खानेपानीदेखि सावधान !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 15, 2017 | 09:46:26 AM मा प्रकाशित

laxmi  sunrise bank

उपत्यकाका तीनवटै जिल्ला झाडापखाला, हैजासँगै सरुवा रोगको उच्च जोखिममा छ । काठमाडौं, भक्तपुर र ललितपुर झाडापखाला लगायतका सरुवा रोगका कारण जोखिममा रहेको भन्दै सतर्कता अपनाउन सचेत गराइएको छ ।

वर्षायामसँगै उपत्यकाको पानीमा झाडापखाला तथा हैजा फैलाउनसक्ने कोलिफर्म अत्यधिक पाइएकाले पानी पिउँदा तथा खाद्यान्न पकाउँदा ध्यान दिन पनि सुझाव दिइएको छ । उपत्यकाको काठमाडौँ, भक्तपुर र ललितपुरका घरमा प्रयोग हुने खानेपानी परीक्षण गर्दा ७० प्रतिशतसम्म हैजा र झाडापखाला सार्ने जीवाणु पाइएकोले सतर्क रहन सुझाव दिइएको हो ।

काठमाडौँ जिल्ला जनस्वास्थ्य प्रमुख डा. महेन्द्रप्रसाद श्रेष्ठले उपत्यकाको पानीमा कोलिफर्म मिसावट भएकाले पानीलाई उमालेर पिउन सुझाव दिनुभयो । उहाँले धाराको पानी, ट्याङ्करको पानी र जारकै पानीसमेत उमालेर पिउन सुझाव दिँदै पानी प्रदूषित हुनसक्छ भन्ने जान्दाजान्दै पनि सतर्कता नअपनाइएमा सरुवा रोग फैलनसक्नेतर्फ सचेत गराउनुभयो ।

उहाँले उपत्यकामा झाडापखालादेखि बर्डफ्लु, स्वाइनफ्लु, स्क्रप टाइपस, डेङ्गु मलेरियाजस्ता सरुवा रोगको जोखिम रहेको भन्दै कीटजन्य, पंक्षीजन्य तथा पशुजन्य रोगबाट जोगिन सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।

जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख झलक शर्मा पौडेलले धारामा आउने पानी, ट्याङ्करले ओसार्ने पानीमात्रै नभई जार र मिनिरल वाटरको रूपमा बोतलमा पाइने पानीमा समेत कोलिफर्म भेटिएको जानकारी दिनुभयो । अघिल्लो वर्ष ललितपुरमा खानेपानी परीक्षण गर्दा ८१ प्रतिशत पानी अशुद्ध भेटिएको थियो । उहाँले यो वर्ष विगतको भन्दा बढी भेटिने सम्भावना रहेको बताउनुभयो । 

गत वैशाखयता ट्याङ्कर, जार, धारा तथा बोतलको गरी ६० वटा नमुना पानी परीक्षण गरिएकोमा ३९ वटा नमुनामा कोलिफर्म भेटियो भन्दै शर्माले यिनै जीवाणुले हैजाको महामारी फैलाउने बताउनुभयो ।

उहाँले गोदावरी, सुनाकोठी, बगलामुखी लगायतका स्थानबाट पानीको नमुना सङ्कलन गरी ल्याएर परीक्षण गरेको जानकारी दिनुभयो । शर्माले गत वर्ष बढ्दो सहरीकरणसँगै धारामा आएका र ट्याङ्करमा ओसारिएका मात्रै नभई प्राकृतिक रूपमा उम्रिएका पानीसमेत प्रदूषित भएको बताउनुभयो । उहाँले प्रदूषित पानीकै कारण जिल्लाले बेलाबेलामा झाडापखाला, हैजा, जन्डिसजस्ता रोगको समस्या झेल्नु परेको भन्दै उपत्यकामा गत वर्ष पनि सबैभन्दा बढी हैजाका बिरामी ललितपुरमा भेटिएको बताउनुभयो ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रयोगशाला प्रुमुख ज्ञानेन्द्रबहादुर कार्कीले केयूकेएलले वितरण गर्ने पानी शुद्ध भएको दाबी गर्नुभयो । उहाँले कतिपय पानीका मुहानमा स्थानीयवासीले फोहोर फाल्ने गरेका कारण पनि खानेपानी शुद्ध हुन नसकेको जानकारी दिनुभयो । गोरखापत्र दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved