संचालनमा आयो बिना इन्टरनेट भुक्तानी गर्न मिल्ने 'नमस्ते पे', यस्तो छ प्रयोग गर्ने तरीका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2021 | 07:09:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड मार्फत प्रदान गरिने नमस्ते पे मोबाईल वित्तीय सेवाको प्रथम चरणको व्यावसायिक सञ्चालन सुरु भएको छ । यो कम्पनी नेपाल टेलिकम र राष्ट्रिय बाणिज्य बैंकको संयुक्त लगानीमा स्थापित भएको हो  ।

आज नमस्ते पे वालेट सेवाको लोगो अनावरण, एण्ड्रोइड मोबाइल एप अनावरण तथा ५०० शर्टकोड  युएसएसडिबाट सो सेवा प्रयोग समेतको शुरुवात गरिएको हो । 

कम्पनीका अनुसार मोबाइल सेट बजारको ९५% भन्दा बढी हिस्सा ओगटने एण्ड्रोइड सिस्टमको मोबाइल एप यस चरणमा उपलब्ध हुनेछ । आइओएसको लागि केही औपचारिक तयारी बाँकी भएकोले सो सिस्टमका मोबाइलको लागि पनि सेवा यथाशिघ्र सञ्चालनमा ल्याइनेछ । स्मार्ट फोनको अलाबा सामान्य फोनबाट पनि किबोर्ड प्रयोग गरी युएसएसडि प्रविधिको माध्यमबाट इन्टरनेट नभएको स्थानमा समेत मोबाइल वित्तीय सेवाको शुभारम्भ गरिएको हो। हाल नेपाल टेलिकमको नेटवर्कमा उपलब्ध सो सेवा प्रयोगको लागि *500# डायल गरी सेवा प्रयोग गर्न सकिनेछ । यस सेवालाई पनि क्रमशः थप विविधिकरण गर्दै लगिने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीका अनुसार यस प्रथम चरणको सेवामा नेपाल टेलिकमको मोबाइल टपअप, विद्युत महसुल तथा खानेपानी महसुल भुक्तानीको सेवाहरू उपलब्ध हुनेछन् । यसैगरी मोबाइल वालेटमा पैसा लोड गर्नको लागि नेपाल बैंक लिमिटेड, राष्ट्रिय बाणिज्य बैंक सहित करीब ९ वटा बैंकहरूको खाता लिंक गरी पैसा लोड गर्न सकिनेछ । बाँकी बैंकहरूबाट पैसा लोड गर्नको लागि क्रमशः व्यवस्था गर्दै लगिनेछ । बैंकहरूको अलावा यस कम्पनीको देशव्यापी एजेण्ट नेटवर्कबाट पैसा लोड गर्ने सुविधा पनि यथाशिघ्र शुरु गरिनेछ । यसको लागि एजेण्ट नेटवर्क तयार गर्ने कार्य भैरहेको छ । 

नमस्ते पे वालेट छुट्टै मोबाइल वालेट सेवा भएको र नेपाल टेलिकमको मोबाइल ब्यालेन्सलाई नै पैसाको रूपमा उपयोग गर्न नसकिने कम्पनीले जनाएको छ। नमस्ते पे वालेटमा बैंक वा एजेण्ट नेटवर्क मार्फत रकम लोड गरेर मात्र विद्युतीय भुक्तानिको लागि प्रयोग गर्न सकिन्छ । 

कम्पनीले भनेको छ 'मोबाइल वित्तीय सेवाको लागि वैंक, मर्चेण्ट, युटिलिटि सेवा प्रदायक, अनलाईन व्यवसाय सञ्चालक लगायतका विविध साझेदार र सरोकारवालाहरूसंग व्यावसायिक, वित्तीय सहकार्य तथा प्राविधिक अन्तरआवद्धताको विकास एवम् परीक्षण समेत गर्नुपर्ने भएकोले सम्भावित सवै किसिमका सेवाहरू एकैपटक सञ्चालन गर्न चुनौतिपूर्ण हुने र बढी समय लाग्ने हुन्छ । साथै प्रारम्भिक चरणमा थोरै सेवासहित सञ्चालन गर्दा शुरुमा आउन सक्ने समस्याहरूको पहिचान र निराकरण गर्न समेत थप सहज हुने हुन्छ। यसर्थ पनि कम्पनीले चरणवद्ध रूपमा सेवाहरू थप्दै र विविधिकरण गर्दै जाने रणनीति अङ्गिकार गरेको छ । सेवाको प्रारम्भिक सञ्चालन पश्चात् देखिने समस्याहरूको पहिचान र दीगो समाधान गर्न तथा क्रमिक रूपमा सेवाहरू थप गर्दै समग्र नमस्ते पे सेवालाई थप ग्राहकमुखी र उपयोगी बनाउँदै लैजान कम्पनी प्रतिवद्ध छ । '

 सार्वजनिक क्षेत्रबाट पहिलोपटक शुरु हुन लागेको नमस्ते पे वालेट सेवाले देशमा प्रविधिको प्रयोग मार्फत वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको अपेक्षा रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved