यसरी भयो अपरिचित युवतीको प्रेमजालमा पर्दा हत्या

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 12, 2017 | 08:19:26 AM मा प्रकाशित

laxmi  sunrise bank

दाङका व्यापारी ५३ वर्षीय राजकुमार श्रेष्ठको हत्याअघि अपहरणका लागि बाबुले छोरीलाई प्रयोग गरेको खुलेको छ । ती बाबुले आफ्नी छोरीलाई नियोजितरुपमा व्यापारी श्रेष्ठसँग निकट सम्बन्ध बनाउन लगाउँदै अपहरण गरेको र अपहरणपछि हत्या गरेको प्रहरीले जनाएको छ ।

व्यापारी श्रेष्ठको अपहरण र हत्यापछि अनुसन्धानमा जुटेको प्रहरीले घटनाको एक महिनापछि बाबु छोरीलाई नै पक्राउ गरी यो तथ्य सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा टीकाबहादुर घर्तीमगर र उनकी १८ वर्षीया छोरी पूजा घर्तीमगर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई भारतको हिमाञ्चल प्रदेशस्थित सिम्लाबाट पक्राउ गरिएको हो । यद्यपी प्रहरीले ती बाबुछोरीलाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको दावी गरेको छ ।

अपहरणका योजनाकार खुमबहादुर केसीलाई भने प्रहरीले गोंगबुस्थित उनकै कोठाबाट पक्राउ गरेको हो ।राष्ट्रियस्तरमै चर्चा पाएको यो घटनाको अनुसन्धान गरी अपहरण र हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरीमाथि चर्को दबाब परेको थियो । प्रहरीले पनि यो घटनालाई प्रहरी संगठनकै प्रतिष्ठासँग जोडेर अनुसन्धान थालेको थियो । प्रहरीले यो घटनालाई लिएर फरार अभियुक्तबारे सूचना दिनको नाम गोप्य राख्ने र यसरी सूचना दिनेलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणासमेत गरेको थियो ।

यसरी बन्यो व्यापारी श्रेष्ठको अपहरण योजना

खासमा व्यापारी श्रेष्ठको अपहरणको योजना टीकाबहादुर घर्तीमगरले बनाएका थिए । चर्को ऋणमा डुबेपछि उनले तीन महिनाअघि श्रेष्ठको अपहरण गरी ठूलै रकम फिरौती लिने योजना बनाएका थिए । यो कार्यमा उनले आफ्नै छोरी पूजा, तुलसीपुर–८ का २८ वर्षीय भुपेन्द्र भण्डारी, तुलसीपुर–११ कटाहाका ३० वर्षीय खुमबहादुर केसी सल्यान झिम्पे–४ का ३५ वर्षीय मानबहादुर भण्डारीलगायत १४ जनालाई सहमत गराए । त्यसपछि बन्यो, अपहरण योजना । खुमबहादुर र भुपेन्द्र तिनै व्यक्ति हुन् जो यसअघि व्यापारी श्रेष्ठको ३० लाख रुपैयाँ लुटिएको अभियोगमा पक्राउ परेका थिए । जिल्ला अदालत घोराहीबाट केही महिनाअघि मात्र तारेखमा रिहा भएका उनीहरुलाई टीकाबहादुरले अपहरणका लागि मनाएका थिए ।

छोरी पूजालाई व्यापारी श्रेष्ठलाई प्रभावमा पार्ने जिम्मा दिइयो । त्यसपछि पूजाले झण्डै डेढ महिनादेखि लगातार श्रेष्ठलाई टेलिफोन गरी उनको मन जित्न थालिन् । व्यापारी श्रेष्ठ पूजासँग यतिसम्म नजिक भए कि उनले बोलाएको ठाउँसम्म जान पनि राजी भए ।

सोही क्रममा पूजाले २६ जेठमा पनि फोनगरी उनलाई सल्यान घुम्न जाउँ भनी प्रस्ताव गरिन् । पूजाको प्रस्तावमा श्रेष्ठ सहमत भए । त्यस दिन पूजा र व्यापारी श्रेष्ठबीच २० पटकभन्दा बढी फोनमा सम्पर्क भएको थियो । पूजाको प्रस्ताव अनुसार व्यापारी श्रेष्ठ घर पुगेर बा११च १०७१ नम्बरको कार लिएर निस्किए । पूजा भने दाङको वीरेन्द्र चोकमा कुरिरहेकी थिइन् । त्यसपछि पूजालाई गाडीमा राखेर उनी लागे सल्यानतर्फ । तर, बीच बाटैमा उनी अपहरणमा परे । करिव एक घन्टा ड्राइभ गरेर कपुरकोट भन्ने ठाउँमा पुगेपछि उनी अपहरणमा परेका थिए ।

उनी अपहरणमा परेपछि दाङको स्थानीय प्रहरी तथा केन्द्रीय अनुसन्धान व्यूरो राप्ती अञ्चल प्रहरी कार्यालयलगायतको टोली खोजबिनका लागि परिचालित भएको थियो । व्यूरोको टोलीले उनको शब फेला पारेको थियो भने अपहरणमा संलग्नमध्ये चार जना रमेश भन्ने मनबहादुर पुन, रुवत थापा मगर, अविराव महतरा र जमा पुनलाई पक्राउ गरेको थियो ।

यसरी भयो हत्या

प्रहरीका अनुसार सल्यानको जंगलसम्म अपहरणकारीले श्रेष्ठको गाडी प्रयोग गरेका थिए । अपहरण भएको तीन दिनसम्म उनलाई निरन्तर जंगलमा हिँडाएका थिए । अपहरकारीले दिनभरी लुकाउने र रातभरी हिडाउने गरेका थिए ।

अपहरणकारीले खानका लागि १० किलो चिउरासमेत लिएर गएका थिए । समयमा खान नपाएका व्यापारी श्रेष्ठ सुगर र प्रेसरका विरामी समेत भएकाले कमजोर हुदै गए र तीन दिनपछि २९ जेठमा ढले । अपहरणकारीले उपचार गर्नुको साटो हत्या गर्ने योजना बनाए । त्यसपछि ढुंगाले किची किची उनको हत्या गरे । सल्यानको छत्रेश्वरी गाउँपालिका ४ झिम्पेको लेखमा उनको हत्या भएको थियो ।

तीन करोड फिरौती माग

हत्याअघि २७ जेठमा अपहरणकारीले श्रेष्ठका परिवारलाई फोन गरेर दुई दिनको समय दिँदै तीन करोड रुपैयाँ फिरौती मागे । अपहरणकारीले श्रेष्ठको आवाजमा ‘म सञ्चै छु, मागेको रकम दिनू’ भनेर रेकर्डसमेत गराएका थिए । उनीहरुले सोही रेकर्ड परिवारलाई सुनाएका थिए ।

परिवारका सदस्यले फिरौती रकम बुझाउन मञ्जुरीसमेत जनाएका थिए । परिवारका सदस्यले एक पटक आवाज सुन्छौ उहाँसंग कुरा गर्छौ र पैसा पनि भनेजति दिन्छौ भने । तर अपहरणकारीले उनको हत्या गरि सकेकाले दोहोरो कुरा सुनाउन नसकेपछि फोन काटे र सम्पर्कमा आएनन् ।

यसरी भयो रणबहादुरको हत्या

अपहरणकारीले श्रेष्ठ मात्रै नभएर रणबहादुर घर्तीको पनि हत्या गरेका थिए । रणबहादुरको अपहरण र हत्या भने पूर्वनिर्धारित थिएन । व्यापारी श्रेष्ठलाई अपहरण गर्न सल्यानको सोलाबाङमा अपहरणकारीहरु बसेका थिए । उनीहरु खासमा व्यापारी श्रेष्ठलाई कुरेर बसेका थिए । तर, व्यापारी श्रेष्ठ भन्दा अघि रणबहादुर पुगे । घोराही निवासी उनीसँग अपहरणकारीको राम्रै चिनजान थियो । उनी एचपी ११८६४८ नम्बरको भारतीय नम्बरको गाडीमा सवार थिए । उनी रुकुमतर्फ जाँदै थिए । अपहरणकारीले सुरुमा रणबहादुरलाई नियन्त्रणमा लिए । त्यसको केही समयमा त्यहाँ आइपुगेका श्रेष्ठलाई पनि नियन्त्रणमा लिए । पोल खुल्ने डरले उनीहरुले आँखामा कालो पट्टी बाँधेर ढुङ्गाले टाउको र शरिका विभिन्न भागमा प्रहार गरी रणबहादुरको विभत्स हत्या गरेका थिए । राजधानीमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved