अब मतगणनामा एक जनामात्र प्रतिनिधि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 12, 2017 | 07:37:31 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचनको मतगणना भइरहेको स्थानमा अब निर्वाचनको काममा खटिएका कर्मचारीबाहेक राजनीतिक दलका तर्फबाट उम्मेदवारको एक मात्र प्रतिनिधिले प्रवेश पाउने भएका छन् ।  प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकमा उम्मेदवार वा निजले तोकेको एक जना प्रतिनिधि मात्र मतगणना स्थानमा जान पाउने व्यवस्था प्रस्ताव गरेपछि यो अवस्था आएको हो ।  यसअघि निर्वाचन अधिकृतले अनुमति दिएको अवस्थामा एकभन्दा बढी प्रतिनिधि जान पाउने व्यवस्था थियो ।  तर, सङ्ख्या तोकिएको थिएन ।

मतगणना स्थलमा उम्मेदवारका प्रतिनिधिकै कारण पहिलो चरणको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको घटना नसकिँदै सरकारले संसद््मा दर्ता गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।  विधेयकको व्यवस्था अनुसार मतगणनाका क्रममा उम्मेदवारको एकभन्दा बढी प्रतिनिधि मतगणना स्थानमा बस्न पाउने छैनन् ।  सरकारका तर्फबाट गृह मन्त्रालयले मङ्गलबार संसद्मा दर्ता गरेको विधेयकमा मतगणना स्थलमा निर्वाचन अधिकृतले स्वीकृति दिने व्यक्तिको सङ्ख्या समेत तोकेको छ ।  विधेयक अनुसार मतगणना स्थानमा उम्मेदवार वा उम्मेदवारले तोकेको एक जना निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि मात्र जान पाउनेछन् ।

समानुपातिक तर्फको मतगणनामा पनि दलको निर्वाचन प्रतिनिधि वा मत गणना प्रतिनिधि मात्र जान पाउनेछन् ।  मत गणनाको काममा खटिएका व्यक्ति, आयोगबाट अनुगमनका लागि खटिएका व्यक्ति, आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, सुरक्षार्थ खटिएका कर्मचारी र आयोगले खटाएको व्यक्तिमात्र मतगणना स्थानमा जान पाउनेछन् ।

नोक्सान भएका मतपत्र अवैध

मतगणना पूरा हुनुअघि मतपत्र नोक्सान भएमा नोक्सान भएका मतपत्रलाई अवैध घोषित गरी मतदान रद्द समेत हुनसक्ने व्यवस्था विधेयकमा गरिएको छ ।  मतगणना पूरा नभई मतपत्र वा मतपेटिका निर्वाचन अधिकृतको नियन्त्रणबाट गैरकानुनी तवरले अन्यत्र लगिएमा, खोलिएमा, नोक्सान गरिएमा, तोडफोड गरिएमा, हराएमा वा दुर्घटनावश नोक्सान भएमा मतगणना स्थगित हुने व्यवस्था विधेयकमा छ ।

घटना छानबिनका लागि निर्वाचन आयोगले जाँचबुझ गठन गर्न सक्नेछ ।  आयोगको छानबिन टोलीको प्रतिवेदनले मतगणना सुचारु गर्न नसकिने अवस्था रहेको ठहर गरेमा उक्त मतदान केन्द्रका सम्पूर्ण मतपत्र अवैध घोषित गरी मतदान रद्द गर्न सक्ने व्यवस्था विधेयकमा छ ।

सरकारले मतगणना स्थान कब्जामा भने यसअघिको कानुनी व्यवस्था परिमार्जन गरेको छैन ।  यस्तै, मतदान केन्द्रको अनधिकृत कब्जाको परिभाषामा पनि यसअघिको व्यवस्थालाई नै निरन्तरता दिइएको छ ।  यस्तै, मतपेटिका नोक्सान तथा तोडफोडमा हुने कसुरलाई पनि यसअघिकै व्यवस्थालाई निरन्तरता दिइएको छ ।  विधेयकले प्राकृतिक विपत्ति वा काबुबाहिरको परिस्थितिमा मतदान स्थगित गर्ने अधिकार मतदान अधिकृतलाई नै दिएको छ । गोरखापत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved