१५ सय कर तिर्न ३० हजार खर्च

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 18, 2017 | 07:16:42 AM मा प्रकाशित

laxmi  sunrise bank

पाण्डवगुफा–८ गोत्रीका हंस नेपाली आफ्नो फर्मको कर तिर्न आन्तरिक राजस्व कार्यालय धनगढी आएको पाँच दिन भइसक्यो । सृष्टि निर्माण सेवा सञ्चालन गरेका उनले वार्षिक १ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्छ ।

सो रकम तिर्न उनले धनगढीमा धेरै नै प्रयास गरिसकेका छन् तर सफल भने हुन सकेका छैनन् । राजस्वबापत तिर्नुपर्नेभन्दा धेरै बढी ३० हजार रुपैयाँ खर्च भइसकेकाले उनी आजित भइसकेका छन् । त्यति मात्र होइन, राजस्व रकम तिर्ने दिन निश्चित भइनसकेकाले उनी थप पीडामा छन् ।

सुदूरपश्चिमका पहाडी जिल्लाका स्थानीयलाई कर तिर्न र कर चुक्ताको प्रमाणपत्र लिन धनगढी र महेन्द्रनगर जानुपर्ने बाध्यता छ । तर धनगढी र महेन्द्रनगर आउन मात्रै उनीहरूलाई पाँच दिनजति लाग्छ । अर्काे कुरा ती ठाउँ आएपछि पनि सजिलै राजस्व तिर्न सकिन्न । राजस्व तिरिसक्दा ठूलै युद्ध जितेको अनुभव गर्नुपर्ने बाध्यता छ ।

आन्तरिक राजस्व कार्यालय धनगढीले पहिले आफैं करको रकम बुझेको रसिद दिन्थ्यो । धेरै टाढाबाट आउँदा दुःख भोग्नुपर्ने भए पनि समयमै काम हुन्थ्यो । काम सकेपछि तुुरुन्तै घर फर्कन पाइन्थ्यो । खर्च पनि त्यति धेरै हुँदैनथ्यो ।

तर पछि राजस्व कार्यालय धनगढीले आफैं रकम लिन छाड्यो । राजस्व कार्यालयले कार्यालय परिसरभित्रै एभरेस्ट बैंक लिमिटेडको काउन्टर स्थापना ग¥यो । त्यहाँ कर तिर्न आउने सबैले सोही काउन्टरमा गएर कर तिर्नुपर्छ । ‘जब एभरेस्ट बैंक लिमिटेडको काउन्टरमा गएर रकम तिर्नुपर्ने व्यवस्था गरियो, त्यसपछि यो समस्या आएको हो,’ बझाङको छान्न खप्तड गाउँपालिकाका रामबहादुर सिंहले भने । उनले एभरेस्ट बैंकमा पर्याप्त कर्मचारी नभएकाले यो समस्या आएको बताए ।

सेती अञ्चलका पाँच जिल्लामा २८ हजारभन्दा बढी करदाता प्यानमा आबद्ध भएका छन् । त्यसमा २५ हजारजतिले प्रत्येक वर्ष कर तिर्ने र रिन्यु गर्ने गर्छन् । त्यसमध्ये पनि करिब २० हजार फर्म कैलाली जिल्लाका मात्र छन् । यी जिल्लामा ५ हजारभन्दा बढी फर्म भ्याटमा दर्ता भएका छन् । उनीहरू प्रत्येक वर्ष कर चुक्ता गर्न धनगढी आउनुपर्ने हुन्छ । अहिले धेरैमा साउनभित्रै कर तिरिसक्नुपर्ने भन्ने बुझाइ छ । समयमै कर नतिरे दुईगुणा बढी लाग्छ भन्ने बुझाइ पनि छ । त्यसैले पनि एकैपटक भीड लागेको हो ।

आन्तरिक राजस्व कार्यालय कैलालीका मुख्य कर अधिकृत कृष्णबहादुर बोहराले भने करदाताहरूले साउन महिनामै भीड गर्न जरुरी नभएको बताए ।‘भदौ–असोजभित्र तिरे पनि हुन्छ तर यो शिक्षा हामीले दिन सकेनौं । त्यसैले पनि भीड लागेको हो,’ उनले भने ।

मुख्य कर अधिकृत बोहराले पनि एभरेस्ट बैंकमा पर्याप्त कर्मचारी नभएकाले समस्या आएको बताए । कर तिर्न पनि समस्या भएपछि करदाताहरूले गाउँगाउँमा सिंहदरबार भन्ने नाराप्रति गहिरो व्यंग्य गर्न थालेका छन् । ‘भन्ने बेला गाउँगाउँमा सिंहदरबार भन्ने अनि सेवा प्रदान गर्ने ठाउँचाहिँ केन्द्रीकृत गर्ने, यस्तो पनि हुन्छ र †’ बूढीनन्दा नगरपालिकाका टेकबहादुर बोहराले भने । राजधानी दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved