विदेशमा हजारथरिका नेपाली सामान !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 31, 2017 | 08:29:47 AM मा प्रकाशित

laxmi  sunrise bank

आयात र निर्यातमा बढ्दो अन्तरबीच पनि नेपाली वस्तु तथा उत्पादनको विदेशी बजारमा उपस्थिति भने फैलँदै गएको छ ।  भन्सार विभागले हालै सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तर्राष्ट्रिय व्यापारको तथ्याङ्कअनुसार विदेशमा हजारभन्दा बढी किसिमका नेपाली सामानको निर्यात भएको उल्लेख छ ।  गत आर्थिक वर्षमा मात्रै नेपालबाट ७४ अर्ब ७१ करोड २६ लाख ५७ हजार रुपियाँ बराबरका एक हजार १३६ थरिका नेपाली सामान निर्यात भएको विभागले जनाएको छ ।  विभागका अनुसार यस अवधिमा करिब तीन दर्जन देशमा नेपाली सामान निर्यात भएको छ ।
मूल्यका हिसाबले सबैभन्दा धेरै निर्यात हुने वस्तुमा गलैँचा रहेको छ ।  विभागका अनुसार अघिल्लो आवमा सात अर्ब २९ करोड ९५ लाख रुपियाँ बराबरको गलैँचा विदेश निर्यात भएको छ ।  गलैँचा पछि विभिन्न किसिमका जुस नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तु मध्ये दोस्रो स्थानमा छ ।  समीक्षा अवधिमा तीन अर्ब ५३ करोड ९० लाख रुपियाँको जुस निर्यात भएको छ ।  त्यस्तै यस बीचमा तीन अर्ब ५३ करोड ५८ लाख रुपियाँ बराबरका उनी वस्तु, तीन अर्ब २१ करोड २५ लाख रुपियाँका बुना कपडा निर्यात भएको तथ्याङ्क छ ।  दुई अर्ब ४३ करोड ७४ लाख रुपियाँसहित सल, मफलर लगायतका कपडा धेरै निर्यात हुने वस्तुको सूचीमा पाँचौँ स्थानमा छ ।
नेपालबाट गत आवमा जनावरको मासुदेखि दुग्धजन्य विभिन्न उत्पादन निर्यात भएका छन् ।  त्यस्तै मह, फलफूल, विभिन्न किसिमका तरकारी, अदुवा, अलैँचीजस्ता मसला, चामल, मैदा लगायतका खाद्यान्न पनि विदेश निर्यात हुने प्रमुख वस्तुमा छन् ।  त्यस्तै बोट बिरुवाका लागि आवश्यक बीउदेखि उखु, रुद्राक्ष, तेल, पास्ता, बिस्कुटजस्ता वस्तु पनि नेपालले निर्यात गरेको छ ।  जौबाट बन्ने नेपाली बियर पनि आधा दर्जनभन्दा बढी देशमा निर्यात भएको तथ्याङ्कमा उल्लेख छ ।  चुरोट, कुकुर बिरालोका लागि खाना, पान मसाला, कार्बनडाइअक्साइड, विभिन्न किसिमका औषधि, कत्था, पेन्ट्स, आँखा र ओठका शृङ्गार सामग्री, स्याम्पु, शरीरमा लगाउने क्रिम, सलाई, तारपिन तेलजस्ता वस्तु पनि नेपालबाट विदेश निर्यात भएको छ ।  निर्माणका लागि आवश्यक पाइप, स्टिल, जस्ता, प्लास्टिक ट्युब पनि नेपालबाट निर्यात हुने वस्तुको सूचीमा छन् ।  झ्याल ढोकाका लागि काठ, भान्साका लागि आवश्यक सामग्री, हाते कागज पनि नेपालले निर्यात गरेको छ ।  महिलाले प्रयोग गर्ने कपडाको पनि विदेशमा माग बढ्दैगएको पाइएको छ ।  विदेशमा नेपाली जुत्ताको निर्यात पनि तुलनात्मक रुपमा वृद्धि हुँदैगएको देखिएको छ ।  दाह्री काट्ने रेजरदेखि सवारीका एसेसरिज पनि विदेश निर्यात भएका छन् ।

एक हजारको मात्रै पनि निर्यात
गत आर्थिक वर्षमा नेपालबाट एक हजार रुपियाँको मात्रै पनि वस्तु निर्यात भएको छ ।  जनावरको दानाका रूपमा प्रयोग हुने ‘फोरेज’ गत आवमा एक हजार रुपियाँको निर्यात भएको विभागको तथ्याङ्क छ ।  त्यस्तै मर्मत सम्भारमा प्रयोग हुने एक किसिमको क्रिम पनि एक हजार रुपियाँको मात्रै निर्यात भएको छ ।  गत आवमा चार किलो बराबरको उक्त क्रिम विदेश निर्यात भएको थियो ।  दस हजार रुपियाँभन्दा कम रुपियाँको मात्रै निर्यात हुने वस्तुको सूची पनि आधा दर्जनभन्दा बढी छ ।  गोरखापत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved