महिलाद्वारा सञ्चालित व्यवसायलाई कर र ब्याजमा छुट दिन नेपाल चेम्बर्सका अध्यक्षको आग्रह

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Mar 08, 2021 | 08:49:59 PM मा प्रकाशित

sarbottam cement

नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेम्बरअन्तर्गतको नेपाल महिला चेम्बरले विशेष समारोह आयोजना गरेको छ । काठमाडौंको होटल ¥याडिसनमा सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनले समारोहको उद्घाटन गरे। उक्त अवसरमा उपराष्ट्रपति पुनले सामाजिक राजनीतिक रुपान्तरणमा महिलाहरूको महत्वपूर्ण भूमिका रहे पनि त्यो भूमिकाको बास्तविक सम्मान हुन नसकेको बताए।

“संविधानले महिलाहरूलाई समान अधिकार दिएको छ, सामाजिक न्यायसहितको समानुपातिक सहभागिताले समाजका सबै क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाएको छ”, उपराष्ट्रपति पुनले भने, “विश्वमै नेपाल उदाहरणीय बनेको छ । तर कानुनले दिएका अधिकारहरूको व्यवहारिक कार्यान्वयनका लागि अझ धेरै काम गर्न बाँकी छ ।”

दिनानुदिन बलात्कारका घटनाहरू बढ्नु चिन्ताको विषय भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले अपराधीहरूलाई कानुनी कारबाही गर्न नसक्दा समाजमा असुरक्षा बढेको र अन्तराष्ट्रियस्तरमा मुलुकको छविसमेत धुमिल भइरहेको बताए। 

 “कुनै पनि समाजमा महिलाहरूको अवस्था कस्तो छ भन्ने आधारमा उक्त समाजको प्रकृति र चरित्र थाहा हुन्छ”, उनले भने। उनले महिलाहरूद्वारा सञ्चालित उद्दमहरूको प्रवद्र्धनका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताए। कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै जानु चिन्ताको विषय भएको उनले बताए। 

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिलाहरूद्वारा सञ्चालित फर्म तथा व्यावसायिक प्रतिष्ठानहरूलाई करमा विशेष छुट दिन आग्रह गरे। कृषि तथा जलविद्युत क्षेत्रमा जस्तै महिला सञ्चालित उद्यम व्यवसायहरूलाई बैंकहरूले ब्याजदर घटाउने गरी सरकारले नीति ल्याउनुपर्ने अध्यक्ष श्रेष्ठले बताए। सरकारले महिलाद्वारा सञ्चालित व्यवसायलाई १५ लाखसम्म बिनाधितो ऋण दिने नीति लिए पनि विभिन्न झन्झट बेहोर्नुपरेको उनले बताए। 

“जति दिने हो, बिना झन्झट, स्वतःस्फुर्त पाउने व्यवस्था मिलाउन अनुरोध गदैछौँ”, उनले भने। अध्यक्ष श्रेष्ठले महिलाहरूले उत्पादन गरेका सामानहरू प्रयोग गर्न र विदेशसम्म निर्यात हुने वातावरण बनाउन आग्रह गरे।

नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले राजनीतिक आर्थिक अधिकार पाए पनि कार्यान्वयन फितलो हुँदा महिलाहरू लाभान्वित हुन नसकेको बताइन। महिलालाई आर्थिक रुपले सक्षम नबनाइ कानुनी अधिकारको पूर्ण उपयोग हुन नसक्ने उनले बताइन।  

महिलाहरूले गर्ने व्यवसायमा कर छुट तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न उनले माग गरिन। नेपाल महिला चेम्बरले महिलाहरूको क्षमता अभिवृद्धिमा कार्य गरिरहेको उल्लेख गर्दै उनले नीतिगत सुधारमा पनि आफूहरूले आवाज उठाइरहेको बताइन। 

कार्यक्रममा नेपालका लागि युरोपियन डेलिगेसनका प्रमुख नोना डेप्रेज, श्रीलंकाका राजदूत हिमाली सुभासिनी अरुना तिलका र अस्ट्रेलियन राजदूत फेलिसिटी जेनिभल्क पनि उपस्थिति थियो। 

उक्त अवसरमा उपराष्ट्रपति पुनले नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने ट्रेड फेयरको पनि उद्घाटन गरिन। सोमबारदेखि सुरु भएको व्यापार मेला बुधबारसम्म चल्नेछ ।

व्यवसायीहरू सम्मानित

१११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला चेम्बरले पाँचजना महिला व्यवसायीहरूलाई सम्मान गरेको छ । सम्मानित हुने महिला व्यवसायीहरूलाई प्रमुख अतिथि उपराष्ट्रपति नन्नदबहादुर पुनले सम्मानपत्र प्रदान गरे। आईटी एन्ड इन्नोभेसन अवार्डबाट अदिति गोयल सम्मानित भएकी छन्। यस्तै बिजनेस मोटिभेटर अवार्डबाट राधालक्ष्मी श्रेष्ठ सम्मानित भएकी छन्। एग्रो आन्टरप्रेनर अवार्ड झापाको कन्काई महिला ग्रुपले प्राप्त गरेको छ  भने महिला उद्यमी अवार्ड रेखा चौधरी शर्माले प्राप्त गरिन। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved