहीको चौपट्टा जंगलमा शव भेटिएको थियो । ०६७ साल साउन ६ गते तुलसीपुरकै प्रतिष्ठित व्यवसायी सञ्चार उद्यमी देवीप्रसाद धिताल (हेमराज) को दिउँसै गोली हानी हत्या गरियो ।

तुलसीपुरकै व्यवसायी जागेश्वर डाँगीको पनि त्यसै गरेर हत्या गरियो । व्यवसायी हत्याको क्रम राजकुमारसम्म आइपुगेको छ । घटना घटाउने तर दोषी पहिचान नहुँदा अपराधीले क्रियाशीलता र बढवा पाएको भन्दै जिल्लाका व्यवसायी त्रसित भएका छन् । केही वर्षयता जिल्लामा भएका यी सबै घटना व्यवसायीकेन्द्रित देखिएका छन् । जिल्लामा शृंखलाबद्ध तरिकाले व्यवसायी अपहृत हुने र हत्या भइरहँदा व्यवसायीले असुरक्षित महसुस गरिरहेका छन् । आपराधिक कार्यमा गिरोह नै सक्रिय भएको हुन सक्ने अनुमान गरिएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा गोपाल शर्माले खबर लेखेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved