प्रहरीको ५१ करोड बजेट फ्रिज

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 22, 2017 | 08:58:51 AM मा प्रकाशित

laxmi  sunrise bank

सधैँ स्रोतसाधन अभावको गुनासो गर्ने नेपाल प्रहरीको गत आर्थिक वर्ष ०७३/७४ मा ५१ करोड बजेट फ्रिज भएको छ । संगठनका लागि आवश्यक स्रोतसाधन खरिदको निर्णय गर्न नसक्दा बजेट फिर्ता भएको छ । गत आर्थिक वर्षमा प्रहरीले भिड नियन्त्रणका सामान मात्र होइन, पोसाकसमेत खरिद गर्न सकेन ।

निर्वाचनका लागि दिएको ४० करोड फिर्ता

प्रहरीलाई दिइएको ५१ मध्ये ४० करोड रुपैयाँ स्थानीय तहको निर्वाचन सुरक्षाका लागि थियो । २ नम्बर प्रदेशमा चुनाव सरेपछि ४० करोड फ्रिज भएको छ । त्यसबाहेक ११ करोड प्रहरीमा कम्प्युटरको ओराकल सिस्टम लागू गर्न आएको थियो । तर, टेन्डर रद्द भएपछि सो बजेट पनि फिर्ता भएको छ । यसबाहेक पनि खर्च हुन नसकेको थप बजेटसमेत फ्रिज भएको स्रोत बताउँछ ।
त्यस्तै, प्रहरीको पोसाक खरिदका लागि विनियोजित ४० करोड रुपैयाँ पनि प्रहरीले गत आर्थिक वर्षमा खर्च गर्न सकेन । सो रकम प्रहरी मुख्यालयले रकमान्तर गरेर रासनभत्तामा खर्च गरेको थियो । रासनभत्ताका लागि सरकारले छुट्टै बजेट छुट्याए पनि पोसाक खरिदको टेन्डर रोकिएपछि रकमान्तर गरेर खर्च गरिएको हो । समय अभाव र प्रक्रिया नमिल्दा बजेट खर्च गर्न नसकिएको प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले बताए ।

यो वर्ष ३१ अर्ब बजेट

आर्थिक वर्ष ०७४(७५ का लागि सरकारले नेपाल प्रहरीलाई ३१ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । अघिल्लो आवमा २५ अर्ब उपलब्ध गराएको थियो । प्रहरीमा पाँच हजार दरबन्दी थप भएकाले पनि बजेट थपिएको हो । त्यस्तै, पनौतीमा निर्माण गर्न लागिएको प्रहरी एकेडेमीका लागि तीन अर्ब बजेट छ । भारत सरकारले निर्माण गर्ने सम्झौता भए पनि एकेडेमीको काम रोकिँदै आएको छ । पछि शोधभर्नाबाट मिलाउने गरी सरकारले बजेट दिएको हो । त्यस्तै, पोसाक खरिदका लागि मात्र एक अर्ब बजेट छ ।

बजेट फिर्ता, भण्डार रित्तो

टेन्डरमै विवाद आउने डरले प्रहरीले नेपाली सेनासँग करिब दुई करोडबराबरको गोलीगठ्ठा खरिद गरेको थियो । ठेक्कामा धेरै विवाद हुने भएकाले पछिल्ला वर्ष प्रहरीले टेन्डरमार्फत सामान खरिद गर्न सकेको छैन । ‘संगठनभित्रको गुटबन्दीका कारण पारदर्शी ढंगले कुनै सामान खरिद गरे पनि नियोजित रूपमा विवादमा ल्याउने प्रवृत्ति बढेको छ,’ एक प्रहरी अधिकारीले भने, ‘त्यही कारण पोसाक तथा भिड नियन्त्रणका सामान खरिदका लागि पटक–पटक भएका प्रयास रद्द हुँदै आएका छन् ।’ गत वर्ष पनि भिड नियन्त्रणसम्बन्धी सामान खरिदका लागि आएको बजेट खरिद विवादकै कारण फ्रिज भएको थियो । विवाद आउने डर संगठनका लागि अत्यावश्यक सामग्री खरिद नै नगर्नु नेतृत्वको असफलता भएको गृहका एक अधिकारी बताउँछन् ।

टियर ग्यास, सर्टगन, रबर बुलेट, ग्यासगन, पेपर स्प्रेजस्ता भिड नियन्त्रणका लागि अत्यावश्यक सामान खरिका लागि तीन वर्षदेखि प्रयास भए पनि निर्णय हुन सकेको छैन । भिड नियन्त्रणका लागि आवश्यक सामानको अभावमा तराईमा भएका आन्दोलनमा समेत प्रहरीले सीधै गोली चलाउनुपरेको थियो । प्रहरीमा पोसाक, बुटलगायत सामानसमेत रित्तिँदै गएको छ । नयाँ पत्रिकामा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved