कछुवा गतिमा राजधानीका नदी कोरिडोर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 30, 2017 | 07:50:43 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनमा महत्वपूर्ण मानिएका खोला किनारका कोरिडोर निर्माणमा सोचेजति प्रभावकारी काम हुन नसकेको सरकारी अधिकारीले नै स्वीकार गरेका छन् ।
बागमती र धोबीखोला कोरिडोरबाहेक अन्य कोरिडोरमा निर्माणकार्य तोकिएको लक्ष्यअनुसार हुनसकेको छैन भने बजेट उपलब्ध भएर पनि खर्च हुनसकेको छैन ।
सरकारले धोबी खोला, बागमती, विष्णुमती, नख्खु खोला, महादेव खोला र साङ्ला खोला कोरिडोर निर्माण सुरु गरेको छ । खोला कोरिडोरमा सडक निर्माण गर्नुको ध्येय खोला संरक्षण र सौन्दर्यीकरण गर्नु भए पनि तोकिएको समयमा निर्माण नहुनाले स्थानीयवासीलाई राहत होइन, आहत मात्रै दिएको छ ।
सरकारले निर्माणकार्यमा प्रगति भएको ठानेको धाबीखोला कोरिडोरका कारण पानी पर्दा हिलो र सुख्खा हुँदा धुलोको मारमा राजधानीवासी परेका छन् । आयोजनाको सडक किनारमा गरी कूल २२ किलोमिटर ट्र्याक खुलेको छ । तर, ट्र्याक खोलेकोमध्ये ५०० मिटर सडक पहिरोका कारण क्षतिग्रस्त  छ ।
यो सडकखण्डमा आयोजनाले ६ किलोमिटर कालोपत्रे गर्ने भनेर ठेक्का गरेको भए पनि आर्थिक वर्ष २०७३÷७४ मा दुई किलोमिटर मात्रै सडक कालोपत्र भएको सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले जानकारी दिनुभयो ।
आयोजनाको पूरै सडकखण्डमा ढल राख्ने कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भए पनि हालसम्म १२ किलोमिटर क्षेत्रमा मात्रै ढल राखिएको छ । आयोजनाका लागि गत आर्थिक वर्ष २०७३÷७४ मा ४५ करोड रुपियाँ बजेट विनियोजन भएको भए पनि तोकिएअनुसार काम हुनसकेन । आयोजनाका लागि थप रु. ६० करोड लगानी आवश्यक पर्ने सहरी विकास मन्त्रालयले जानकारी दिएको छ । तर, मन्त्रालयले आयोजनालाई बहुवर्षीय ठेक्कामा लगाउने र आगामी दुई वर्षभित्र मात्रै सम्पन्न हुने जनाएको छ ।
मागअनुसारको बजेट प्राप्त भए ढल कालोपत्रे, टेवा पर्खाललगाउने कार्यसमेत सम्पन्न हुने र एउटा महत्वपूर्ण आयोजना सम्पन्न हुने मन्त्रालयको विश्वास छ । तर स्थानीयवासीले भने सरकारले भन्दै आएअनुसार आयोजनामा प्रगति नभएकोमा गुनासो गरेको र गुनासो समेत जायज नै रहेको सचिव शर्माको भनाइ छ ।
यस्तै लामो समयदेखि चर्चामा रहेको तर कार्यप्रगति सोचअनुसार हुन नसकेको अर्को आयोजना हो –बागमती कोरिडोर । आयोजनामा हालसम्म २० किलोमिटर कोरिडोर र ढल बिच्छ्याउने कार्य सम्पन्न भएको छ भने १३ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ । नदी किनारलाई सुन्दर बनाउन, रुख बिरुवा रोप्ने कार्यका लागि मात्रै दुई अर्ब ५० करोड रुपियाँको ठेक्का सम्झौता भइसकेको छ । यस आयोजनाका लागि चालु आर्थिक वर्षमा ७० करोड रुपियाँ विनियोजन भएकोमा ६ किलोमिटरमा ढल र कालोपत्रे गरिने सचिव शर्माले जानकारी दिनुभयो ।
उपत्यकाको अर्को महत्वपूर्ण नदी विष्णुमतीको व्यवस्थापन कार्य अगाडि बढे पनि तोकअनुसारको प्रगति हुनसकेको छैन । गत आर्थिक वर्षमा नै १२ किलोमिटर क्षेत्रमा नदी संरक्षण र पर्खाल लगाउनुपर्ने भए पनि पाँच किलोमिटर क्षेत्रमा मात्रै निर्माण सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा आयोजनाको कामलाई गति दिने मन्त्रालयको भनाइ छ ।
नख्खु खोलामा गत आर्थिक वर्षभित्र तीन किलोमिटर कोरिडोर खोल्नुपर्ने योजना रहे पनि सरकारी निकायले ध्यान नदिएको, निर्माण व्यवासायीले तोकिएको समयअनुसार काम नगर्दा २७२ मिटर सडक मात्रै निर्माण हुनसकेको छ । आयोजनाका लागि चालु आवमा दुई करोड रुपियाँ बजेट विनियोजन भएको र सम्पन्न हुन ४५ करोड रुपियाँ लाग्ने मन्त्रालयले जानकारी दिएको छ । आयोजनालाई पनि बहुवर्षीय आयोजनाको रूपमा राखिएको छ ।
साङ्ला खोला कोरिडोरको दुई किलोमिटर मात्रै कोरिडोरको ट्र्याक खोलिएको छ । यो आयोजनाको लागि गत आर्थिक वर्षमा तीन लाख ९६ हजार रुपियाँ मात्रै खर्च गरिएको छ । बजेट दुई करोड रुपियाँ विनियोजन भए पनि खर्च हुनसकेन । थप बजेट माग भएको र परियोजना अगाडि बढ्ने मन्त्रालयको विश्वास छ । महादेव खोला कोरिडोर पनि तीन किलोमिटर मात्रै ट्र्याक खोलिएको छ । आयोजनाका लागि १७ करोड रुपियाँ बजेट प्राप्त भए पनि १५ करोड रुपियाँ मात्रै खर्च भएको छ ।
सडक विस्तार कछुवागतिमा
काठमाडौँ उपत्यकामा ६६७ किलोमिटर सडक विस्तार गर्ने लक्ष्य राखिएको भए पनि हालसम्मको प्रगति ५० प्रतिशतको हाराहारीमा मात्रै छ । हालसम्म ३५० किलोमिटर सडक मात्रै विस्तार भएको काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले जानकारी दिनुभयो ।
यस्तै गत आर्थिक वर्षमा नै विस्तार हुनुपर्ने १३० किलोमिटर सडक समेत स्थानीयवासीको अवरोध, अदालतको ‘स्टे अर्डर’ लगायतका कारणबाट रोकिएको छ । रोकिएको सडक विस्तारलाई अगाडि बढाउने र २६ किलोमिटर चालु आवमा विस्तार गर्ने सरकारको तयारी रहेको उहाँको भनाइ छ । काठमाडौँ उपत्यकामा सडक विस्तारका लागि हालसम्म दुई अर्ब ९४ करोड १६ लाख रुपियाँ खर्च भएको छ ।
सहरी विकास मन्त्री प्रभु साहले सडक विस्तार कार्यमा भइरहेको ढिलाइलाई कम गर्दै तोकिएको समयमा नै आयोजना सम्पन्न गर्न र नदी किनारका कोरिडोरको विकासमा आफूले विशेष कार्यसूचीमा राखेर काम सुरु गरेको बताउनुभयो । गोरखापत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved