बिक्न छाडे चियाका बिरुवा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 09, 2017 | 07:43:16 AM मा प्रकाशित

laxmi  sunrise bank

 पूर्वका अधिकांश जिल्लामा चिया खेतीको विस्तार कम हुन थालेपछि चियाका बिरुवा बिक्न छाडेका छन् । चियामा लगानीभन्दा आम्दानी कम हुँदै जान थालेपछि चिया रोप्ने किसानको संख्या घटेसँगै यसको बिरुवाको मागसमेत घटेको हो ।  बिरुवाको माग हुन छोडेपछि इलामका विभिन्न क्षेत्रका किसानले राखेका नर्सरीमा चियाको बिरुवा बढेर झाडी बन्न थालेका छन् ।  बर्सेनि चियाको बजारमा समस्या बढ्न थालेसँगै चियाको बिरुवा बिक्न छोडेको इलामको सूर्योदय नगरपालिका–६ तारगाउँका चिया नर्सरी सञ्चालक गणेश भुजेलले बताउनुभयो ।  आफ्नो नर्सरीमा चार वर्षदेखिको बिरुवा एउटा पनि नबिकेको जानकारी दिंदै भुजेलले भन्नुभयो– ‘पहिला १० रुपियाँ प्रतिगोटासम्ममा बेचेको बिरुवा अहिले डेढ रुपियाँमा पनि बिक्न छोड्यो । ’ पाँच वर्षदेखि चियाको बिरुवा उत्पादन गरिरहनुभएका भुजेलको नर्सरीमा अहिले सात हजारभन्दा बढी चियाका बिरुवा तयार छन् ।  नर्सरी राखेको दोस्रो वर्ष छिटफुटरूपमा बिरुवा बिक्री भएको भए पनि अहिले कतैबाट पनि बिरुवाको माग नआएको भुजेलले बताउनुभयो ।  गणेश भुजेल मात्र होइन सोही गाउँका रुद्र भुजेल, मुकुन्द पौडेल, श्याम पौडेल, इन्द्र पौडेल, दिलीप राईलगायत ८० जनाभन्दा बढी किसानको नर्सरीमा रहेका चियाका बिरुवा नबिक्दा त्यसै हुर्किएर झाडी बन्दै गएका छन् ।  सूर्योदय नगरपालिका–६ तारगाउँमा मात्र एक लाख ५० बजार हाराहारी चियाको बिरुवा तीन÷चार वर्षदेखि नबिकेर खेर गइरहेको जानकारी दिंदै चिया किसान तथा नर्सरी सञ्चालक रुद्र भुजेलले भन्नुभयो, मेरो नर्सरीमा मात्र १७ हजार जति चियाको बिरुवा छन्, यहाँका धेरैको नर्सरीमा आठ हजारभन्दा माथि नै बिरुवा छन्, तर अहिले कसैको पनि बिरुवा बिकेको छैन ।

विगतमा पूर्वका जिल्लालगायत पश्चिमका जिल्लाबाट समेत ठूलो परिमाणमा चियाको बिरुवा माग भएकाले नर्सरी सञ्चालनमा हौसिएका किसान अहिले बिरुवा नबिकेपछि समस्यामा परेको अर्का नसरी सञ्चालक मुकुन्दै पौडेल बताउनुहुन्छ ।  चार वर्षअघि धनकुटा, पाँचथर र पश्चिमका जिल्लाहरूबाट समेत चियाको बिरुवा इलामबाट जाने गरेको बताउँदै गणेश भुजेल भन्नुहुन्छ, अहिले यहाँबाट चिया लगिएका जिल्लामा नै नर्सरी समेत स्थापना भएपछि हाम्रो बिरुवाको माग हुनै छाड्यो ।  सुरुसुरुमा एक वर्षकै बिरुवा पनि हारालुछ गरी किनिने गरेको जानकारी दिंदै गणेश भुजेल भन्नुहुन्छ, पहिला बिरुवाको हर्जा हुँदा सानै बिरुवा पनि हारालुछ हुन्थ्यो, अहिले जताततै नर्सरी भएर पनि होला बिरुवा बिक्न छाडेको ।  चिया खेतीसमेत गर्दै आउनुभएका भुजेल बगानमा मरेका पूराना बोटको ठाउँमा रोप्नका लागि अलिकति बिरुवा राखेर नर्सरी मास्न लागेको बताउनुहुन्छ ।

चिया खेतीमा सबैको आकर्षण भएका बेला नर्सरी राख्नुभएका गणेश भुजेल अब आफैँलाई चाहिने बिरुवा राखेर अरू जमिनमा तरकारी खेती गर्ने सोचमा हुनुहुन्छ ।  चिया नसरी राखेका तारगाउँका धेरै किसानले अहिले लहलह बनेको चियाको नर्सरी फाड्नुका साथै सिंचाइको सुविधा भएको स्थानमा चियाको बगान बीचमै अलैंची खेती लगाउन थालेका छन् ।  १० रोपनीमा गरेको चियाको नर्सरीले व्यर्थैमा जग्गा मात्र ओगटेको बताउँदै रुद्र भुजेल भन्नुहुन्छ, धेरैले चिया नर्सरी फाँडेर इस्कुस, काँक्रा, खुर्सानी खेती लगाएका छन् ।  चियाको बिरुवा बिक्ला भनेर पर्खनुभन्दा त अन्य खेती लगाउनु नै पो बेस रहेछ । ’

सूर्योदय नगरपालिका मात्र होइन यहाँकै कोल्बुङ्ग, देउमाई नगरपालिकाको जीतपुर, माइपोखरीलगायतका क्षेत्रमा किसानले दर्जनौ चिया नर्सरी चलाइरहेका छन् ।  जिल्लामा खोलिएका चियाको नर्सरीहरूमा छिटफुटबाहेक ठूलो परिमाणमा बिरुवाको माग आउन छोडेको नर्सरी सञ्चालक बताउँछन् ।  जिल्लामा अग्र्यानिक चियाको माग हुनु, चिया कारखानाको ‘मर्जी’ मा मात्र किसानले हरियोपत्तिको मूल्य पाउने अवस्था रहेकाले किसानले चिया खेती विस्तार गर्न छोडेको किसान मुकुन्द पौडेल बताउनुहुन्छ ।  चिया नर्सरी किसान मात्र होइन वर्षौंदेखि व्यावसायिक रूपमा चिया खेती गर्दै आएकाले समेत लगानी अनुसार आम्दानी हुन छाडेपछि केही वर्षयता चिया बगान फाँड्दै अन्य खेती थालेका छन् ।

सूर्योदय नगरपालिका आठघरेकै विनोद गड्तौलाले चिया खेतीबाट आशलाग्दो आम्दानी नभएपछि जग्गा नै बेचेको बताउनुभयो ।  ‘हरियोपत्तिको भाउ कहिल्यै भने जस्तो नआएपछि आफूले दुई वर्षअघि नै बगान बेचेको गड्तौलाले बताउनुभयो ।  चियाले खानै नपु¥याएपछि बारी बेचेर खेत किनेको विनोदले बताउनुभयो ।

चिया खेतीबाट वाक्क बन्नुभएका गड्तौलाले जग्गा बिक्री मात्रै होइन मस्त उत्पादन दिने चियाको बोट मासेर घाँस लगाउनुभएको छ ।  ‘२०५२ सालमा लगाएको चार रोपनी चिया मासेर घाँस लगाएको छु’ –उहाँले भन्नुभयो ।  ‘बरु रूख बिरुवा रोपियो भने फाइदा हुन्छ । ’ अहिले चिया खेती सन्तोषजनक हुन छोडेपछि परम्परागत खेतीमै फर्किने किसान बढिरहेका छन् ।  डेढ शताप्दीदेखि चिया खेती थालिएको इलाममा अहिले तीन दर्जनको हाराहारीमा ठूला चिया कारखाना छन् ।  त्यस्तै डेढ सयभन्दा बढी साना चिया कारखाना सञ्चालनमा छन् ।  २३ हजारभन्दा बढी किसानले चिया खेती गरिरहेका छन् ।  जिल्लामा अहिले छ हजार ५८१ हेक्टरमा चिया विस्तार गरी वार्षिक दुई हजार १० मेट्रिक टन तयारी चिया उत्पादन हुँदै आएको छ ।  गोरखापत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved