
‘मेरो नाम बेचेर, नक्कली स्वर निकालेर पैसा उठाउँदै हिँड्नेलाई कारवाही गरिपाऊँ भनेर जति कराउँदा पनि कारबाही भएन । स्वर नक्कली, काम नक्कली, कारवाही पनि नक्कली ! यो के चाला हो ?’
यसो भन्दै बैठकमा उपाध्यक्ष वामदेव गौतम कड्किएपछि नेताहरु आपसमा हेराहेर गर्न थाले । किनभने, सबैलाई विस्तृत विवरण थाहा थिएन । सोमबार एमाले स्थायी कमिटी बैठकमा चुनावी घात, प्रतिघातसँगै अनुचित तवरले आर्थिक संकलन गरिएका विषय जोडदारसँग उठ्यो । मोरङको रुपनारायण काण्डपछि उपाध्यक्ष वामदेव गौतममाथि प्युठानमा त्यस्तै झ्याउलो आइलाग्यो ।
‘मैले कति कराएँ, त्यही पनि कारवाही हुँदैन । मैले भन्दा त कारवाही हुँदैन भने अरुको झन् के हालत होला’ भन्दै उनले आफ्नो व्यथा सुनाउन थालेपछि, उपमहासचिव तथा प्रदेश नं. ५ का इञ्चार्ज विष्णु पौडेलले भने, ‘त्यो बबुरोलाई मात्रै के कारवाही गर्नु ? सके त्यसलाई संरक्षण गर्नेलाई पो कारवाही गर्ने हो त !’
प्रसंग हो, वामदेवको स्वरमा ठाउँठाउँमा फोन गर्दै उनकै नातेदार भन्दै लाखौं उठाउने जिल्ला उपसचिव मधुर शर्माको । उनले नेपालगञ्जस्थित कर्णाली विकास बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर रायलाई फोन गरे, वामदेवको स्वरमा । ‘मधुर मेरा नातेदार हुन्, कार्यकर्ता पनि हुन् । थारु विद्यार्थीको सम्मेलन छ । २० लाख दिनु है ।’ यसरी फोन गरीवरी मधुर पुगे, रायलाई भेट्न । १२ लाख रुपैयाँ हात पारे । बाँकी पछि लिनेगरी ।
पहिला माले समर्थक, पछि फोरमतिर लागेको सल्यानी राजेन्द्रवीर खासमा राई हुन् । तर, राय थर लेख्दा तराईमा सजिलो पर्ने हुँदा त्यस्तो थरमा फोरमको राजनीति गर्न थालेका छन् । मधुर पैसा लिन पुग्दा उनले आशंका व्यक्त गर्दै सोधेक थिए, ‘हैन, यो पैसा केका लागि रे ?’ यसपछि मधुरले विश्वस्त तुल्याउन एउटा नक्कली फोन गरे, सुर्खेतका नेता यामलाल कँडेललाई गरेजसरी ।
‘कमरेड, मैले पैसा पाएँ है’ भनेर फोन काटेपछि राजेन्द्रवीरले पत्याउनै पर्यो । मधुरको हातमा पैसा दिएको केही दिनपछि काम विशेषले राजेन्द्रवीर काठमाडौं पुगे । वामदेवसँग उनकै भैंसेपाटीस्थित घरमा भेटे । त्यसबेला भनिहाले, ‘अस्ति हजुरले भनेको मान्छेलाई मैले सहयोग गरेको थिएँ ।’ वामदेव झस्किए, ‘के रे !’ हजुरले फोन गरेर थारु विद्यार्थी सम्मेलनका लागि २० लाख चाहिया’छ । फलानो मान्छे आउँछ । दिएर पठाउनु भनेको होइन !’
हुँदै नभएको र भन्दै नभनेको कुराले वामदेवलाई एकछिन चक्कर लगायो । ‘अनि पैसा दिनुभयो त ?’ राजेन्द्रवीरले भने, ‘२० पुगेर १२ थियो । त्यही दिएँ ।’ राजेन्द्रवीरको मुख हेरेर वामदेव ट्वाल्ल परे । जनआस्था साप्ताहिकमा खबर छ ।