धानलाई तरकारी खेतीले जित्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 07, 2017 | 08:19:15 AM मा प्रकाशित

laxmi  sunrise bank

रूपन्देही जिल्लाको देवदह क्षेत्रका कृषकहरू तरकारी खेतीतर्फ आकर्षित भएका छन् । अन्नबाली भन्दा राम्रो आम्दानी भएपछि कृषकहरू मौसमी तथा बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।

अन्नबालीभन्दा दुईदेखि दश गुणासम्म बढी आम्दानी हुने भएका कारण अन्नबालीको सट्टा आफ्नो चार कट्ठा जमिनमा तरकारी खेती व्यावसायिक रूपमा गर्न थालेको देवदह–७ बुद्धनगरका कृषक तुलाराम पाण्डे बताउनुहुन्छ । उहाँका अनुसार बेमौसमी टमाटर खेतीबाट अन्नबालीभन्दा झण्डै २० गुणासम्म बढी आम्दानी हुन्छ ।  ब्रोकाउली, बन्दा, काउली, काँक्रा, फर्सी लगायतका बालीहरू मिलाएर लगाउने हो भने वार्षिक धानबाहेक प्रतिकट्ठा तीस हजारभन्दा बढी आम्दानी लिने गरेको कृषक पाण्डे बताउनुहुन्छ ।  देवदह–३ सरहनबारीका कृषक मानबहादुर गाहा भने तरकारी खेतीबाट अन्नबालीको तुलनामा ५ देखि १० गुणा बढी आम्दानी हुने गरेको बताउनुहुन्छ ।

अहिले देवदहको सरनबारी, बुद्धनगर, बङ्गाली, कोलुवा, सटाकखोलालगायतका स्थानमा कृषकले अन्नबालीको साटो तरकारी खेती गर्दै आइरहेका छन् ।उता तरकारी खेती गर्दा पर्याप्त प्राविधिक सहयोग नपाएको र उचित बजारको व्यवस्था नभएको कृषकको भनाइ रहेको छ ।

सिजनमा आफ्नो लागत मूल्य बराबरमा तरकारी बिक्री गर्नुपरेको देवदह–३ सरनबारीका कृषक गाहा बताउनुहुन्छ ।  बेमौसमी तरकारीबाट भने अन्नबालीको तुलनामा २० गुणासम्म आम्दानी हुने गरेकोे कृषकको दाबी रहेको छ ।

अर्गानिक तरकारीको पकेट क्षेत्रका रूपमा विकास भइराखेको सरनबारी क्षेत्रमा उत्पादित तरकारीले फरक मूल्य पाउन नसकेको कृषकको भनाइ रहेको छ ।

उचित प्राविधिक सहयोग र बजारको व्यवस्था राम्रो बनाउन सहयोग गर्ने हो भने देवदह क्षेत्र तरकारी खेतीका लागि पकेट क्षेत्र हुनुका साथै देवदहका कृषकको आर्थिक उन्नतिसमेत हुनसक्ने उनीहरू बताउँछन् । गोरखापत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved