नीजि क्षेत्रको एकै स्वर, ‘लकडाउन गर्ने कुरा सोच्न पनि हुँदैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2021 | 01:59:09 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोनाको दोस्रो लहर सुरु भएपछि सरकार कसरी व्यवस्थापन गर्ने भन्ने ध्याउन्नमा छ । गत वर्ष यतीबेला लकडाउन थियो । तर, विगतको भोगाईबाट पाठ नसिक्दा मूलुक पुनः लकडाउन जाने खतरामा छ ।

पुनः कोरोनाको संक्रमण बढेको खण्डमा के गर्ने भन्ने ‘प्रि प्लान’ नहुँदा अहिले स्वास्थ्य मन्त्रालय र उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सकस परिरहेको छ ।

उता नीजि क्षेत्र भने फेरि लकडाउन हुने हो की भन्ने शंका गरेर बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब विगतकै जस्तो लकडाउन नहुने आश्वासन दिएपनि नीजि क्षेत्र ढुक्क भने छैन । विगतको जस्तो नभएको कस्तो खालको लकडाउन हुने भन्ने तय भईनसकेका कारण नीजि क्षेत्रले सरकारले लकडाउन गरिहाल्छ कि भन्ने शंका बोकेको छ ।

यद्यपी, लकडाउन समस्याको समाधान नभएको बताउँदै उद्योगी, व्यवसायीहरु लकडाउन शब्द सुन्न पनि चाहदैनन् । अब पनि लकडाउन गरिए मुलुकको अर्थतन्त्र तहसनहस हुने उद्योगी व्यवसायीको चेतावनी छ ।

शेखर गोल्छा (अध्यक्ष, एफएनसीसीआई)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा लकडाउन समस्याको समाधान नभएको प्रमाण गत वर्ष गरिएको लकडाउनबाटै थाहा भईसकेको बताउँछन् । गत वर्ष चैत ११ गतेबाट सुरु भएको लकडाउनका कारण ९० प्रतिशत उद्योगधन्दा बन्द हुँदा लाखौ मानिसहरु बेरोजगार भएको र अहिले विस्तार लयमा फर्किन सुरु भएको अवस्थामा फेरि लकडाउन गर्नु भनेको आर्थिक गतिविधि ठप्प पार्नु भएको उनको भनाई छ ।

‘पोहोर लकडाउन हुँदा अर्थतन्त्रमा कस्तो प्रभाव पर्यो भन्ने सबैलाई थाहा नै छ, अहिले पनि होटल, पर्यटन जस्ता क्षेत्र राम्रोसँग चलायमान हुन सकेका छैनन्’ अध्यक्ष गोल्छाले भने, ‘यस्तो अवस्थामा फेरि लकडाउनमा जाँदा हाम्रो इकोनोमी सिँधै माइनसमा जान्छ ।’

उनले विश्व स्वास्थ्य संगठनले तय गरेका स्वास्थ्य मापदण्ड, स्वास्थ्य मन्त्रालयले बनाएको प्रोटोकलको पूर्ण पालना गर्दै र कोरोनाविरुद्धको भ्याक्सिनको पर्याप्तताको सुनिश्चितता गरेर सबै खालका व्यवसाय सञ्चालन भईरहनु पर्ने बताए । 

सतिश मोर (अध्यक्ष, सीएनआई)

नेपाल उद्योग परिसंघ (सीएनआई) अध्यक्ष सतिश मोर भिडभाड कम हुने गरी सरकारले तोकेका स्वास्थ्य प्रोटोकल कडाईका साथ पालना गर्नुपर्ने बताउँछन् ।

‘लकडाउन सोलुशन होइन, इकोनोमी एक्टिभिटी रोक्न अब सम्भव छैन’ अध्यक्ष मोर भन्छन्, ‘मास्क, स्यानिटाइजरको प्रयोग, सामाजिक दूरी कायम जस्ता प्रोटोकल पालना गरेर सबै किसिमका पेशा व्यवसाय चल्नुपर्छ ।’

उनले तोकिएका प्रोटोकल पालना भए नभएको अनुगमन भने गर्नुपर्ने बताए ।

योसँगै नीजि क्षेत्रले पनि कोभिड विरुद्दको भ्याक्सिन सहजै ल्याउन पाएको खण्डमा नेपाली नागरिकको पहुँचमा सहजै पुग्ने भएकाले यसतर्फ पनि सरकारले सोच्नुपर्ने मोरको भनाई छ ।

राजेशकाजी श्रेष्ठ (निवर्तमान अध्यक्ष, चेम्बर अफ कमर्श)

नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ लकडाउन अब सोच्नै नहुने बताउँछन् । मानिसहरुलाई जनचेतना फैलाउने, तोकिएका स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्ने र सीमा क्षेत्रमा विशेष कडाई गर्नुपर्ने उनको भनाई छ ।

‘अहिलेको परिस्थितीमा लकडाउनको कल्पना नै गर्नु हुँदैन’ श्रेष्ठ भन्छन्, ‘अब पनि लकडाउन गरिए सबैको हालत जिरो (शून्य) मा झर्छ ।’

उनी थप्छन्, ‘हाम्रोमा प्रोटोकल कडाईका साथ पालना भएको छैन, पालना गराउनुपर्यो । मैले नै प्रोटोकल मानेको छैन भने मलाई पनि कारबाही गर्नुपर्यो ।’

कृष्ण प्रसाद दुलाल (अध्यक्ष, नाडा)

अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलाल कुनैपनि हालतमा लकडाउन गर्न नहुने बताउँछन् । लकडाउनको विकल्प नखोजिए आर्थिक व्यवस्था डामाडोल हुने उनको भनाई छ ।

‘स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गराउने र गर्ने नै यसको विकल्प हो’ उनी भन्छन्, ‘पहिला लकडाउन हुँदा व्यवसायी उद्योगीको मात्रै नभई आम नागरिकमा समेत मानसिक समस्या पर्न गयो, यो कोभिड भनेको यति दिन रहन्छ भन्ने कुनै समय हुँदैन, रहुन्जेल लकडाउन गर्ने भन्ने कुरा पनि जायज हुँदैन । त्यसैले लकडाउन भन्ने कुरा अहिले सोच्नै हुँदैन ।’ 

रवि सिंह (अध्यक्ष, एफक्यान) 

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अब फेरि लकडाउन गरिए निर्माण क्षेत्रबाट मात्रै १५ लाख मानिस बेरोजगार बन्ने बताएका छन् । अहिले करिब ८ खर्ब बराबरका ६ हजार आयोजना सञ्चालमा रहँदा १५ लाख बढी व्यक्ति रोजगारीमा रहेको र पुनः लकडाउन भए यी सबै व्यक्ति बेरोजगार बन्ने उनको चेतावनी छ ।

अध्यक्ष सिंह भन्छन्, ‘लकडाउन भइहाले पोहोरको जस्तै काम हुँदैन, काम नभएप्छि मजदूरले के खाने ?’ 

तोकिएका स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गरेर काम गर्ने वातावरण बन्नुपर्ने उनको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved