भारतका प्रधानमन्त्री मोदी नेपाल आउँदै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 24, 2017 | 08:21:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल–भारत लगानी सम्मेलन’ गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले भारत उद्योग परिसंघ (सिआइआई) सँगको सहकार्यमा लगानी सम्मेलन गर्ने भएको हो । दुई मुलुकमा रहेका निजी क्षेत्रबीचको साझेदारीमा आगामी अगस्टको अन्तिम या सेप्टेम्बरको पहिलो साता सम्मेलन आयोजना गरिने महासंघकी अध्यक्ष भवानी राणाले बताइन् । काठमाडौंमा आयोजना हुने सम्मेलनमा नेपाल र भारतका प्रतिष्ठित उद्योगी–व्यवसायीको सहभागिता रहनेछ ।

सम्मेलनलाई सम्बोधन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो गरिएको राणाले बताइन् । ‘भारतीय प्रधानमन्त्री मोदीले सम्मेलनलाई सम्बोधन गर्न नेपाल आउने संकेत दिनुभएको छ,’ उनले भनिन्, ‘उहाँकै समयतालिका हेरेर अगस्टमा गर्ने भनिएको सम्मेलन हामीले सेप्टेम्बरलाई सारेका हौँ ।’ सम्मेलनले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई अझ बलियो बनाउन मद्दत गर्ने उनले बताइन् ।

क्रस बोर्डर एक्स्पो अगस्टमा

महासंघले पश्चिम बंगाल सरकारसँगको सहकार्यमा आगामी अगस्टमा क्रस बोर्डर व्यापार तथा पर्यटन एक्स्पो आयोजना गर्ने भएको छ । २८ अगस्टका लागि तय भएको एक्स्पो पनि काठमाडौंमै आयोजना गरिने अध्यक्ष राणाले जानकारी दिइन् । ‘पश्चिम बंगाल र नेपालबीचको व्यापार तथा पर्यटनलाई बढाउन एक्स्पो गरिने भएको हो,’ उनले भनिन्, ‘यसले दुवै मुलुकबीचको व्यापार तथा पर्यटन विस्तारका सम्भावना र अवसर खोज्दै ठोस कार्ययोजना बनाउनेछ ।’

‘१ सय दिन सफल’

गत २८ चैतमा सम्पन्न महासंघको साधारणसभाबाट निर्वाचित राणा नेतृत्वको कार्यसमितिले एक सय दिनमा गरेको कार्यप्रगति आइतबार सार्वजनिक गरेको छ । आफूहरूको १ सय दिनको प्रगति उत्साहप्रद भएको वरिष्ठ धउपाध्यक्ष शेखर गोल्छाले बताए । ‘कार्यप्रगति समीक्षा गर्ने चलन पहिलोपटक स्थापना गरिएको छ,’ उनले भने, ‘यसले हामीले सुरु गरेका कामलाई अझ प्रभावकारी बनाउने आशा गरेका छौँ ।’

भारततर्फको व्यापार–लगानी प्रवद्र्धनलाई छुट्टै सेल

महासंघले ‘नेपाल–भारत लगानी तथा व्यापार प्रवद्र्धन सेल’ स्थापना गर्ने भएको छ । नेपाल र भारतबीचको व्यापारमा हुने विभिन्नखाले गैरभन्सार अवरोध न्यूनीकरण गर्न तथा समस्या समाधानको उपाय खोज्न छुट्टै सेलसमेत स्थापना हुने भएको हो । ‘छुट्टै सचिवालय र कर्मचारी राखेर भारततर्फको लगानी तथा व्यापार प्रवद्र्धनको सेल खडा गरिनेछ,’ उनले भनिन्, ‘यस्तो सेलले नेपाल र भारतबीचको लगानी तथा व्यापारमा देखिएका समस्या समाधानको प्रयास गर्नेछ ।’

भारतले लागू गरेको जिएसटीपछि नेपाल–भारत अनौपचारिक व्यापार ठूलो मात्रामा घट्ने महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए । ‘भारतबाट निर्यात हुने वस्तुमा शून्य जिएसटीको प्रमाणपत्र लिनैपर्ने बाध्यता छ, जसले अनौपचारिक व्यापारलाई घटाउनेछ,’ उनले भने । जिएसटीले नेपालको भन्सार राजस्व २०–२५ प्रतिशतले बढ्ने उनले बताए ।

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

भारतीय प्रधानमन्त्री मोदीले सम्मेलनलाई सम्बोधन गर्न नेपाल आउने संकेत दिनुभएको छ,उहाँकै समयतालिका हेरेर अगस्टमा गर्ने भनिएको सम्मेलन हामीले सेप्टेम्बरलाई सारेका हौँ
(भवानी राणा, अध्यक्ष उद्योग वाणिज्य महासंघ)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved