खल्ती डिजिटल वालेटका ग्राहकले नेपाल बैंकको अनलाईन बैंकिङ्ग सेवा प्रयोग गरेर मोवाइल वालेटमा नगद लोड गर्न सक्ने भएका छन् । खल्ती र बैंकबीच भएको डिजिटल बैंकिङ्ग सम्बन्धमा भएको सम्झौतासंगै ग्राहकले यस्तो सुविधा पाएका हुन् ।
सम्झौतामा खल्तीका तर्फबाट निर्देशक अमित अग्रवाल र प्रमुख ब्यवसाय विकास अधिकृत सदित घिमिरे तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलले हस्ताक्षर गरे ।
सम्झौता अनुसार ‘खल्ती’ डिजिटल वालेटका ग्राहकले नेपाल बैंकमा रहेको आफ्नो खातालाई जोडेर ‘खल्ती’मा नगद लोड नगरी सिधै बस्तु तथा खेवाको भुक्तानी गर्न सक्नेछन् । नेपाल बैंकसँगको सहकार्यपछि ‘खल्ती’ डिजिटल वालेटलाई जोडेर सिधै बस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सकिने बैंकको संख्या चार पुगेको छ । यसअघि एनआइसी एशिया, लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंकका ग्राहकले ‘खल्ती’ डिजिटल वालेटलाई खातासँग जोडेर सिधै भुक्तानी गर्दै आएको कम्पनीले जनाएको छ ।
कार्याक्रममा बोल्दै कम्पनीका निर्देशक अमित अग्रवालले नेपाल बैंकसँग सहकार्य गर्न पाउनु आफ्नो लागि गौरवको कुरा भएको बताए । उनले भने, ‘ठूलो नेटवर्क र लाखौं ग्राहक भएको बैंक ‘खल्ती’सँग जोडिएपछि धेरै ग्राहकले ‘खल्ती’को सेवा उपयोग गर्ने हाम्रो विश्वास छ ।’ खल्तीसँग बैंक खातालाई जोडेपछि सिधै वालेटमार्फत भुक्तानी गर्न सकिने भएकाले वालेटमा नगद लोड गर्ने झण्झट पनि ग्राहकलाई नपर्ने उनले बताए ।