मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनमा आ-आफ्नो क्षेत्रबाट पार्टीलाई जिताउने सांसदहरुलाई मन्त्री पद पुरस्कार दिने घोषणा गरेका छन्।
यसैगरी उनले आआफ्नो क्षेत्रबाट चुनाव जिताउने पार्टीका पदाधिकारीलाई एक तह बढुवा गर्ने आश्वासन पनि दिएका छन् ।
साउन अन्तिममा प्रदेश २ मा गरिने पार्टीको भेलाबारे तयारी गर्न बुधबार बोलाइएको पदाधिकारी बैठकमा गच्छदारले यस्तो घोषणा गरेका हुन् । सो बैठकमा सहभाभी एक नेताका अनुसार गच्छदारले आफ्नो क्षेत्रमा चुनाव जिताउने सांसदलाई मन्त्री पुरस्कार र पार्टी पदाधिकारीलाई एक तह बढुवा गर्ने आश्वासन दिएका थिए ।
‘पुरस्कार भनेर पैसा दिने कुरा त गर्नु भएन तर सांसद भएकालाई मन्त्रीमा सिफारिस गर्ने र मन्त्री नभएका पार्टीका पदाधिकारीलाई एक तह बढुवा गर्ने अध्यक्षको आशय थियो,’ बैठकमा सहभागी सांसद योगेन्द्र चौधरीले भने, ‘अध्यक्षज्यूले आआफ्नो क्षेत्रमा चुनाव नजिताउने नेताहरूलाई कारबाहीस्वरूप घटुवा गर्ने पनि बताउनुभएको थियो।’ भुवन शर्माले नागरिक दैनिकमा खबर लेखेका छन् ।