९० करोडको लागतमा गोल्छा समूहले खोल्यो फलाम उद्योग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2021 | 12:16:43 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्सा जिल्लामा करिब रु ९० करोडको लागतमा फलामजन्य (आइरन) उद्योग स्थापना भई सञ्चालनको प्रक्रियामा रहेको छ । उद्योग निर्माणको अन्तिम चरणमा छ । मेसिनको सेटिङ र फिनिसिङको काम अन्तिम चरणमा रहेको बताइएको छ । अब १० प्रतिशत काम मात्र बाँकी रहेको छ ।

गोल्छा समूहद्वारा स्थापना गरिएको हुलास आइरन इण्डष्ट्रिज प्रालि नामक सो उद्योग आउँदो वैशाख महिनाबाट सञ्चालनमा आउने भएको उद्योगका पदाधिकारीले जनाएका छन् । पर्साको वीरगञ्ज–पोखरिया सडक खण्डअन्तर्गतको विन्दवासिनी गाउँपालिकामा सो उद्योग स्थापना गरिएको हो । गोल्छा समूहका शरद गोल्छाको लगानीमा निर्माण भइरहेको सो उद्योगबाट वार्षिक ८० हजार टन फलामजन्य सामग्री उत्पादन हुने लक्ष्य राखिएको छ । उद्योग सञ्चालनपश्चात् त्यस उद्योगबाट पाइप, जस्तापाता, वायर र बोल्डर (तारजालीको) र एङ्गल उत्पादन हुने बताइएको छ । अठार बिघा जमिन क्षेत्रफलमा निर्माण भइरहेको सो उद्योग तीन वर्ष अगाडिदेखि निर्माण भइरहेको हो । गत वर्ष नै निर्माणसम्पन्न गरी सञ्चालन गर्ने योजना रहे पनि कोरोना महामारीका कारण उद्योग निर्माण सम्पन्न गर्नमा ढिलाइ भएको थियो । निर्माण ढिलाइका कारण उद्योग निर्माणको लागत पनि बढ्ने अनुमान रहेको व्यवस्थापन पक्षका पदाधिकारीले बताएका छन् ।

उद्योग सञ्चालनका लागि निर्माणकार्य छिटो सम्पन्न गराउनका लागि दैनिक ४०÷५० कामदार तथा प्राविधिकले काम गरिरहेका छन् । आधुनिक प्रविधिको प्रयोगबाट त्यस उद्योगबाट फलामजन्य सामग्री उत्पादन हुनेछ । वीरगञ्ज–पोखरिया क्षेत्रमा सञ्चालित उद्योगमध्ये सबैभन्दा ठूलो लगानीको उद्योग रहेको र यसको सञ्चालनबाट उद्योगले करिब एक हजार व्यक्तिलाई रोजगारी दिने बताइएको छ । विन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह (मोदी)ले उद्योग स्थापानाबाट अत्यन्त खुशी रहेको बताउँदै आर्थिक समृद्धि र रोजगारीका लागि उद्योग आवश्यक रहेको बताए । उद्योग सञ्चालनमा सबै पक्षले सहयोग पु¥याउनुपर्ने उनको भनाइ छ ।

गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जका प्रमुख शशिभूषणकुमार यादवले बारा र पर्सा जिल्लामा ठूला तथा साना उद्योग थपिँदै गएको उल्लेख गर्दै उद्योगले गुणस्तरीय सामग्री उत्पादन गर्नुपर्नेमा जोड दिए । अहिले नेपालमा फलामजन्य तथा सिमेन्ट उद्योग व्यापकरूपमा खुल्दै गएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved