
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र अन्तर्राष्ट्रिय भुक्तानी प्रविधि कम्पनी मास्टरकार्डबीच रणनीतिक सहकार्यको समझदारी भएको छ । यस सहकार्य अन्तर्गत अब नेपाल आउने विदेशी पर्यटकहरूले नेपालमा रहेका इन्टरअपरेबल क्युआर मर्चेन्टहरूमा आफ्नो मास्टरकार्ड प्रयोग गरी डिजिटल माध्यमबाट ‘स्थानीय जस्तै भुक्तानी’ गर्न सक्नेछन् ।
नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त भुक्तानी प्रणाली सञ्चालक एनसीएचएल र भुक्तानी प्रणालीमा विश्वभर काम गर्दै आएको मास्टरकार्डबीचको उक्त सम्झौताले सीमापार भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ ।
समझदारीपछि अब मास्टरकार्ड भएका पर्यटकहरूले एनसीएचएलले प्रवर्द्धन गर्दै आएको नेपालपे क्युआर प्रणालीमा आधारित क्युआर मर्चेन्टहरूमार्फत द्रुत र डिजिटल भुक्तानी गर्न सक्नेछन् । यस सहकार्यले न केवल डिजिटल भुक्तानीको पहुँच बढाउनेछ, तर नेपालका उपभोक्ता र व्यापारीहरूलाई पनि डिजिटल कारोबारको वातावरणमा सहभागी गराउने लक्ष्य लिएको बताइएको छ ।