काठमाडौ र पोखराका मुख्य क्षेत्र अब २४ घण्टा खुल्ला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 29, 2017 | 10:05:04 AM मा प्रकाशित

laxmi  sunrise bank

 उपत्यका र पोखराका मुख्य पर्यटकीय क्षेत्र १५ दिनभित्रै २४ घन्टै खुला गरिने भएको छ । गृह मन्त्रालयले १५ दिनभित्र पर्यटकीय क्षेत्र रातभरि खुला राख्न आवश्यक सुरक्षा प्रबन्ध मिलाउन प्रहरी प्रधान कार्यालय र स्थानीय प्रशासनलाई पत्राचार गरेको छ । काठमाडौं, ललितपुर, भक्तपुर र पोखराका पर्यटकीय क्षेत्रलाई २४ घन्टा खोल्न लागिएको हो । चारै जिल्लामा प्रहरीले आवश्यक तयारी सुरु गरेको छ ।

पहिलो चरणमा दरबारमार्ग, ठमेल, झम्सिखेल, लेकसाइड खोलिने
काठमाडौंको दरबारमार्ग र ठमेल, ललितपुरको झम्सिखेल तथा पोखराको लेकसाइड क्षेत्रलाई २४ घन्टा नै खोल्न लागिएको हो । गृहले भक्तपुरमा पनि व्यवसायीबाट माग भएमा २४ घन्टै खोल्न पत्राचार गरेको छ । काठमाडौं र पोखरामा तत्काल खोल्ने तयारी भए पनि ललितपुर र भक्तपुरमा भने केही महिना लाग्ने प्रहरीले जनाएको छ ।

गृहले प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासनलाई बुधबार पत्राचार गरेको थियो । सो पत्राचार प्रहरी प्रधान कार्यालयले चार जिल्लालाई सुरक्षा प्रबन्ध मिलाउन सर्कुलर गरेको छ । गृहमन्त्री जनार्दन शर्माको ८४ बुँदे गृह सुधार मार्गचित्रको २५औँ बुँदामा पर्यटकीय क्षेत्रलाई २४ घन्टा खोल्ने उल्लेख छ । सोही योजनालाई कार्यान्वयन गर्न लागिएको हो । पर्यटकलाई आकर्षित गर्न २४ घन्टा सञ्चालन गर्न लागिएको हो । ‘बिहीबार मन्त्रालयबाट चिठी आएको छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले भने, ‘१५ दिनभन्दा पनि छिटो हामी मुख्य पर्यटकीय बजार २४ सै घन्टा खोल्नेछौँ । त्यसको तयारीमा जुटिसकेका छौँ ।’ ललितपुर प्रशासनले पनि अध्ययन सुरु गरेको छ । २४ सै घन्टा बजार खुलाउन सकिने क्षेत्रबारे आफूहरूले छलफल सुरु गरेको ललितपुरका एसएसपी ठुले राईले बताए । कास्कीमा पनि प्रशासन र प्रहरीले व्यवसायीहरूसँग छलफल सुरु गरेको छ । लेकसाइड क्षेत्रको बजारलाई २४ सै घन्टा खुलाउन तयारी सुरु गरिएको कास्कीका एसपी घनश्याम अर्यालले बताए ।

मापदण्ड पूरा गरेकालाई मात्र खोल्न दिनुपर्ने प्रहरीको प्रस्ताव
प्रहरीले सिसिटिभी, सुरक्षागार्ड, खाली स्थान, आकस्मिक कक्ष तथा मेडिकल किटको व्यवस्था भएका रात्रिकालीन व्यवसायलाई मात्र २४ घन्टा सञ्चालन गर्न दिनुपर्ने प्रस्ताव गरेको छ । निश्चित मापदण्ड पूरा गरेका रेस्टुरेन्ट तथा डिस्कोलाई मात्र २४ घन्टा खोल्न दिइनेछ । नेपालमा वर्षौंदेखि पर्यटकीय बजारहरू २४ सै घन्टा खुलाउने प्रयास हुँदै आए पनि माथिल्लो तहबाट सहयोग नहुँदा सफल हुन सकेको छैन । यसपटक गृहमन्त्रीले नै अग्रसरता लिएपछि रात्रिकालीन व्यवसाय बिहानैसम्म चल्ने भएका छन् ।

हाल रात्रिकालीन व्यवसाय सामान्यतया १२ बजेसम्म मात्र चल्ने गरेका छन् । डिस्को र लाउञ्ज बारलाई भने प्रहरीले बिहान २ बजेसम्म खोल्ने अनुमति दिएको छ । सुरक्षाकै कारण देखाउँदै प्रहरीले रात्रिकालीन व्यवसायलाई समयसीमा तोकेको हो । शुक्रबारबाहेक अन्य दिन १२ बजे नै ठमेल-दरबारमार्ग सुनसान हुने गरेको छ ।

तत्कालका लागि शुक्रबार मात्र २४ घन्टा खोल्ने अनुमति दिए पुग्ने एक प्रहरी अधिकारी बताउँछन् । ठमेललगायत क्षेत्र आवासीय क्षेत्र भएकाले २४ सै घन्टा खोल्दा स्थानीयलाई समेत असर नपर्ने व्यवस्था मिलाउनुपर्ने प्रहरी अधिकारीहरूको छ । नयाँपत्रिकामा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved