एकैपटक २३५ जना उद्योगी व्यवसायी एमाले प्रवेश गर्नुको भित्री कथा

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 21, 2021 | 12:56:26 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित कार्यक्रममा २३५ जना उद्योगी व्यवसायीहरु नेकपा एमाले प्रवेश गरे । नेपाल उद्योग वाणिज्य महासंघका मानार्थ सदस्यसमेत रहेका निवर्तमान उपाध्यक्ष किशोर प्रधानसहित ठूलो संख्यामा एकैपटक उद्योगी व्यवसायी एमाले प्रवेश गरेपछि यो चाँजोपाँचो कसले मिलायो भन्ने कौतुहलता छ ।

कतिपयले भने छलफलका लागि वालुवाटार बोलाएर झुक्याएर एमाले प्रवेश गराईएको लख काटेका छन् । तर, २३५ जना उद्योगी व्यवसायीलाई झुक्याएर पार्टी प्रवेश गराउन सम्भव नभएको र उनीहरु स्वतःस्फुर्त रुपमा नै एमाले प्रवेश गरेको वालुटार स्रोत बताउँछ ।

कसरी मिल्यो माहोल ?

उद्योगी मोतिलाल दुगड प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार छन् । पूर्व उद्योग राज्यमन्त्रीसमेत रहेका दुगडकै अग्रसरतामा उद्योगीहरु एमाले प्रवेश गरेको स्रोतको दाबी छ । प्रतिनिधिसभा निर्वाचन २०७४ मा समानुपातिक तर्फबाट एमालेको सांसद बनेका उनले नै सबै व्यवस्थापन गरेर करिब ५ सय जना उद्योगीलाई वालुवाटार उतारेको र सोही क्रममा २३५ जनालाई एमाले प्रवेश गराएको बताइन्छ ।

यसअघिः
कांग्रेसका सभासद गोल्छाका छोरा सहित २३५ जना उद्योगी व्यवसायी एमाले प्रवेश

‘भित्रभित्रै सबै काम सकिएपछि यो कार्यक्रमको आयोजना भएको हो, को को प्रवेश गर्ने भनेर किशोर प्रधानसहित ४० जनाको नाम पहिल्यै फिक्स भईसकेको थियो’ वालुवाटार स्रोत भन्छ, ‘४० जनाको नाम पक्का भएपछि सल्लाहकार ज्यूले सबै उद्योगी व्यवसायीलाई म्यासेजमार्फत निमन्त्रणा गर्नु भएको हो, कार्यक्रम स्थलमा आएपछि अरु २ सय जना जतिले हामी पनि तयार छौँ भनेपछि एकैपटक २३५ जना एमाले प्रवेश गर्नु भएको हो ।’

बाहिर आएजस्तो थाहा नै नदिई पार्टी प्रवेश गराईएको नभई प्रवेश गर्न इच्छुकलाई मात्रै प्रवेश गराईएको वालुवाटार स्रोतले बताएको छ ।

‘झुक्यायो भनेर प्रवेश गर्ने कसैले भनेका छैनन्’ 

व्यवसायीलाई झुक्याएर पार्टी प्रवेश गराउने कुनै नियत नभएको प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार दुगड निकट स्रोतले बताएको छ । बाहिर आएका टिप्पणीहरु नकारात्मक किसिमका भएको भन्दै स्रोतले व्यवसायीलाई झुक्याउन सम्भव नभएको पनि बताएको छ ।

‘व्यवसायीलाई झुक्याउन सम्भवन हुन्छ ? त्यति धेरै व्यवसायी भेला भएको कार्यक्रममा एक जनाले मलाई झुक्याईयो भनेको सुन्नु भयो ?’ स्रोतले प्रश्न गर्दै भन्यो, ‘यदि झुक्याएको भए व्यवसायीले भन्ने थिएनन् र ? व्यवसायीले हामीलाई झुक्याईयो भनेको भए वालुवाटारमा थेग्न सकिन्थ्यो ? किशोर प्रधान जस्तो त्यति ठूलो उद्योगी झुक्किएर पार्टी प्रवेश गर्ने कुरा हुन्छ ?’

के लेखेका थिए दुगडले म्यासेजमा ?

मोतिलाल दुगडले कार्यक्रम आयोजनाबारे संस्थागत र व्यक्तिगत रुपमै खबर पठाएका थिए । उनले ५ सयभन्दा बढी उद्योगीलाई मोबाइलमै म्यासेज पठाएका थिए ।

‘सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीज्यूसँग निजी क्षेत्रका उद्योगी–व्यवसायीहरूको भेटघाट, छलफल तथा रात्री भोजको कार्यक्रममा उपस्थितिका लागि अनुरोध गर्दछु’ दुगडले लेखेका थिए ।

यस्तो छ भित्री कथा

आगामी निर्वाचनलाई लक्षित गरी उद्योगी र व्यवसायीलाई पार्टी प्रवेश गराईएको स्रोतले बताएको छ । यसबाहेक जेठ १५ गते आउने आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा उद्योगी व्यवसायीका माग सम्बोधन गराउन पार्टीमा आस्थावान उद्योगी व्यवसायीको ‘कोर टिम’ बनाउन र उक्त टिमले दिएको सुझावका आधारमा बजेट तर्जुमा गर्न प्रधानमन्त्रीले नै यो अग्रसरता लिएको वालुवाटार स्रोतले दाबी गरेको छ । 

‘अर्थ बझेको व्यक्तिलाई अर्थमन्त्री र उद्योगीलाई उद्योग राज्यमन्त्री बनाएर केही दीर्घकालिन महत्वका निर्णय गराउनु भएका प्रधानमन्त्रीले उद्योगी व्यवसायी मैत्री सरकार छ भन्ने उदाहरण दिन यो काम गर्नु भएको हो’ स्रोतले दाबीका साथ भन्यो, ‘अब आउने बजेटमा उद्योगी व्यवसायीका सकेसम्म धेरै माग समेटिने गरी छलफल गर्न प्रधानमन्त्रीले आफ्ना आर्थिक सल्लाहकारलाई जिम्मा दिनु भएको छ, यो त्यसैको एउटा पाटो हो ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved