यस्तो छ सरकार विस्तारको तयारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 18, 2017 | 08:08:35 AM मा प्रकाशित

laxmi  sunrise bank

 सत्तारुढ कांग्रेस र माओवादी केन्द्र सरकार विस्तारमा ढिलाइ नगर्ने सहमतिमा पुगेका छन् । मन्त्री सिफारिसका लागि बनेको दुईदलीय कार्यदलबीच एक–दुई दिनभित्रै सरकार विस्तार गर्ने सहमति भएको छ । ‘कार्यदलमा सकारात्मक कुराकानी भएको छ,’ कार्यदलका कांग्रेस सदस्य रमेश लेखकले भने, ‘अब मंगलबार नै मन्त्रीको टुंगो लगाएर बुधबारसम्म सरकार विस्तार गर्न सकिन्छ भन्ने सहमतिमा पुगेका छौँ ।’

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सोमबार बिहान कांग्रेस नेता विमलेन्द्र निधिले भेटेपछि बेलुका दुईदलीय कार्यदलको बैठक सिंहदरबारमा बसेको थियो । सोही बैठकले टुंगो लाग्न बाँकी मन्त्रालयमा दलीय भागबन्डा मंगलबार नै मिलाएर बुधबारसम्म सरकार विस्तार गर्नेमा सहमति जनाएको नेता लेखकको भनाइ छ ।

उनका अनुसार मंगलबार बिहानैबाट कार्यदल बैठक बस्ने र दिउँसोसम्म मन्त्रालय बाँडफाँड गर्नेछन् । त्यसपछि दलका भागमा परेका मन्त्रालयमा पार्टीहरूले मन्त्री टुंगो लगाउनेछन् । कांग्रेसबाट विमलेन्द्र निधि, रमेश लेखक र माओवादीबाट कृष्णबहादुर महरा र वर्षमान पुन सम्मिलित कार्यदलको बैठक सोमबार बेलुका झन्डै दुई घन्टा चलेको थियो ।

माओवादी प्रवक्ता पम्फा भुसालले पनि ढिलोमा बुधबार सरकार विस्तार हुने बताइन् । ‘हाम्रो दलमा समस्या छैन । अब कांग्रेसभित्रको समस्या मिलेपछि दुई दिनमा विस्तार हुन्छ,’ उनले भनिन्, ‘सके मंगलबार नै नभए अब ढिलोमा बुधबार सरकार विस्तार गर्छौं ।’

 प्रचण्डसँग निधिको छलफल
माओवादी अध्यक्ष प्रचण्डसँग कांग्रेस नेता विमलेन्द्र निधिले भेट गरेका छन् । प्रचण्ड स्वदेश फर्किएपछि सोमबार बिहान लाजिम्पाटमा भएको भेटमा दुई दिनभित्रै सरकार विस्तार गर्ने, संविधान संशोधन गर्ने, निर्वाचन क्षेत्र निर्धारण आयोग गठनसहितका विषयमा छलफल भएको हो । बिहीबारको मन्त्रिपरिषद् बैठकले क्षेत्र निर्धारण आयोग गठन गर्ने सहमति भएको जानकारी कांग्रेस नेता निधिले दिए ।

राप्रपा र फोरम तत्काल सहभागी नहुने
राप्रपा र संघीय समाजवादी फोरम तत्काल सरकारमा सहभागी हुने अवस्था छैन । राप्रपा फुटको सँघारमा पुगेको र फोरम स्थानीय तहको तेस्रो चरणको निर्वाचनअघि सरकारमा सहभागी नहुने भएको छ । यस्तोमा कांग्रेसले १२ र माओवादीले आठ मन्त्रालय लिने भएका छन् । राप्रपालाई दिने मन्त्रालय प्रधानमन्त्रीसँगै रहनेछन् । राप्रपालाई चार र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई तीनवटा मन्त्रालय दिने तयारी सत्तारुढ दुई दलको छ । लोकतान्त्रिक फोरम सरकारमा सहभागी भइसकेको छ ।

देउवा प्रधानमन्त्री बनेलगत्तै सात मन्त्री चयन गरे पनि अझै २३ मन्त्रालय मन्त्रीविहीन छन् । टुंगो लाग्न बाँकी मन्त्रालयमा सञ्चार, भौतिक पूर्वाधार, वन कांग्रेसले लिने र ऊर्जा, स्वास्थ्य माओवादीले लिनेमा करिब–करिब टुंगो लागेको छ । नयाँ पत्रिकामा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved