के हुँदैछ माओवादी केन्द्रमाः किन कार्यालय जाँदैनन् माओवादी नेताहरु ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 04, 2017 | 08:19:43 AM मा प्रकाशित

laxmi  sunrise bank

माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरू बैठक वा औपचारिक कार्यक्रमबाहेक केन्द्रीय कार्यालय टेक्दैनन् । केन्द्रीय कार्यालय सञ्चालन र व्यवस्थापनको जिम्मेवारी पाएकाबाहेक अन्य नेता आक्कलझुक्कल मात्र कार्यालय पुग्छन् ।  ‘शीर्ष नेताहरू पार्टी कार्यालय त्यत्ति आउनुहुन्न’, केन्द्रीय कार्यालय व्यवस्थापनको जिम्मेवारी पाएका एक नेताले भने, ‘आइहाले पनि बैठक वा केही कार्यक्रम पर्नै पर्छ।’

नेताहरू पार्टी कार्यालयभन्दा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को लाजिम्पाटस्थित निवासमा बाक्लै पुग्ने गरेका छन् । अध्यक्ष दाहालले पनि कतिपय महत्वपूर्ण बैठक, कार्यक्रम निवासबाटै सञ्चालन गदै आउनुभएको छ । प्रधानमन्त्री भएको नौ महिनाको अवधिमा पार्टी कार्यालयमा दाहालको उपस्थिति न्यून देखिएको छ । उहाँ प्रधानमन्त्री पदबाट हटेपछि पनि नपुगेको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ।

नेता नारायणकाजी श्रेष्ठ पनि कमै मात्र कार्यालय पुग्ने नेतामा पर्नुहुन्छ । श्रेष्ठ पार्टी केन्द्रीय कार्यालयको बैठक र आफूले सम्हाल्दै आएको अन्तर्राष्ट्रिय विभागको बैठकका लागि मात्र कार्यालय पुग्ने गर्नुभएको छ । अर्का नेता कृष्णबहादुर महरा तीन वर्षअघिसम्म नियमित कार्यालय जानुहुन्थ्यो । अहिले उहाँ पनि जान छोड्नुभएको छ । महरा मन्त्री बनेयता औपचारिक कार्यक्रमबाहेक अन्य बेला केन्द्रीय कार्यालय पुग्नुभएको छैन।

देव गुरुङ, वर्षमान पुन, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी, हरिबोल गजुरेललगायत नेता पनि कमै मात्र कार्यालय जाने नेतामा पर्नुहुन्छ । नेताहरुको न्यून उपस्थितिले पनि स्थानीय तह निर्वाचनमा आशा गरेअनुरुप परिणाम नआएको गुनासो कार्यकर्ताको छ । केपी शर्मा ओली नेतृत्वको सरकारदेखि राज्य सञ्चालनमा महत्वपूर्ण हिस्सा लिँदै आएको माओवादीका नेताले आमजनताको दैनिक कार्य र मुलुकको विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न नसकेको केन्द्रीय सचिवालयस्तरकै एक नेता स्वीकार गर्छन्।

बस्नलाई कोठै छैन

माआवादी पार्टीहरूबीच गत वर्ष पार्टी एकता भए पनि केन्द्रीय कार्यालयमा शीर्ष नेताहरु बस्ने कोठासमेत व्यवस्थापन हुन सकेको छैन । कुन कोठामा कुन नेता बस्ने भन्ने अहिलेसम्म टुंगो नलागेको पाइएको छ । अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता पम्फा भुसाल र केन्द्रीय कार्यालयका मुख्य सचिव प्रल्लाद बुढाथोकीलाई मात्र कोठाको व्यवस्था गरिएको छ । नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, देव गुरुङ, कृष्णबहादुर महरा, वर्षमान पुनलगायत नेताको ‘नेमप्लेट’ बनाइए पनि कोठा टुंगो नलागेका कारण थन्काएरै राखिएका छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved