कहाँ छन् माओवादी नेताका गाडी ?: कार्यालयसँग छैन विवरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 07, 2017 | 08:13:53 AM मा प्रकाशित

laxmi  sunrise bank

शान्ति प्रक्रियामा आउँदा दर्ता छुट दिइएका गाडी माओवादी नेताले आफूखसी प्रयोग गर्दै आएका छन् । सरकारले १० वर्षअघि माओवादी लडाकूलाई ५७, नेतालाई ३५ र केन्द्रीय कार्यालयलाई दुई गरी ९४ वटा गाडी दर्ता छुटमा उपलब्ध गराएको थियो ।

माओवादीले ती गाडी पार्टी केन्द्रीय कार्यालयको सम्पत्तिका रूपमा नेताका नाममा दर्ता गराएको थियो । तर, अहिले ती गाडी कुन अवस्थामा छन् भन्ने विवरण माओवादी केन्द्रीय कार्यालयसँग छैन । २०७२ साल फागुनमा बसेको माओवादी स्थायी समिति बैठकले पार्टीका सम्पत्ति पार्टी केन्द्रीय कार्यालयमा अभिलेखीकरण गर्ने निर्णय गरे पनि अहिलेसम्म केन्द्रीय कार्यालयले त्यसको रेकर्ड राख्न सकेको छैन ।

कहाँ छन् ती गाडी ?

९४ गाडीमध्ये ५७ वटा माओवादी लडाकु नेपाली सेनामा समायोजन हँुदा शान्ति मन्त्रालयमा बुझाइएको माओवादी नेता बताउँछन् । बाँकी ३७ गाडी भने अहिले विभिन्न समूहमा विभाजित माओवादी नेतासँगै छ । त्यसमध्ये २६ माओवादी केन्द्र, चार मोहन वैद्यको क्रान्तिकारी माओवादी, तीनवटा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका नेतासँग र चारवटा नेत्रविक्रम चन्दको पार्टी नेकपाका नेतासँग छन् ।

कतिपय माओवादी नेताले यो अवधिमा राज्यका तर्फबाट गाडी सुविधासमेत पाएका छन् । त्यसरी सुविधा पाएपछि पार्टी बैठकले दोहोरो सुविधा नलिन निर्देश गरेको थियो । तर, त्यो निर्देशन कार्यान्वयन नभएको माओवादी नेता बताउँछन् ।

‘दुई वर्षअघि नै स्थायी समितिले दोहोरो सुविधा लिइरहेका नेताहरूलाई आफूले प्रयोग गरिरहेका पार्टीको नामका गाडी केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिएको थियो तर दोहोरो सुविधा पाएका नेताले नै बुझाउनुभएको छैन’, केन्द्रीय कार्यालयका अर्का एक नेताले भने ।

पार्टी बैैठकको निर्णय कार्यान्वयन गर्ने हो भने अहिले सरकारमा सहभागी उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जर्नादन शर्मालगायत नेताले आफूसँग रहेको गाडी केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने थियो । यसअघि मन्त्री भएका नेताहरूले पनि नबुझाएपछि महरा र शर्माले पनि कार्यालयमा गाडी बुझाउनुभएको छैन । माओवादी स्रोतका अनुसार पार्टीको गाडी लगेको र राज्यबाट पनि सुविधा पाइरहेका नेताले प्रदेश कार्यालय र पार्टीकै काममा प्रयोग हुँदै आएको बताएर केन्द्रीय कार्यालयमा बुझाएका छैनन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई पूर्वप्रधानमन्त्रीको हैसियतमा राज्यले गाडी सुविधा दिएपछि उहाँले चढ्दै आएको गाडी नेता नारायणकाजी श्रेष्ठले प्रयोग गरिरहनुभएको छ । नेताहरूले मर्मतमा ध्यान नदिँदा अधिकांश गाडी अहिले प्रयोग गर्न छाडेका छन् । चक्रपाणि खनाल, जर्नादन शर्मा, लेखराज भट्ट, हितमान शाक्यलगायत नेताले अहिले गाडी प्रयोग गर्न छाडनुभएको छ । ‘कन्डिसनभन्दा बाहिर रहेको र प्रयोगहीन अवस्थामा पुगेका कारण गाडी चढिँदैन’, एक नेताले भने, ‘मर्मत खर्च धान्नै नसकिने भएपछि चढ्नै छाडिदिएको छु ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved