रामेछापका व्यवसायीको गुनासो, ‘घरबेटीले बहाल कर हामीबाटै उठाउँदा संघ किन बोल्दैन ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2021 | 11:17:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको बेला जिल्ला नगरबाट प्रतिनिधित्व गर्ने व्यक्तिलाई वरिष्ठ उपाध्यक्षमा निर्वाचित गराउनुपर्छ भन्ने आवाज चर्कै सुनिएको थियो । गत मंसिरमा सम्पन्न निर्वाचनमा जिल्ला नगरको प्रतिनिधित्व गर्दै उद्योगी किशोर प्रधान चुनावी मैदानमा थिए । तर, एशोसियटबाट प्रतिनिधित्व गरेका चन्द्र ढकालले बाजी मारे ।

युवा र सफल व्यवसायीको नाताले ढकालले चुनाव जितेकोमा एशोसियट सदस्यहरु खुशी भए । तर, जिल्ला नगरका साना व्यवसायी भने आफ्ना गुनासाहरु केन्द्रमा नसुनिने विगतको यथार्थ यसपाली पनि कायम रहेकोमा दुःखी भए । यद्यपी जिल्ला नगरबाट प्रधानले ५३ र ढकालले ५२ मत पाएका थिए ।

रामेछापः जिल्ला नगरका गुनासाको प्रतिनिधि

महासंघको निर्वाचन दौडपछि अहिले साधारणसभा चल्दैछ । उम्मेद्वारहरु निर्वाचनको दौडमा रहेका बेला नेपालगञ्ज, जनकपूर र वीरगञ्ज जस्ता सुविधायुक्त शहरका उद्योगी व्यापारीहरुले केन्द्रको निर्वाचनमा होमिएका उम्मेद्वारहरुसँग आफ्ना गुनासा सुनाउँदै आएका थिए ।

ठूला शहरहरु उम्मेद्वारको केन्द्रमा परेपनि साना जिल्ला नगरमा उम्मेद्वारहरु पुगेनन् । यसको उदाहरण हो रामेछाप । रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव घिमिरे महासंघको निर्वाचनमा चन्द्र ढकाललाई मतदान गरेका व्यक्ति हुन् । उनी र उनको हालको कार्यसमितिप्रति रामेछापका उद्योगी व्यवसायीहरुको गुनासो कम छैन ।

‘घरबेटीले घर भाडामा लगाएवापत राज्यलाई तिर्नुपर्ने बहाल कर पनि व्यवसायीबाटै उठाउने गरेका छन्’ नाम नलेख्ने सर्तमा एक जना व्यवसायीले भने, ‘हामी वर्षको ६२५ रुपैयाँ उद्योग वाणिज्य संघलाई तिर्छौ तर, यो वापत हामीले के पायौँ ?’

यो पनि:
महासंघ निर्वाचनमा रामेछापबाट विधान विपरित प्रतिनिधि

‘कोरोनाका कारण एक जना व्यवसायीलाई घरबेटीले निकालिदिए, यस्तो बेलामा संघ बोल्दैन’ आक्रोशित हुँदै अर्का जना व्यवसायी भन्छन्, ‘सडक बढार्नु पर्यो भने लौ कुचो बोकेर आउनु भन्छ, हामीले घरबेटीबाट र अनुगमनका नाममा हुने प्रशासनिक ज्यादती भोगेको बेलामा संघ कुन दुलोमा पसेर बस्छ थाहा हुन्न ।’

मनलाग्दी सटर भाडा

बजारीकरण बढ्दै गएको मन्थली र पुरानो सदरमुकाम रामेछाप बजारमा घरबेटीले लिने सटर भाडाको दर फरक फरक छ । मन्थलीमा सँगै जोडिएको घरमै सटरको भाडा फरक फरक छ । संघको निर्वाचनमा सटर भाडामा एकरुपता कायम गर्ने, मुख्य सडक र सहायक सडक छेउका घरको वर्गीकरण गर्ने जस्ता नाराहरु थिए । तर, ती नारा अहिलेसम्म पूरा त के सुरु समेत नभएको व्यवसायीहरुको गुनासो छ ।

‘सटर भाडा फरक फरक छ, देवकोटा चोक र कटहर बोटका घरको सटर भाडा एउटै हुँदा कसरी न्याय हुन्छ ?’ सहायक सडक छेउको सटरमा जुत्ता चप्पलको पसल ञ्चिालन गर्दै आएका एक व्यापारी भन्छन्, ‘भाडामा एकरुपता गराउँछौँ भनेर चुनावमा भोट मागेकाहरु अहिले कहाँ छन् अत्तोपत्तो छैन । वर्षको ६२५ तिरेर भोट हाल्नकै लागि सदस्यता लिएर बस्नुको कुनै काम नै देखिएन । सदस्यता नलिउँ हेप्छन्, लिएर आफ्ना गुनासा राख्यो छुच्चो मात्रै भइन्छ ।’

के भन्छ उद्योग वाणिज्य संघ ?

उद्योग वाणिज्य संघ रामेछापका अध्यक्ष केशव घिमिरे व्यवसायीकै कारण सटर भाडामा एकरुपता कायम गर्न नसकिएको बताउँछन् । यद्यपी, केही घरबेटीले कोभिडका कारण व्यवसायीलाई भाडा छुट दिएको उनको भनाई छ ।

‘सटर भाडा तिर्ने व्यवसायीलाई उद्योग वाणिज्य संघमा आएर संघको रोहबरमा भाडाको सम्झौता गर्नुहोस् भन्दा व्यवसायीहरु नै नमानेको अवस्था छ’ अध्यक्ष घिमिरे भन्छन्, ‘पैसा चाहिँ बढी नै तिर्ने तर, करको दायरामा आउनुपर्ने भएकाले सम्झौता चाहिँ थोरै रकमको गर्ने भएकाले झन बिकृति हुने जोखिम देखियो ।’

उद्योग वाणिज्य संघ रामेछापमा हाल १ हजार ३ सयमाथि सदस्यहरु छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved