के हो साउन १ गतेदेखि लागु हुने ‘क्लिन फिड’ ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 11, 2017 | 07:54:20 AM मा प्रकाशित

laxmi  sunrise bank

टेलिभिजन च्यानलमा विज्ञापन रहित(क्लीन फिड) नीति लागू गरे प्रसारण नै बन्द गर्ने व्यवसायीको चेतावनीपछि पनि सरकार पहिलेको निर्णयबाट पछि नहट्ने भएको छ ।  सरकारको नीतिगत निर्णय भएका कारण पूर्व निर्धारित समय अनुसारनै क्लीन फिड लागू गर्ने तयारी रहेको सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले बताउनुभयो ।  क्लीन फिड लागू गर्ने सरकारको नीतिगत निर्णय हो, उहाँले भन्नुभयो, नीतिगत व्यवस्था फेरिरहने भन्ने कुरा हुँदैन ।  उहाँका अनुसार साउन एक गतेबाट नै यो नीति कार्यान्वयनमा आउनेछ ।

स्वदेशी टेलिभिजन तथा विज्ञापन एजेन्सीलाई प्रोत्साहित गर्ने उद्देश्यसहित सरकारले गत वर्ष क्लीन फिडको प्रस्तावसहित आमसञ्चार नीति पारित गरेको थियो ।  विदेशी संस्कृतिको नकारात्मक प्रभाव रोक्न तथा स्वदेशी विज्ञापन बजारको विस्तारका लागि पनि नीति आवश्यक रहेको सरकारको ठहर थियो ।  सरकारले आगामी आर्थिक वर्ष २०७४÷७५ मार्फत नै साउन एक गतेदेखि क्लीन फिड लागू हुने घोषणा पनि गरिसकेको छ ।

क्लीन फिड नीति लागू गर्ने समय नजिकिदँै गर्दा नेपाल केबल टेलिभिजन महासङ्घ, नेपाल केबल टेलिभिजन व्यवसायी महासङ्घ र डिस होम नेपालले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै डीटीएच कम्पनी केवल टेलिभिजनबाट प्रसारण हुँदै आएका सबै किसिमका च्यानल बन्द गर्ने चेतावनी सरकारलाई दिएको थियो ।  नेपालमा ९५ प्रतिशत विदेशी च्यानल विज्ञापन सहितका रहेको अवस्थामा यहाँका लागि छुट्टै फिड उपलब्ध नरहेकोले विज्ञापनरहित च्यानल प्रसारण गर्न सम्भव नरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  त्यस्तै क्लीन फिड लागू भएमा उपभोक्ताले प्रसारित च्यानलको शुल्क भुक्तान पनि गर्न सक्ने अवस्था नरहने संयुक्त विज्ञप्तिमा जनाइएको छ ।  अहिले दुई÷तीन सयमा टेलिभिजन हेरिरहेका दर्शकले क्लीन फिड लागूभएपछि मासिक दुई हजार तिरेर टेलिभिजन त हेर्दैनन् नि, नेपाल केबल टेलिभिजन महासङ्घका अध्यक्ष सुधिर पराजुलीले भन्नुभयो ।  विज्ञापनरहित टेलिभिजन च्यानल भारतले पनि उपलब्ध गराउन नसक्ने र नेपाली उपभोक्ताले पनि यसको भार व्यहोर्न नसक्ने भएकोले यो नीति नेपालमा लागू गर्न सम्भव नरहेको उहाँको भनाइ छ ।

यसअघि भारतीय प्रसारण फोरम(आईबीएफ)ले पनि नेपालमा तत्काल क्लीन फिड लागू गर्न सम्भव नभएकोले यसको मिति सार्नुपर्ने धारणासहितको विज्ञप्ति जारी गरेको थियो ।  आईबीएफको एक टोलीले नेपाल सरकारका प्रतिनिधिलाई भेटेर नीति लागू नगर्न लबिङ गरेको थियो ।  सरकारले भने पूर्वनिर्धारित समयमै यसलाई लागू गर्ने अडान कायम राखेको छ ।  क्लीन फिड नीति तत्काल लागू गर्न समस्या रहे पनि विस्तारै कार्यान्वयन गर्न सकिने भएकोले नेपालका लागि यो नितान्त आवश्यक रहेको नेपाल विज्ञापन सङ्घका अध्यक्ष सन्तोष श्रेष्ठको भनाइ छ ।  बीबीसी, सीएनएनजस्ता विज्ञापनरहित टेलिभिजन नेपालमा प्रसारण हुन सक्ने अरु किन नसक्ने ? उहाँको प्रश्न छ ।  क्लीन फिड लागू भएसँगै हालको पाँच अर्ब बराबरको नेपाली विज्ञापन बजार एक वर्षमै दोब्बर हुने र यसले राजस्व पनि बढाउने उहाँले जानकारी दिनुभयो ।  नेपालमा पैसामात्र तिरेर हेर्नुपर्ने च्यानलमात्र नभएर निःशुल्क हेर्न सकिने ‘फ्रि टू वायर’ च्यानल पनि रहेकोले सबै च्यानल बन्द हुने भ्रममा नपर्न उहाँले आग्रह गर्नुभयो ।

के हो क्लीन फिड ?

विज्ञापन रहित टेलिभिजन च्यानलको अवधारणा नै क्लीन फिड हो ।  यो अवधारणा अन्तर्गत दर्शकले टेलिभिजन च्यानलका ‘कन्टेन्ट’ बाहेक विज्ञापन हेर्नुपर्ने बाध्यता हुँदैन ।  विदेशी च्यानलले नेपालमा निःशुल्क विज्ञापन प्रसारण गरिरहेको र दर्शकले पनि विदेशी विज्ञापन हेर्नुपरेको बाध्यतालाई अन्त्य गर्दै स्वदेशी विज्ञापनको बजार विस्तार गर्न नेपालमा पनि यस्तो अवधारणा लागू गर्ने तयारी सरकारले गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved