निजी क्षेत्रका ३ वटै संगठनको एकै स्वरः एमसीसी नेपालको हितमा छ, तत्काल पास गर्नुपर्छ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2021 | 02:46:06 PM मा प्रकाशित

laxmi  sunrise bank

एमसिसी कार्यान्वयन सम्बन्धमा व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आफ्नो साझा धारणा सार्वजनिक गरेका छन्।

निजि क्षेत्रका व्यवसायीहरुको तिनवटै छाता संगठनले एमसीसी नेपालको हितमा रहेकाले सरकारले तत्काल संसदबाट पास गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन्। तीनवटै संगठनले एकै लेटरप्याडमा बिज्ञप्ती सार्वजनिक गरेका हुन्।  

"कोभिड १९ को महामारीपछि अर्थतन्त्रको सुधारका लागि पर्याप्त लगानी आवश्यक भएको र दीर्घकालमा विद्युत निर्यात एवं प्रविधि हस्तान्तरणको अवसर एमसिसीबाट प्राप्त हुने सम्भावना भएकाले राष्ट्रिय हित हेरी संसदबाट तत्काल पारित गरी कार्यान्वयन गर्न नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल एवं सरोकारवालाहरू समक्ष आग्रह गर्दछौँ।" साझा बिज्ञप्तीमा भनिएको छ।

उनीहरुकाअनुसार एमसीसी मार्फत नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्नेछ।

कोभिड १९ ले सिर्जित परिस्थितिका कारण आन्तरिक स्रोत खुम्चिएको र वैदेशिक सहायता पनि अपेक्षाकृत बढन नसकेकाले आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक लगानी ४९ प्रतिशतले घटेको उनीहरुको बुझाई रहेको छ। यस्तो परिस्थितिमा ५० करोड अमेरिकी डलरको सहायता नेपालका लागि महत्वपूर्ण हुने बिज्ञप्तीमा उल्लेख छ।

बिज्ञप्तीमा भनिएको छ, "प्रसारण लाइनको अभावमा उत्पादित विद्युत खेर जाने अवस्था सिर्जना हुँदैछ । अर्कोतर्फ कमजोर सडक पूर्वाधारले नेपालको औद्योगिक र व्यावसायकि लागत वृद्धि गरिरहेको छ भने नेपालको उत्पादनको प्रतिस्पर्धी क्षमता समेत कमजोर भएको छ । 

एमसिसी अन्तर्गतका आयोजना सुरु भएको ५ वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्थाले विकास सुशासनका लागि समेत नमुना बन्न सक्नेछ । युरोप, एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका ३० भन्दा धेरै मुलुकमा एमसिसि अन्तर्गत परियोजना निर्माण भइसकेकाले नेपालमा पनि सहज कार्यान्वयन हुनेमा निजी क्षेत्र विश्वस्त छ । पूर्वाधार विकास, आर्थिक वृद्धि र रोजगारी सिर्जनाका कुनै पनि क्रियाकलाप प्रभावित हुनु हुँदैन भन्नेमा हामी स्पष्ट छौँ।"

एमसिसी अन्तर्गतका आयोजना कार्यान्वयन हुँदा मुलुकलाई आर्थिक लाभ मात्रै हुने भन्दै यी संगठनहरुले एमसीसी कार्यान्वयनका लागि नेपाल सरकार, संसदमा रहेका सम्पूर्ण राजनीतिक दलहरु, नागरिक समाज र सरोकारवाला पक्षलाई आग्रह समेत गरेका छन्। 

संयुक्त बिज्ञप्तीमा महासंघको तर्फबाट महासंघका अध्यक्ष शेखर गोल्छा, परिसघको तर्फबाट परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवाल, र चेम्बरको तर्फबाट चेम्बर्सका अध्यक्ष राजेन्द्र मल्लले हस्ताक्षर गरेका छन्।    

एमसीसी  नेपाल र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच सन् २०१७ सेप्टेम्बर १४ मा भएको सम्झौता हो।  संघीय संसदबाट सम्झौता अनुमोदन गर्नुपर्ने पूर्वशर्त पूरा नभएका कारण द्विपक्षीय सम्झौता भएको ४ वर्षसम्म कार्यान्वयन हुन नसकेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved