कतार जाने ८० प्रतिशत घटे

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 06, 2017 | 08:48:59 AM मा प्रकाशित

laxmi  sunrise bank

कतारमा उत्पन्न पछिल्लो परिस्थितिका कारण त्यहाँ जाने नेपाली श्रमिकको सङ्ख्या ह्वात्तै घटेको छ ।  नेपालबाट कतार जानका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या घटेसँगै त्यहाँ जाने नेपाली श्रमिकको सङ्ख्यामा घटेको सरकारले जनाएको छ ।  कतार नेपालीका लागि आकर्षक गन्तव्य रहँदै आएको छ ।  पछिल्लो एक डेढ वर्षयता नेपालबाट वैदेशिक रोजगारका लागि साउदी अरब गएको देखिन्छ भने दोस्रो रोजगार गन्तव्यमा कतार रहेको छ ।

नाकाबन्दीपछि कतार कामदार पठाउने म्यानपावर एजेन्सी र कामदार पनि पर्ख र हेरको अवस्थामा छन् ।  नाकाबन्दीले तत्कालै अर्थतन्त्रमा असर नपरे पनि केही महिनाभित्रै समस्या समाधान नभए कतारमा सङ्कट आउने त्रासले कामदार जान कम भएको बताइएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार अघिल्लो वर्षको असारको तुलनामा यो असारमा कतारमा रोजगारीका लागि जाने नेपाली श्रमिकको सङ्ख्या ८० प्रतिशतभन्दा कम भएको छ ।

अघिल्लो वर्षको असार महिनामा औषतमा दैनिक एक हजार ४०७ जनाले कतार जानका लागि श्रमस्वीकृति लिएकोमा यो वर्ष असारमा औषतमा दैनिक ३४९ जनाले मात्रै श्रमस्वीकृति लिएका छन् ।

विभागका अनुसार अघिल्लो वर्ष असारमा ४३ हजार ५२५ जनाले श्रम स्वीकृति लिएकोमा यो वर्षको असार १५ गतेसम्म जम्मा पाँच हजार २४३ जनाले मात्रै कतार जानका लागि श्रम स्वीकृति लिएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष विमल ढकालले कतारमा पछिल्लो समयमा उत्पन्न परिस्थतिले गर्दा त्यहाँ जाने श्रमिक, पठाउने व्यवसायी र श्रमिकको माग गर्ने कतारका कम्पनी सबै हेर र पर्खको अवस्थामा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, कतारमा उत्पन्न परिस्थतिपछि त्यहाँबाट फाटफुटबाहेक नयाँ कामदारको माग पनि आएको छैनन, अहिले जति पनि कतारमा गएका छन, पहिले आएका मागका लागि श्रमस्वीकृति लिएर गएका हुन् ।

अध्यक्ष ढकालले कतारमा अहिलेसम्म रोजगारीमा गएका कुनै पनि नेपाली श्रमिक समस्या नपरे पनि यो अवस्था लामो समय रहिरहेमा खाद्यान्नलगायतको समस्या हुनसक्ने भएकाले व्यवसायी पनि तत्काल कतारमा कामदारको माग ल्याएर पठाउने पक्षमा नभएको प्रतिक्रिया दिनुभयो ।

विभागका निर्देशक मोहन अधिकारीले अघिल्लो वर्ष असार महिना र यो वर्षको असारमा कतार जानका लागि श्रमस्वीकृति लिनेको विवरण विश्लेषण गर्दै यो वर्ष कतार जानलाई श्रमस्वीकृति लिनेको सङ्ख्या घटेको जानकारी गराउनुभयो ।   उहाँका अनुसार गएको १३ गतेदेखि १९ गतेसम्म कतार जानका लागि श्रम स्वीकृतिको सङ्ख्या क्रमशः ४७९, ४००, ३२२, ३९०, ३६१, ३९२  रहेको छ ।  जबकि अघिल्लो वर्षको असारमा भने औषतमा दैनिक एक हजार ४०० भन्दा बढीले श्रमस्वीकृति लिएका थिए ।

गएको जेठ २२ गते इजिप्ट, बहराइन, यमन, लिबिया, साउदी अरेबिया, दुबई र माल्दिभ्सले कतारसँग कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका थिए ।  त्यसपछि कतारको हवाई सेवामा पनि असर परेको थियो ।  विभागका निर्देशक अधिकारीले श्रम स्वीकृति लिएकामध्ये कति जना कतारका लागि उडे भन्ने जानकारी विभागमा नआउने भएकाले ठ्याक्कै भन्न नसकिने बताउनुभयो ।

कतारबाट खाडी मुलुकहरूले कूटनीतिक सम्बन्धविच्छेदपछि नेपाली समस्यामा परेको कुनै पनि किसिमको खबर नआए पनि त्यहाँ जान चाहने श्रमिक ढुक्क भएर जान सक्ने वातावरण नरहेको वैदेशिक रोजगार विज्ञहरू बताउँछन ।

वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङले कतारमा एक महिना हुँदासमेत त्यहाँ उत्पन्न समस्या समाधान हुन नसकेकाले कतारमा तत्काल थप नेपाली कामदार पठाउनु उचित नभएको बताउनुभयो ।  नेपालीको प्रमुख श्रम गन्तव्य मुलु्क कतारमा अहिलेको समस्याको प्रभाव अबको चार÷पाँच महिनापछि मात्रै देखिने उहाँको भनाइ छ । गोरखापत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved