थप तीनवटा जीवन बिमा कम्पनीले लिए लाइसेन्स, महालक्ष्मीलाई पुंजी पुर्याउन सकस

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 27, 2017 | 05:39:27 AM मा प्रकाशित

laxmi  sunrise bank

बिमा समितिबाट थप तीनवटा जीवन बिमा कम्पनीहरूले सञ्चालन अनुमति लाइसेन्स लिएका छन् । सिटिजन्स लाइफ, स्टार लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबार लाइसेन्स लिएको समितिले जनाएको छ । योसँगै नेपालमा लाइसेन्स प्राप्त जीवन बिमा कम्पनीको संख्या १८ पुगेको छ ।

अर्थमन्त्रालयबाट सैद्धान्तिक सहमति पाएका १० नयाँ जीवन बिमा कम्पनीमध्ये नौ वटा कम्पनीहरूले पुँजी कायम गरी लाइसेन्स लिइसकेका छन् । यसमध्ये आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले पूर्वाधार तयार पारी भदौ १ गतेदेखि नै कारोबार समेत सुरु गरिसकेको छ । तर, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले भने अहिलेसम्म पुँजी पुर्याउन सकेको छैन ।

बिमा समितिले कम्पनीहरूलाई गत जेठमा पुँजी कायम गरी आउन तीन महिनाको अवधि दिएको थियो । समितिले दिएको समय अवधि सकिएपछि सोही दिन अर्थमन्त्रालयले ४५ दिन थप गर्न निर्देशन दिएको छ । यसले महालक्ष्मीलाई पुँजी पुर्याउन राहत मिलेको छ ।

जीवन बिमा कम्पनी सञ्चालनका लागी बिमा समितिमा पुगेका कम्पनीमध्ये असार २० मा आईएमई लाइफ, युनियन लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले लाइसेन्स लिएका थिए । जसमध्ये ज्योति लाइफ र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी २ अर्ब रहेको छ भने युनियन लाइफ इन्स्योरेन्स कम्पनीको २ अर्ब १५ करोड चुक्ता पुँजी रहेको समितिले बताएको छ ।

साउन १८ मा रिलायन्स लाइफ, रिलायबल लाइफ र सन्नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाइसेन्स लिएका थिए । तीनवटै कम्पनीको चुक्ता पुँजी २ अर्ब रूपैयाँ रहेको समितिले बताएको छ । जसमध्ये कम्पनीहरूले ७० प्रतिशत पुँजी कायम गरेका छन् ।

लाइसेन्स लिएका कम्पनीहरू ६ महिनाभित्र सञ्चालनमा आइसक्नुपर्नेछ । उक्त अवधिभित्र कम्पनीहरूले नौ वटा शर्त पूरा गर्नुपर्ने समितिमा उपनिर्देशक शाम्बाराज लामिछानेले बताए ।

कार्यलय स्थापना तथा भौतिक पूर्वाधार निर्माण, कर्मचारी नियुक्ती, कम्पनीको दिग्दर्शन निर्माण, कर्मचारी विनियमावली निर्माण, अण्डर राइटिङ र क्लेम सेटलमेन्ट म्यानुअल, आर्थिक प्रशासनसम्बन्धी विनियम, संस्थागत संरचना निर्माण, पुनर्बिमासम्बन्धी सम्झौता र विमांकीय नियुक्ती गरेपछि मात्रै कम्पनीहरूले व्यवसाय सञ्चालनको अनुमति पाउने उनले बताए ।

बिमा समितिले गत चैत ३१ मा नयाँ विमा कम्पनीहरूको लागि लाइसेन्स खुल्ला गरेको थियो । यस अघि नै रजिष्ट्रार कार्यलयमा दर्ता भइसकेका कम्पनीहरूलाई तीन साताको समय दिएर अद्यावधिक गरेर आउन निर्देशन दिएको खबर आजको कारोबर दैनिकमा छापिएको छ।

समितिको दिएको अवधिसम्ममा १४ वटा अद्यावधिक भइ कम्पनीका सञ्चालनको अनुमति माग्दै समिति पुगेका थिए । जसमध्ये १० वटा जीवन बिमा कम्पनी थिए भने ४ वटा निर्जीवन बिमा कम्पनी थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved