चेम्बर चुनावः अध्यक्षमा राजेन्द्र मल्ल पक्का, घट्दै उम्मेद्वारको संख्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2021 | 02:09:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सको आगामी अध्यक्षमा सहमति जुटेको छ । वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका राजेन्द्र मल्ल पक्कापक्की भएका हुन् । यद्यपी आधिकारिक घोषणा हुन भने शुक्रबार बिहानसम्म पर्खनुपर्ने चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए ।

चैत २८ मा हुने निर्वाचनमा ५५ पदका लागि सुरुमा ६३ जनाले उम्मेदवारी दिएको भएपनि उम्मेदवारमाथिको दाबी विरोधपछि पुनः प्रकाशित गरिएको नामावलीमा ६१ जनाको मात्रै उम्मेद्वारी दर्ता भएको हो । उम्मेद्वारी फिर्ताका लागि बिहिबार ४ बजे सम्मको समय दिईएको छ । आज साँझ ६ बजे उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ  ।

‘अहिले छलफलमै छौँ, सबै कुराहरु क्रमश मिल्दै छन्’ अध्यक्ष राजेशकाजी श्रेष्ठले भने, ‘भरे ६ बजेसम्म सबै मिलाउने अभियान हो, नभएपनि भोलीसम्म सहमतिमा जति चाहिने हो त्यति मात्रै उम्मेद्वारको नाम तपाईले थाहा पाउनुहुन्छ ।’

सबै पदमा निर्विरोध निर्वाचित गराउने अभियानमा आफू लागिरहेको उनले बताए । कोरोना संक्रमणको दर बढ्दै आएको अवस्थामा भीड गरेर चुनाव गराउने पक्षमा कोही नरहेकाले सहमतिमा सबै कुरा मिल्ने उनको विश्वास छ ।

‘अब २ जनाको विषय मात्रै बाँकी छ, उहाँहरुलाई अर्को वर्ष समेट्ने वा चेम्बरका विभिन्न समितिमा भूमीका दिनेगरी छलफल अघि बढेको छ, साँझसम्म मिल्छ’ उनले भने, ‘अध्यक्षमा त कुनै विरोध बिना नै सहमति जुटिसक्यो, अध्यक्षमा जस्तै सबै पदमा निर्विरोध नै हुन्छन् ।’

वाणिज्यतर्फ १५ पदका लागि १८ र उद्योगतर्फ ९ पदका लागि ११ जनाको उम्मेदवारी परेको छ  । जिल्लातर्फ १५ पदका लागि १५, नगरतर्फको १ पदका लागि १, वस्तुगत संघतर्फ ९ पदका ९, द्विराष्ट्रिय संस्थागततर्फ ३ पदका लागि ३ र आबद्धतर्फ ४ पदको लागि ४ वटै उम्मेद्वारी परेको छ । 

वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले भने सुरुमा ५५ जना निर्वाचित भएपछि मात्रै अध्यक्ष लगायत पदाधिकारी चयन गर्ने प्रावधान रहेकाले अहिले सहमतिमा ५५ जना चयन गर्नेबारे छलफल जारी रहेको बताएका छन् । चेम्बरमा प्रदेश सभापति ७ जना हुने र एक जना महिलासहित ३ जना मनोनित हुने व्यवस्था छ ।

यो पनिः

चेम्बर चुनावः ५५ पदमा ६३ जनाको उम्मेद्वारी, सहमतिको सम्भावना कति ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved