महासंघको ‘५० लगानीकर्ता, ५० व्यवसायी’ कार्यक्रम घोषणा, ३ महिनासम्म प्रशिक्षण पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2021 | 06:15:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले ५० जना नव उद्यमीलाई सुरुवाती पूँजीसहित ‘५० लगानीकर्ता, ५० व्यवसायी’ कार्यक्रम घोषणा गरेको छ । महासंघले उद्यमशीलताको विकास गर्न आफ्नो अग्रसरतामा वर्तमान कार्यसमिति (शेखर गोल्छा अध्यक्ष) को कार्यकाल भित्र ५० उद्यमी तयार पार्ने कार्यक्रम घोषणा गरेको हो ।

महासंघको स्टार्टअप एण्ड इनोभेसन समितिका सभापति रञ्जितराज आचार्यले नविन सोचमा आधारित रहेर उद्यम गरिरहेका ५० वटा स्टार्टअप व्यवसायहरुलाई व्यवसायिक सफलताका लागि समिति अन्तर्गतको इन्भेष्टर फोरममार्फत ५० लगानीकर्तासँग साक्षात्कार गराई लगानी तथा व्यवसायिक साझेदारीका लागि कार्यक्रम तर्जुमा गरिएको जानकारी दिए । यसका लागि आगामी चैत्र महिनाको तेस्रो साताबाट आवेदन खुला गरिने उनको भनाई छ । 

यो कार्यक्रममा आवेदन दिन चाहने स्टार्टअप उद्योग व्यवसायहरु कम्तीमा १ वर्ष वा सो भन्दा बढी समय सञ्चालनमा आएको हुनुपर्ने छ । कृषि, उत्पादनमूलक, सूचना प्रविधि, सेवा लगायत सबै क्षेत्रका स्टार्टअपले आवेदन दिन सक्नेछन् ।

३ महिनाको मेन्टरशीप

अप्रिल पहलिो हप्ता आवेदन खुला गरिने र मे महिनाको दोस्रो हप्ता सूची प्रकाशन गरिने कार्यक्रम छ । मे २१ तारिखमा आवेदकहरुको अन्तरवार्ता लिई जुन २ मा छनौट भएकाहरुको नामावली सार्वजनिक गरिने छ । 

छनौटमा परेकाहरुलाई जुलाईदेखि सेप्टेम्बरसम्म ३ महिने मेन्टरिङ तालिम दिइने छ । यसका लागि २० जना मेन्टरहरुको समूह बनाईएको छ । जसमा अनिल चित्रकार, पशुपति मुरारका, ओम राजभण्डारी, सौरभ ज्योति, आशुतोष तिवारी, रञ्जित आचार्य, सुमन शाक्य, सिद्धान्तराज पाण्डे, शिक्षित भट्ट, विश्वास ढकाल, सुमना श्रेष्ठ, निरज खनाल, आनन्द बगरिया, गगन प्रधान, निरञ्जन श्रेष्ठ, दिलीप अग्रवाल, सनम चित्रकार, योगेन्द्र शाक्इ, भाष्कर ढुंगाना र सञ्जय गोल्छा रहेका छन् । 

उनीहरुले भोलेन्टियरका रुपमा ३ महिना परामर्श दिएर छनौट भएका स्टार्टअपहरुलाई उद्यम गर्न सक्षम बनाउने छन् । 

‘अभियानको सुरुवात मात्रै हो’

कार्यक्रम घोषणा कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले यो कार्यक्रम उद्यमशीलता विकासको थालनी मात्रै भएको बताएका छन् । महासंघको वर्तमान कार्यसमितिले तयार पारिरहेको भिजन पेपर अनुसार वर्षमा ४ लाख नेपालीलाई रोजगारी दिने महत्कांक्षी योजनाको एउटा खुड्कीलोका रुपमा यो कार्यक्रम सार्वजनिक भएको उनको भनाई छ ।

‘यो एउटा अभियान मात्रै हो, ५० जना उद्यमी बन्दैमा समृद्धि आउने होइन’ अध्यक्ष गोल्छा भन्छन्, ‘यो कार्यक्रमले बाटो देखाउने काम गर्छ, यो भनेको सन् २०३० सम्म १०० अर्ब डलरको अर्थतन्त्र बनाउने एउटा खुड्कीलो मात्रै हो ।’

महासंघमा पहिलो पटक स्टार्टअप एण्ड इनोभेसन समिति गठन भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved