
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारण सभा पुस २८ गते, २०८१ (जनवरी १२, २०२५) मा काठमाडौंमा सम्पन्न गरेको छ। सभाले लेखापरीक्षण प्रतिवेदनसहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब, र नगद प्रवाह विवरण स्वीकृत गरेको छ।
साथै, १९% बोनस सेयर र कर प्रयोजनका लागि १% नगद लाभांश वितरण गर्ने निर्णय गरिएको छ। यसपछि कम्पनीको चुक्तापूँजी रु. १ अर्ब २६ करोड ८२ लाख ७० हजार ९०० पुग्नेछ। बैठकले अधिकृत पूँजी वृद्धि गरी रु. २.२५ अर्ब पुर्याउने निर्णय पनि गरेको छ।
पूँजी वृद्धिपछि कम्पनीले नेशनल पेमेन्ट स्वीच, राष्ट्रिय र अन्तरदेशीय भुक्तानी प्रणालीको विकास, जोखिम व्यवस्थापन सुदृढीकरण, र विद्यमान पूर्वाधारहरूको स्तरोन्नतिमा उपयोग गर्ने योजना बनाएको छ। आ.व. २०८०/८१ मा कम्पनीमार्फत फर्छ्यौट भएका कारोबार ५४% ले वृद्धि भई, कुल १५६ खर्ब बराबरका १२.६ करोड कारोबार सम्पन्न भएको छ। कम्पनीको खुद नाफा ६.२% ले वृद्धि भएको छ।
सभाले तीन सञ्चालकहरूलाई पुनः निर्विरोध निर्वाचित गरेको छ। हिमालयन बैंकका उप–प्रमुख कार्यकारी अधिकृत उज्जल राजभण्डारी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, र सिद्धार्थ बैंकका प्रमुख सूचना प्रविधि सृजन कृष्ण मल्ल पुनः सञ्चालक समितिमा निर्वाचित भएका हुन्। एनसीएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५% र बैंक तथा वित्तीय संस्थाहरूको ९०.५५% स्वामित्व रहेको छ।
एनसीएचएलले विभिन्न भुक्तानी प्रणाली, जस्तै NCHL-ECC, NCHL-IPS, RPS र EFT Switch nufot connectIPS, CORPORATEPAY, connectRTGS, National Payments Interface (NPI) तथा NEPALPAY QR का लगायतका च्यानल प्लेटफर्म सञ्चालन गर्दै आएको छ। नेशनल कार्ड स्वीच र डोमेस्टिक कार्डको कार्यान्वयन प्रक्रियामा रहेको कम्पनीसँग हाल ५३ बैंक तथा वित्तीय संस्थाहरू र १०० भन्दा बढी गैर-बैंकिङ संस्थाहरू आवद्ध छन्।