पाँच घण्टा हिडेर आउदा पनि अन्न किन्न नपाएपछि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 04, 2017 | 04:34:28 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं पाँच घन्टा पैदल हिँडेर खाद्य डिपो आएका बारेकोट गाउँपालिका(३ का दलजीते कामी चामल नपाएपछि निराश भएर रित्तै फर्किए। घरमा अन्न सकिएपछि उनले गाउँभरि अन्न खोजे तर पाएनन्।गाउँमा नपाएपछि नायकवाडाको घाटमा रहेको खाद्य संस्थानको डिपोमा चामल लिन आएका थिए। ‘डिपोमा पनि चामल नभएको भन्दै दिनुभएन’, उनले भने, ‘खाद्यान्न किन्न टाढा जाने पैसा छैन। नजिकै पाइँदैन। अब कसरी छाक टार्ने हो।’ 

आफ्नै खेतबारीबाट उत्पादन गरेको घरको अनाज सिद्धिएको र डिपोमा चामल नभएपछि दलजीतको परिवार समस्यामा परेको छ।त्यस्तै, बारेकोट ५ का जयधने सार्कीले गाउँमा उत्पादित अन्न सकिएको र नायकवाडाको घाटमा रहेको खाद्य डिपोमा पनि चामल नभएपछि गाउँमा खाद्य संकट परेको बताए।उनले भने, ‘न त खाद्य डिपोमा चामल पाइन्छ न गाउँमै, अब के गरेर गुजारा चलाऊँ। जहान परिवार पाल्नै गाह्रो भइसक्यो।’

नायकवाडाको घाट खाद्य डिपोमा लामो समयदेखि खाद्य आपूर्ति नहुँदा दलजीते र जयधनेजस्तै बारेकोटका हजारौं नागरिक खाद्य संकटको चपेटामा छन्।खाद्य संकटले गरिब, दलित र सीमान्तकृत समुदायलाई असर परेको छ। चाडवाड आइरहेको छ। दुई छाक टार्न पनि उनीहरूलाई निकै सकस परेको छ। कतिपयले भने दुई दिन पैदल हिँडेरै सदरमुकाम खलंगाबाट चामल लिने गरेका छन्। सदरमुकाम जाँदा चामल किन्ने पैसाजत्तिकै थप खर्च लाग्ने गरेको छ।

बारेकोट गाउँपालिका जुम्लासँग सिमाना जोडिएको दुर्गम स्थान हो। यो गाउँपालिकामा खाद्यान्न उत्पादन न्यून हुने गरेको छ। साउन, भदौमा यहाँ बर्सेनि खाद्य संकट पर्ने गरेको स्थानीय शिक्षक गोरखबहादुर सिंहको भनाइ छ।

यतिबेला बाटोघाटो बिग्रिएकाले खाद्यान्न ढुवानीमा निकै समस्या पर्ने गरेको छ। यहाँका मानिस मोटर चढ्न दुई दिन पैदल हिँड्नुपर्छ। नयाँ बाली नपाकेको, पुरानो अन्न सकिएको, स्थानीय पसलमा ढुवानी समस्याले खाद्यान्न मौज्दात नरहेकाले यो क्षेत्रमा खाद्यान्न अभाव भएको सिंहले बताए।

सरकारले घाट खाद्य डिपोका लागि एक हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ। उक्त कोटाको चामललाई सरकारले ढुवानी अनुदान दिने भएकाले स्थानीयलाई चामल निकै सस्तो पर्ने गरेको छ। अन्य व्यापारीले लिएको संस्थानको चामल आधा सस्तो पर्ने गरेको छ। तर, जतिबेला गाउँमा संकट पर्छ त्यतिखेरै डिपोमा चामल अभाव हुने गरेको स्थानीयको भोगाइ छ।

संस्थान जाजरकोटका निमित्त प्रमुख रामप्रसाद पौडेलले वारेकोटमा खाद्यान्न माग निकै रहेको बताए। उनले गत वर्षको मौज्दात चामल सकिएर २२ क्विन्टल मात्र बाँकी रहेको र थप चामल आउन केही समय लाग्ने बताए। डिपोमा चामल ढुवानीका लागि टेन्डर आह्वान भइसकेकाले दशैअघि नै डिपोमा चामल पुग्ने उनले बताएको आजको अन्नपूर्ण पोष्टमा खबर छ।

बारेकोट खाद्य असुरक्षित गाउँपालिकाका रूपमा रहेको कृषि विकास कार्यालयले जनाएको छ। उूक्त गाउँपालिकामा आगामी तीन महिना खाद्य संकट चुलिँदै जाने कार्यालयको अनुमान छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved