महासंघमा चुनाव लाग्योः वरिष्ठ उपाध्यक्षमा ४ जना आकांक्षी, कसलाई कसको समर्थन ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 22, 2022 | 03:50:03 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन ‘नेपाल उद्योग वाणिज्य महासंघ’का लागि यसपाली चुनावी वर्ष । आगामी चैतमा महासंघले नयाँ नेतृत्व पाउँदैछ । अध्यक्ष शेखर गोल्छाले हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्नेछन् ।

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । त्यसकारण वरिष्ठ उपाध्यक्ष र अन्य पदाधिकारीसहित केन्द्रीय सदस्य पदमा निर्वाचन हुनेछ । 

महासंघको निर्वाचन आउन ९ महिना पूरै बाँकी छ । तर, महासंघमा नयाँ नेतृत्व आउने वर्षभन्दा अघिल्लो वर्षबाटै आकांक्षीहरुको देश दौडाहा सुरु हुन्छ । गत वर्षबाटै आकांक्षीहरुले आफ्नो गृहकार्यलाई तीव्रता दिईरहेका छन् । हाल आएर उनीहरुको तयारीको गती बढेको छ ।

को को छन् वरिष्ठ उपाध्यक्षका आकांक्षी ?

हाल वरिष्ठ उपाध्यक्ष रहेका चन्द्र ढकाल चैतबाट महासंघको अध्यक्ष बन्दैछन् । अब उनीपछि महासंघको नेतृत्व लिने गरी (यदि विधान संशोधन भएर अध्यक्षमै चुनाव हुने भएन भने) वरिष्ठ उपाध्यक्षमा ४ जना आकांक्षी छन् ।

यसअघि २ पटक लगातारवरिष्ठ उपाध्यक्षमा पराजित भएका किशोर प्रधान भने महासंघको राजनीतिबाट बाहिरिएका छन् । 

पूर्व वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र हाल उपाध्यक्ष रहेका ३ जना गरी ४ जना आकांक्षी छन् । जिल्ला–नगर उपाध्यक्ष दिनेशलाल श्रेष्ठ, वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ र एसोसिएट उपाध्यक्ष रामचन्द्र सांघाई वरिष्ठ उपाध्यक्ष बनेर अर्कोपटक स्वतः महासंघको अध्यक्ष बन्ने लाइनमा छन् । 

कसलाई कसको समर्थन ?

महासंघमा शक्तिशाली पूर्व अध्यक्षहरु निर्णायक मानिन्छन् । यद्यपी, हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल कम मात्रै पूर्वअध्यक्षको समर्थनमा विजयी भएका थिए । उनका प्रत्याशी किशोर प्रधानलाई बहुमत पूर्व अध्यक्षहरुको समर्थन थियो । 

यसपाली पनि पूर्व अध्यक्षहरुले आफू अनुकुलको टिम बनाउने छन् । पूर्व अध्यक्षहरु चण्डीराज ढकाल, पशुपति मुरारका र भवानी राणासहित हालका अध्यक्ष शेखर गोल्छाले समेत अनुकुलको समूह बनाएर प्रतिस्पर्धा गराउने चर्चा महासंघ भित्रै सुरु भएको छ ।

यसो हुँदा वरिष्ठ उपाध्यक्षमा पूर्व अध्यक्ष चण्डीराज ढकालको समर्थन उमेशलाल श्रेष्ठलाई हुनेछ । 

‘महासंघभित्र अलि जंगी खालको, तत्काल निर्णय गर्न सक्ने, सरकारसँग उद्योगी व्यवसायीका कुरा प्रष्ट राख्न सक्ने मान्छे चाहिएको छ’ चण्डीराज ढकाल निकट स्रोत भन्छ, ‘अहिले यस्तो पात्र उमेशलाल श्रेष्ठ नै हुन् ।’

वरिष्ठ उपाध्यक्षका अर्का आकांक्षी अञ्जन श्रेष्ठलाई पूर्व अध्यक्ष पशुपति मुरारकाको समर्थन हुनेछ । 

‘अञ्जन श्रेष्ठ युवा छन्, अहिले महासंघलाई युवा र भविष्यमा यस्तो बनाउँछु भन्ने भिजन दिनसक्ने मान्छे चाहिएको छ’ उनी निकट स्रो भन्छ, ‘अञ्जन दाइलाई अगाडी सार्दा पूर्व अध्यक्षहरुले पनि साथ दिने देख्छु ।’

हालका जिल्ला नगर उपाध्यक्षसमेत रहेका वरिष्ठ उपाध्यक्षका आकांक्षी दिनेशलाल श्रेष्ठलाई यसअघि वरिष्ठ उपाध्यक्षका प्रत्याशी किशोर प्रधानले सहयोग गर्नेछन् । दिनेशलाल श्रेष्ठको जिल्ला नगर क्षेत्रमा पकड पनि अन्य आकांक्षीको तुलनामा निकै बलियो छ । जिल्ला–नगरको मतभार पनि ५० प्रतिशत छ ।

महासंघको वरिष्ठ उपाध्यक्ष बन्न एसोसिएट, वस्तुगत र जिल्ला नगर गरी ५१ प्रतिशत मतभार पुर्याउनै पर्छ । त्यसकारण जिल्ला नगरबाट बलियो समर्थन पाएकाले श्रेष्ठ पछि हट्ने पक्षमा देखिएका छैनन् । 

निवर्तमान अध्यक्ष भवानी राणाले पनि आफ्नो छुट्टै टिम बनाउने तयारी गरिरहेकी छिन् । उनको टिमबाट वरिष्ठ उपाध्यक्षको उम्मेदवार को बन्दैछ भन्ने टुंगो लागिसकेको छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved