नागढुंगाभन्दा कोटेश्वरमा दोब्बर सवारी साधन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 28, 2017 | 09:01:41 AM मा प्रकाशित

laxmi  sunrise bank

राजधानी काठमाडौं प्रवेशको एउटा प्रमुख नाका कोटेश्वरमा दिनहुँ बिहान-बेलुकी कार्यालय समयमा लामो समय ट्राफिक जाम हुँदा कर्मचारी, यात्रुलगायत सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । ६ लेनको सडकखण्ड हुँदा पनि ट्राफिक जाम किन हुन्छ र कसरी हटाउने भन्नेबारे कसैले चासो लिएका छैनन् ।

ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर क्षेत्रमा मात्र ५१ जना ट्राफिक प्रहरी खटाएको छ । तापनि, जाम भने जस्ताको त्यस्तै रहेको सवारीचालकदेखि यात्रुसम्म बताउँछन् । जामको मुख्य कारण कोटेश्वरबाट धुलिखेल-सिन्धुली-बर्दिबास हुँदै पूर्व जाने लामो दूरीका सवारीसाधन हुन् । बर्दिबास भएर चल्ने सबैजसो सवारीसाधनलाई कोटेश्वरको ‘रुट परमिट’ दिइएको छ । महाशाखाका अनुसार ४० रुटका सवारीसाधन कोटेश्वर रुट भएर चल्छन् । तर, कोटेश्वरमा सवारी पार्किङ वा बसपार्क छैन । लामो दूरीका सवारीसाधनसमेत सबैले सडकमै पार्किङ गर्छन् ।

महाशाखाले यातायात व्यवस्था विभागको समन्वयमा लामो रुटका बसलाई गोंगबु बसपार्कबाटै सञ्चालन गर्नुपर्ने निर्णय गरायो । तर, उक्त निर्णय अझै पूर्ण कार्यान्वयन भएको छैन । लामो दूरीका बस चाबहिल, गौशाला, साँखु, जोरपाटीबाट अहिले पनि चलिरहेका छन् । यी सबै सवारीसाधन कोटेश्वर भएरै गुड्छन् ।

पछिल्लो समय कोटेश्वरमा सवारी चाप पहिलेभन्दा दोब्बर भएको छ । काठमाडौं भित्रिने अर्को प्रमुख नाका नागढुंगा हो । तथ्यांक हेर्दा पछिल्लो समय नागढुंगाभन्दा कोटेश्वरबाट भित्रिने र बाहिरिने सवारीसाधनको संख्या दोब्बरजस्तै बढेको छ । महाशाखाका अनुसार बुधबार मात्रै नागढुंगा नाकाबाट ३ हजार ७ सय ४ सवारीसाधन राजधानी प्रवेश गरे भने कोटेश्वरबाट ६ हजार ८६ । त्यसैगरी, नागढुंगाबाट ३ हजार ६ सय ७१ र कोटेश्वरबाट ७ हजार १ सय ५० सवारीसाधन बाहिरिएको महाशाखाले जनाएको छ ।

यो तथ्यांकबाट कोटेश्वरमा सवारी चापसँगै जाम बढ्नु स्वाभाविक हो भन्छन् ट्राफिक प्रहरी । बुधबार नागढुंगाभन्दा बढी यात्रु कोटेश्वरबाट बाहिरिए । महाशाखाका अनुसार कोटेश्वरबाट बुधबार ३७ हजार नौ सय नौ जना यात्रु बाहिरिएका छन् । नागढुंगाबाट भने बुधबार ३७ हजार सात सय ३३ जना यात्रु बाहिरिएका छन् । भित्रिनेको संख्या भने कोटेश्वरभन्दा नागढुंगाबाट बढी छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले कोटेश्वरमा ट्राफिक जाम बढ्नुको मुख्य कारण सवारीसाधनको बढ्दो चाप भएको बताए । उनले भने, ‘कोटेश्वरमा ट्राफिक जाम बढेको यथार्थ हो, म आफैं पनि त्यसको एउटा भुक्तभोगी हुँ । जाम व्यवस्थापन गराउन कोटेश्वरबाहिर पूर्वतिर एउटा पार्किङ बनाउने गृहकार्यमा जुटेका छौं । फ्लाइओभर बनाउन सके अहिलेको समस्या समाधान हुन्थ्यो ।’ पाण्डेले ट्राफिक जाम व्यवस्थापन गराउनकै लागि ‘अफिस आवर’मा कोटेश्वर रुटमा ट्रक, टिपर चलाउन बन्द गरिएको बताए । जथाभावी रुट वितरण सम्बन्धमा भने उनले केही बताउन चाहेनन्।

ट्राफिक प्रहरी प्रमुख एसएसपी सर्वेन्द्र खनालले सवारीसाधनलाई जथाभावी रुट परमिट दिएकै कारण जाम बढेको आरोप लगाए । उनले भने, ‘अवैज्ञानिक रूपमा वितरण गरिएको रुट परमिटले सवारी चाप बढेको देखिन्छ, त्यसलाई व्यवस्थित गराउन सबैभन्दा पहिले यातायात व्यवस्था विभागको ध्यान जान आवश्यक छ ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved