बाढीको वितण्डा: छानो छोडेर, मानो बोकेर अज्ञात गन्तव्य तर्फ पीडित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 13, 2017 | 07:09:24 AM मा प्रकाशित

laxmi  sunrise bank

शनिबार रातिसम्म ३३ को मृत्यु

काठमाडौं, २९ साउन । शुक्रबार रातिदेखि शनिबार दिनभर परेको भीषण वर्षापछिको डुबान र बाढीपहिरोले घर भत्किँदा ठूलो भौतिक र मानवीय क्षति भएको छ । शनिबार रातिसम्म ३३ जनाको मृत्यु भएको खबर गृह मन्त्रालयले पुष्टि गरेको छ । बाढी प्रभावित तराई र पहिरो प्रभावित पहाडका जिल्ला–जिल्लाबाट सूचनाहरू संकलन भइरहेकाले मृतकको संख्या बढ्न सक्ने गृहप्रवक्ता दीपक काफ्लेले बताए ।

शनिबार साँझसम्मको वर्षा

सिमरा २१७.२ मिलिमिटर नेपालगन्ज १६९.३ मिलिमिटर दाङमा १६७.४ मिलिमिटर जनकपुर १३७.६ मिलिमिटर भैरहवा ३९.६ मिलिमिटर काठमाडौं ३०.८ मिलिमिटर वर्षा भयाे ।

वर्षा आइतबार रातिसम्म

तराई क्षेत्रमा आइतबार रातिसम्म पनि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाको अनुमान छ । बंगालको खाडीबाट ठूलो मात्रामा जलवाष्प आइरहेकाले भारी वर्षाको प्रक्षेपण गरिएको मौसमविद् सुजन सुवेदीले बताए ।

सप्तकोसी :  कूटनीतिक पहलले पनि ढोका खुलेनन्

सप्तकोसी नदीमा पानीको बहाव खतराको संकेतभन्दा माथिबाट बगिरहेको छ । परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय राजदूतलाई काठमाडौंमा र दिल्लीस्थित दूतावासले भारतीय विदेश मन्त्रालयमा फोन गरेर सबै ढोका खोलिदिन आग्रह गरेका थिए । तर, शनिबार राति अबेरसम्म पनि ५६ मध्ये ३७ ढोका खोलिएको छ ।

तराईको ८०%  भूमि डुबानमा

गृह मन्त्रालयका अनुसार तराईको ८० प्रतिशत भाग डुबानमा परेको छ । र, मुख्यगरी झापा, मोरङ, सुनसरी, बारा, सर्लाही, दाङ र बर्दियामा मानवीय क्षति भएको छ । त्यस्तै, पहाडी क्षेत्रका पाल्पा, सिन्धुली र पाँचथरमा पनि पहिरोले सर्वसाधारणको ज्यान गएको छ । हजारौँ परिवार विस्थापित भए पनि गृह मन्त्रालयले समेत यकिन संख्या निकाल्न सकेको छैन । सयौँ अहिले पनि सम्पर्कबाहिर छन् ।

डेढ लाख क्विन्टल चामल मौज्दात

बाढीले क्षति गरेको क्षेत्र बिर्तामोडमा चार हजार, विराटनगरमा चार हजार, लहानमा ३० हजार, वीरगन्जमा २० हजार क्विन्टल चामल मौज्दात रहेको खाद्य संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए । देशभर डेढ लाख क्विन्टल चामल मौज्दात रहेकाले सरकारले भनेको ठाउँमा पुर्याउन संस्थान तत्पर रहेको उनको भनाइ छ ।

उद्धार गर्न हेलिकोप्टर उड्न सकेनन्

शनिबार साँझ बालुवाटारमा गृहमन्त्री, रक्षामन्त्री, प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्रका महानिरीक्षक, अनुसन्धानका प्रमुखसँगको बैठकमा प्रधानमन्त्रीले तत्काल उद्धारमा सम्पूर्ण शक्ति खटाउन निर्देशन दिए । उद्धार र राहतका लागि हेलिकोप्टर तयार राखिए पनि मौसमका कारण परिचालन गर्न नसकिएको गृहमन्त्रीको भनाइ थियो ।

तराईका निजी विद्यालय पनि बन्द

तराईका सामुदायिक विद्यालयमा बर्खेबिदा छ भने बाढीले निजी विद्यालय पनि बन्द हुन थालेका छन् । शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालका अनुसार जिल्ला दैवीप्रकोप उद्धार समितिले विद्यालय बन्द गर्न सक्नेछ । त्यस्तै, झापादेखि बर्दियासम्म नै जनधनकै सुरक्षा महत्वपूर्ण भएकाले विद्यालय स्वतः बन्द भइसकेको प्याब्सनका वरिष्ठ उपाध्यक्ष डिके ढुंगानाले बताए ।

स्वास्थ्य मन्त्रालयको हटलाइन जारी

देशभरिका सरकारी स्वास्थ्यकर्मीलाई छुट्टीमा नबस्न, तालिम, गोष्ठी स्थगित गर्न र औषधि र जनशक्तिको व्यवस्था मिलाउन स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले निर्देशन दिएका छन् । मन्त्रालयले विपत् व्यवस्थापनको समन्वय गर्न हटलाइन नम्बर ०१–४१००१८७/०१–४२६२२६८ र मोबाइल नम्बर ९८५१०९६०८९ जारी गरेको छ ।

विमानस्थल डुबेपछि उडान प्रभावित

विराटनगर विमानस्थलको रनवेमा श्री एयरलाइन्सको जहाजको चक्कासमेत डुबेको छ । विमानस्थल कार्यालयभित्रका फर्निचर र कागज डुबेका छन् । जनकपुर र भद्रपुरमा पनि शनिबार आंशिक उडान भए । पश्चिमतर्पmका आन्तरिक र अन्तर्राष्ट्रिय उडान भने नियमित रहेको विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले बताए ।

सावधान बनाउन सवा ५ लाख एसएमएस

बाढीको उच्च जोखिम रहेका क्षेत्रका सर्वसाधारणलाई सावधान बनाउन जल तथा मौसम विज्ञान विभागले पाँच लाख २५ हजार एसएमएस पठाएको छ । विभागले एसएमएस पठाएकै नम्बर १४५५ मा निःशुल्क फोन गर्न सकिने व्यवस्था मिलाएको महानिर्देशक ऋषि शर्माले जानकारी दिए । मुख्य प्रभावित पूर्वी क्षेत्रमा अवरुद्ध टेलिफोन र इन्टरनेट पनि शनिबार साँझदेखि सुचारु भएको छ ।

बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

पूर्व–पश्चिम राजमार्गको इनरुवादेखि भान्टाबारीसम्मको दुई किलोमिटर सडकमा सतहभन्दा तीन फिटमाथिसम्म पानी । नवलपरासीको दाउन्नेदेखि बर्दघाटसम्मको सडकमा ४० मिटर सडक भासिएपछि यातायात अवरुद्ध । दाङको कुसुममा सडक बग्दा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, घोराही–तुल्सीपुर सडकको मोतिपुरबीचको सडक भेलले बगाएको छ । नयाँ पत्रिकामा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved