‘जिएसटीले नेपालको राजस्व बढ्नेछ’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2017 | 08:28:39 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतले दुई साताअघि लागू गरेको बस्तु तथा सेवा कर (जिएसटी)ले नेपाललाई प्रत्यक्ष फाइदा पुग्ने उच्च सरकारी अधिकारीहरूले दावी गरेका छन् । जीएसटीपछि नेपाल र भारतबीचको अनौपचारिक कारोबार नियन्त्रण हुने र यसले राजस्व बढ्ने अर्थसचिव डा. शान्तराज सुवेदीले बताए ।

जीएसटीको प्रभावका सम्बन्धमा अन्योल रहेका बेला उच्च सरकारी अधिकारीको औपचारिक धारणा पहिलोपटक सार्वजनिक भएको हो । नेपालमा ठूलो मात्रामा हुने गरेको अनौपचारिक अर्थतन्त्र अब औचारिकमा रूपान्तरण हुने र यसले मूल्य अभिवृद्धि कर (भ्याट) संकलनसमेत बढ्ने सरकारको दावी छ । नेपालको कुल अन्तर्राष्ट्रिय व्यापारमा झन्डै दुई तिहाई व्यापार भारतसँगै हुने गरेको छ ।

“जीएसटी लागू हुँदा आयात निर्यातको खाडल अझै गहिरो देखिन सक्छ, यद्यपि नेपाललाई यसले बेफाइदा गर्दैन,” सचिव डा. सुवेदीले भने, “सँगसँगै ठूलो मात्रामा हुने गरेको अनौपचारिक कारोबार अब औपचारिक माध्यममा आउने भएकोले पनि जिएसटी लागू हुँदा भ्याट संकलनमा बढ्ने हाम्रो आकलन छ ।”

उद्योगी व्यवसायीहरू जिएसटीको प्रभाव अध्ययनका लागि हाल भारत भ्रमणमा छन् । उनीहरूले जिएसटी लागू भएपछि नेपाल आयात हुने बस्तुहरू सस्तो हुने भन्दै यसले स्वदेशी उद्योग धरासायी हुने चिन्ता व्यक्त गर्दै आएका छन् । सचिव सुवेदीले भने यसबाट धेरै प्रभाव नपर्ने जिकिर गरे ।  

“जिएसटीबारे जति हल्ला चलेको छ, त्यसको असर नेपाललाई पर्ने देखिँदैन,” उनले भने, “कार्यान्वयन भयो र लागू गर्न सकियो भने नेपाललाई फाइदा नै हुन्छ ।” आयातको मूल्य वास्तविक देखिने भएकोले नेपालमा आयात भएको बस्तुको रकम बढेको देखिने पनि उनले जानकारी दिए ।  

उनले नेपालको कर प्रणाली भारतको जिएसटीभन्दा वैज्ञानिक र पारदर्शी भएको पनि बताए । जिएसटीले नेपालको न्यून बिजकीकरण तथा चोरी पैठारीको समस्या कम हुने अपेक्षा गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved