अब चल सम्पत्ति धितोमा राखेर कर्जा पाइने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 21, 2017 | 07:51:27 AM मा प्रकाशित

laxmi  sunrise bank

धितोका लागि अचल (स्थिर) सम्पत्ति नभएकै कारण ऋण लिनबाट वञ्चित हुनुपर्ने अवस्था अब रहेन । आफूसँग भएको चल (चल्ती) सम्पत्ति धितो राखेरै ऋण लिन सकिन्छ अचेल । सुरक्षित कारोबार ऐनअनुसार सरकारले यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । उक्त ऐन आएको करिब एक दशकपछि कर्जा सूचना केन्द्रले गैरबैंकिङ क्षेत्रले पनि चल्ती धितोमा कर्जा प्रवाह गर्न सक्ने व्यवस्था ल्याएको हो । यसकारण ऋणकै लागि बैंक तथा वित्तीय संस्थामै जानुपर्ने बाध्यता पनि अब छैन । गैर बैंकिङ क्षेत्रले पनि चल्ती धितोमा आफूले चाहेको व्यक्ति वा संस्थालाई ऋण दिन सक्छ । 

नयाँ व्यवस्थाअनुसार गैरबैंकिङ क्षेत्रले पनि चल सम्पत्ति धितोमा कर्जा प्रवाह गर्न पाउँछन् । ‘सुरक्षित कारोबार दर्ता कार्यालय’ ले काम सुरु गरेसँगै गैरबैंकिङ क्षेत्रलाई यस्तो करोबार गर्न कानुनी रूपमा बाटो खुलेको हो । ‘सुरक्षित कारोबार ऐन ०६३’ अन्तर्गत कर्जा सूचना केन्द्रले छुट्टै विभाग स्थापना गरी काम सुरु गरेको हो । कार्यालयले गत जेठ १ गतेदेखि चल सम्पत्ति धितोमा व्यक्ति तथा संस्थाद्वारा प्रवाह भएको कर्जाको सूचना दर्ता सुरु गरेको छ । गैरबैंकिङ क्षेत्रमा पनि कर्जा कारोबार व्यवस्थित र विस्तार गर्ने उद्देश्यले सुरक्षित कारोबार दर्ता कार्यालय स्थापना गरी काम सुरु भएको कर्जा सूचना केन्द्रका प्रमुख कार्यकारी अधिकृत अनिलचन्द्र अधिकारीले बताए । ‘नेपाली कर्जा बजारलाई व्यवस्थित र विस्तार गर्न खोजेका हौं,’ उनले भने । गैरबैंकिङ क्षेत्रबाट चल सम्पत्ति धितोमा प्रवाह भएको कर्जालाई नियमन दायरामा ल्याउनुका साथै सूचना अभिलेख र वितरण गर्ने उद्देश्यले यस्तो काम सुरु भएको उनको दाबी छ । 

नेपालमा सुरक्षित कारोबार ऐन कार्यान्वयन हुन नसक्दा भुक्तानी प्रणाली व्यवस्थित हुन सकेको छैन । यस्तै बैंकिङ क्षेत्रभन्दा बाहेकले चल सम्पत्ति धितोमा प्रवाह भएको कर्जाको सूचना अभिलेख हुन सकेको छैन । सुरक्षित कारोबारसम्बन्धी ऐन करिब १ दशकअघि निर्माण भए पनि सञ्चालन संयन्त्रको टुंगो नलागेकाले कार्यान्वयनमा आएको थिएन । सोही कारण केही समयअघि अर्थ मन्त्रालयले सुरक्षित कारोबार सञ्चालनको जिम्मा कर्जा सूचना केन्द्रलाई दिएको थियो । सोही निर्देशनका आधारमा केन्द्रले कार्यालय स्थापना गरी काम सुरु गरेको हो । यसअघि केन्द्रले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको मात्र सूचना अभिलेख तथा वितरण गर्दै आएको थियो । अब केन्द्रले सबै प्रकारका कर्जाको सूचना अभिलेख तथा वितरण गर्नेछ । सुरक्षित कारोबार दर्ता कार्यालय सञ्चालनमा आएपछि बैंक तथा वित्तीय क्षेत्रले चल सम्पत्ति धितोमा प्रवाह गरेको कर्जाको सूचना पनि यही कार्यालयमार्फत अभिलेख राखिने जनाइएको कान्तिपुरमा खबर छ । 

सुरक्षित कारोबार दर्ता गरेर व्यक्ति तथा संस्थाले कानुनी रूपमा आफ्नो चल सम्पत्ति धितोमा कर्जा प्रवाह गर्न पाउनेछन् । ऋणदाता र ऋणीबीच आपसी सम्झौतामा गरिने यस्तो कारोबारबारे सूचना सुरक्षित कारोबार दर्ता कार्यालयमा दर्ता गराउनुपर्नेछ । त्यसपछि मात्र त्यो कारोबारले कानुनी मान्यता पाउनेछ । कार्यालयले प्रतिसूचना ५ सय रुपैयाँका दरले सूचना दर्ता गर्नेछ । त्यसको समय अवधि ५ वर्षसम्म रहनेछ । सो अवधिमा चल सम्पत्तिको धितोमा प्रवाह भएका सबै कर्जाको सूचना प्राप्त गर्न सकिनेछ । पछिल्लो समयमा अनौपचारिक क्षेत्रमा तीव्र रूपमा बढदै गएको छ । सुरक्षित कारोबार दर्ता प्रक्रिया सुरु भएपछि अनौपचारिक क्षेत्र साँघुरिनुका साथै औपचारिक क्षेत्रको आकार वृद्धिमा टेवा पुग्ने दाबी केन्द्रको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved